१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन वर्षमा प्रदेश ५ काे ४५ हजारलाई रोजगारी दिलाउने योजना

रोजगार सम्मेलनमा सहभागी प्रदेशका मुख्यमन्त्री, मन्त्री र अन्य अतिथिहरु

रुपन्देही– आगामी तीन वर्षभित्र ४५ हजारलाई रोजगारी प्रदान गर्ने उदेश्यले प्रदेश सरकारले सार्वजनिक नीजि साझेदारी कार्यक्रम शुरु गरेको छ। सामाजिक विकास मन्त्रालयले यूके एडको रोजगारीको लागि सिप कार्यक्रमसँग सहकार्य गरेर प्रदेशमा रोजगारी सृजना गर्ने गरि अभियानको थालनी गरेको हो।

प्रदेश सरकार, नीजि क्षेत्रका रोजगारदाता, तालिम कन्द्र तथा शैक्षिक संस्थाहरु एंव युवासँगको सहकार्यमा रोजगारी सृजना गर्ने उदेश्यले बुधबार बुटवलमा प्रदेशस्तरीय रोजगार सम्मेलन समेत गरिएको छ।

कृषि, पर्यटन, निर्माण, सूचना प्रविधि तथा हल्का उत्पादन उद्योगमा रोजगारी सृजना गर्ने गरि जनशक्ति उत्पादनमा जोड दिएर छलफल गरिएको छ। रोजगारीको लागि सिप कार्यक्रमले देशभर सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर कार्यक्रम अघि बढाएको छ। उक्त कार्यक्रमले प्रदेश २ र ५ लाई मुख्य प्राथमिकतामा राखेर सन् २०२२ सम्ममा ९० हजार जनशक्तिलाई रोजगार दिलाउने गरि साझेदारी अभियान थालेको जनाएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश नम्बर ५ का सम्भावित क्षेत्रमा रोजगारी सृजना गर्ने गरि सहकार्य बढाएको जनाएको छ। बुधबार भएको सम्मेलनमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कृषिबाट नै प्रदेशको समृद्धि हासिल गर्ने बताए। उनले परम्परागत कृषिका नाममा नेपालको ठूलो जनशक्ति अलमलिएकाले अब त्यसलाई आधुनिकिकरण गरेर अन्यत्र प्रतिस्थापन गर्नुपर्ने बताए।

प्रदेश ५ मा कृषिमार्फत खाद्यान्नमा आत्मनिर्भर भएर कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशलाई निर्यात गर्न सक्ने हैसियत राख्ने भएकाले रोजगारीका लागि समेत ठूलो अवसर रहेको उनले बताए। प्रदेशमा दुई वटा ठूलो भन्सार नाका, अन्तराष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले व्यापारको हिसाबले पनि ठूलो बजार क्षेत्र समेट्ने उनले बताए। ‘अन्तराष्ट्रिय विमानस्थल, जलयातायात, रेल यातायात जस्ता पूर्वाधारले हामी जोडिदैछौं त्यसकारण प्रदेश ५ मा धेरै अवसर छ’ उनले भने।

मुख्यमन्त्री पोखरेलले कृषि, उद्योग र पर्यटनबाट ठूलो रोजगारीको अवसर सृजना गर्ने र त्यसैबाट प्रदेशको विकासलाई अघि बढाउन सकिने बताए। उनले प्रदेश ५ मा सिमेन्ट उद्योग, इट्टाभट्टी जस्ता उद्योगमा नेपाली कामदारको अभाव भएकाले त्यस्तो क्षेत्रका जनशक्ति उत्पादनमा पनि ध्यान दिन आग्रह गरे। नीजि क्षेत्रले समेत रोजगारीका क्षेत्र पहिचान गर्दा जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा मुख्यमन्त्रीको जोड छ। ‘एकातिर नेपालमा रोजगारी छैन, भनेर युवा विदेश गएका छन्, अर्कोतर्फ उद्योगमा कामदार अभाव छ, यसलाई जोड्न सबै लाग्नुपर्छ’ मुख्यमन्त्रीले भने। 

कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश ५ का नागरिकलाई बेरोजगार हुन नदिनका लागि सरकारले विभिन्न क्षेत्रबाट काम गरेको बताउँदै दातृ निकाय र नीजि क्षेत्रसँगको सहकार्य पनि त्यसको निरन्तरता रहेको बताए । उनले देखिने गरेरै काम गर्न आग्रहसमेत गरे।

एक दिने प्रदेशस्तरीय रोजगार सम्मेलनमा प्रदेश ५ को सम्भावित रोजगारीका क्षेत्र र त्यसमा नीजि क्षेत्रको सहकार्यका बारेमा पनि छलफल गरिएको थियो । सम्मेलनमा फ्यूज मेशिन, जेनिश, श्रीनगर एग्रो फर्म, रोजगारी पसल र मोरङ अटो वक्र्ससपले कसरी रोजगारी सृजना गरेका छन भनेर प्रस्तुती राखेका थिए। नेपाल श्रम सर्वेक्षण २०१७÷१८ का अनुसार प्रदेश ५ मा काम गर्ने उमेरका ३४ लाख ३७ हजार मध्ये १ लाख ४४ हजार बेरोजगार छन्। प्रदेश ५  सरकारले आवधिक योजनामा कृषि, उद्यम  मार्फत रोजगारीको वातावरण सृजना गर्ने उल्लेख गरेको छ।

प्रकाशित: ८ आश्विन २०७६ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App