१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दृष्टिविहीन कालीको संसार देख्ने सपना मात्र

धादिङ - अन्धकारमय जीवन बिताइरहेकी छिन्, धादिङको गंगाजमुना गाउँपालिका–५ फूलखर्ककी ४२ वर्षीया काली बानियाँले। उनले अहिलेसम्म संसार देखेकी छैनन्। उनलाई बाहिरी संसार कस्तो छ, के भइरहेको छ, थाहा नै छैन। तर उनले संसार देख्ने सपना देखिरहेकी छिन्।
४२ वर्षअघि दोस्रो सन्तानको रूपमा जन्म लिएकी कालीलाई देखेर परिवारमा रौनकता छायो। छोरापछिको उनको जन्मले परिवारमा खुसीको माहोल थियो तर त्यो खुसी वर्षदिन पनि टिक्न पाएन। जन्मेकै वर्ष दिनमै टाइफाइटले कालीलाई गलायो। गाउँमा बिरामी भएपछि अस्पताल लैजानुपर्छ भन्ने चेतना थिएन।

बिरामी भए गाउँले धामीझाँक्रीकोमा जान्थे। उनलाई पनि झाँक्रीकोमा पु¥याइयो तर निको हुन सकेन। टाइफाइटकै कारण उनले दुवै आँखाको दृष्टि गुमाइन्। सानैदेखि आँखा देख्न नसक्ने कालीलाई जब उनलाई आँखा देख्न सक्दिनँ भन्ने लाग्यो, त्यतिबेला धेरै मन रोयो। आँखा नदेखेकै कारण उनले पढ्न पाइनन्, बाहिरी संसारसँग घुलमिल हुन पाइनन्, एक्लो भइन्। आर्थिक अवस्था कमजोर भएकै कारण उपचार उनका लागि टाढाको विषय बन्यो। ‘आँखाबिनाको जीवन त केवल ढुंगा जस्तै नै हो, फरक केवल मान्छे बोल्छ, ढुंगा बोल्दैन,’ उनी भन्छिन्, ‘दुवै आँखा देख्दिनँ तर पनि मेरो संसार पनि सुन्दर छ।’ बाटामा हिँड्दा थुप्रैपटक धारिलो ढुंगा र सिसाले गोडा काटेको छ। लडेर हातखुट्टामा चोटपटक लागेको छ।

बुबाले साथ छाडे, आमाको मृत्यु भयो, कान्छाबुबाको सहारामा छिन्।

आँखा नदेख्ने भएकै कारण साथीहरूसरह सँगै हाँस्दै, रमाउँदै जिन्दगी जिउने उनको रहर अपूरो भयो। पढ्ने मन थियो, तर उनलाई पढाउने विद्यालय थिएन। बाहिरी संसारसँग रमाउन मन थियो तर देख्न सकिनन्। साथीभाइ, छरछिमेकीको हाँसोको पात्र बन्थिन् तर उनलाई उनकी आमाले जिउने संघर्ष सिकाइरहन्थिन्। आमा तिलकुमारी बानियाँको माया, ममता र हौसलाको पाठले उनले जीवनलाई कहिल्यै दुखित बनाइनन्। आफै संघर्ष गर्न सिकिन् र जीवनमा कहिल्यै हरेश खाइनन्।

आर्थिक अभाव, छोरीको यस्तो अवस्थापछि बुबाले उनको साथ छोडे। अर्की पत्नी बिहे गरेदेखि घर फर्किएका छैनन्। २२ वर्षअघि हराएका दाइको पनि अत्तोपत्तो छैन। न बुबा घर फर्किन्छन् न दाइ नै। स्याउलाले छाएको ढुंगामाटाको घरमा आमासँगै बस्दै आइरहेको उनको घर २०७२ सालको भूकम्पले भत्कायो। भूकम्पको प्रभाव बाहिरी आँखाले नदेखे पनि उनले भित्री आँखाले महसुस गरिन्।

आमा तिलकुमारी बानियाँको माया, ममता र हौसलाको पाठले उनले जीवनलाई कहिल्यै दुखित बनाइनन्। आफै संघर्ष गर्न सिकिन् र जीवनमा कहिल्यै हरेश खाइनन्।

उनमा भूकम्पको ब्रजपात एकातिर थियो भने अर्कातिर उनको सहारा टुट्यो। भूकम्प गएकै वर्ष २०७२ भदौमा उनलाई सहारा दिने आमाको मृत्यु भयो। जन्मजात आँखा नदेख्ने, परिवार छरछिमेकीको नराम्रो दृष्टिकोणसँग लड्दै आइरहेकी उनकी सहारा दिने आमाको मृत्युपछि एक्ली भइन्। एक्ली भएपछि उनलाई कान्छा काका खोपबहादुर बानियाँले सहारा दिइरहेका छन्।
आँखाले जतिसुकै पीडा र दुःख दिलाए पनि सिंगो संसार हेर्नचाहीँ अन्तमा दुई आँखा नै चाहिन्छ। उनी हातका औंलाको स्पर्शले आफ्नो ‘अपांगता’लाई पराजित गर्छिन्। उनी स्पर्श र आवाजबाटै संसार बुझ्छिन्। अब आँखा नै नदेख्ने भएपछि जिन्दगी जसोतसो चलाउनु बाध्यता बनेको उनी बताउँछिन्। ‘मेरो संसार साह्रै साँघुरो छ, स्पर्श र आवाजको संसार मात्रै मेरो हो,’ उनले भनिन्, ‘जन्मँदादेखि नै मेरा लागि संसार अँध्यारो थियो, ‘आमा’ शब्द पनि मैले अँध्यारोमै सिकें तर सहारा पाए पनि देख्न पाइनँ।’

काली हाम्रो समाजकी एक प्रतिनिधि पात्रमात्र हुन्। उनीजस्ता धेरै व्यक्ति आँखाले होइन, मनमस्तिष्कले संसार अवलोकन गरिरहेका छन्। काली आँखा देख्न सक्दिनन् त के भयो, सानैदेखि आफ्ना सम्पूर्ण काम आफैं गर्दै आइरहेकी छिन्। खाना पकाउने, लुगा धुनेदेखि घाँस काट्नेसम्मका सम्पूर्ण काम उनी आफै गर्न सक्छिन्। उनलाई लाग्छ इच्छाशक्ति नै साहस हो। ‘पहिलेपहिले काम गर्दा, हिँड्दा लडेर चोट लाग्ने गथ्र्यो,’ उनले भनिन्, ‘अहिले आफूले गर्न नसक्ने काम केही छ जस्तो लाग्दैन, सबै काम गर्न सक्छु।’

आँखा नदेखैकै कारण जीवनमा कैयौं ठक्कर खाए पनि उनले जीवनमा हरेश खाइनन्। आफ्नै लागि पनि हाँसीखुसी बाँचिरहेकी छन्। उनीसँग निलो अपांगता परिचय पत्र छ। गाउँपालिकाबाट महिनामा ६ सय रुपैयाँ आउँछ। त्यसले नै पसलबाट सामान किनेर ल्याउँछिन्। दैनिक काम गर्न सहज होस् भनेर उनलाई रिम्स नेपालद्वारा सञ्चालित बिहानी परियोजनाले सेतो छडी दिएको छ। छडीको मद्दतले यताउता गर्छिन्। गाउँपालिकामा ८ सय ७५ जना जोखिमयुक्त समूहको तथ्यांक संकलन गरिएको बिहानी परियोजनाका कार्यक्रम संयोजक दिनेशबहादुर बस्नेतले बताए।

प्रकाशित: ८ आश्विन २०७६ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App