१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

काठमाडौंमा उपसभामुखहरुको भेला, डेढ वर्षे अनुभव आदानप्रदान

काठमाडौं– संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन्।

संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको मंगलबार काठमाडौं बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो। उनीहरुले सभामुखसँगको आफूहरुको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता पनि जनाएका छन्। डेढवर्षको अनुभवले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्षमा पुगिएको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। बुधबार काठमाडौंमा संचारकर्मीमाझ उनले आफूहरुको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजाने निष्कर्ष निकालिएको पनि स्पष्ट पारे।

सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशीले सभामुखको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाउने विषयमा उपसभामुखहरुबीच छलफल गरिएको बताइन्। उनले यो छलफलले आफूहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरिन्।

उपसभामुखहरुको बैठकमा संसदीय भाषाको प्रयोगका विषयमा पनि छलफल गरिएको थियो। उपसभामुखहरुले बोल्ने भाषा कसरी सन्तुलित बनाउन सकिन्छ? भन्ने विषयमा पनि छलफल गरिएको कर्णाली प्रदेश प्रदेश सभाकी उपसभामुख पुष्पा विष्टले जानकारी दिइन्।

गत वर्षको भदौ ३ गतेदेखि नै संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ दुवै संसदका उपसभामुखहरुबीच संयुक्त छलफल हुँदै आएको छ। संवैधानिक व्यवस्था अनुसारका आ–आफ्ना जिम्मेवारीलाई पूरा गर्न दुवै संसदमा उपसभामुखहरुबीच छलफल हुने गरेको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले जानकारी दिइन्।

बैठकमा प्रतिनिधिसभाकी उपसभामुख तुम्बाहाङफे, राष्ट्रिय सभाकी उपाध्यक्ष दाहाल, प्रदेश २ प्रदेशसभाकी उपसभामुख उपमा कुमारी देव, गण्डकी प्रदेश प्रदेशसभाकी उपसभामुख सृजना शर्मा, कर्णाली प्रदेशकी प्रदेशसभा उपसभामुख विष्ट र सूदुरपश्चिम प्रदेश प्रदेशसभाकी उपसभामुख जोशीको सहभागिता रहेको थियो।

प्रकाशित: ८ आश्विन २०७६ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App