१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पश्चिम पपुवामा हिंसा, कम्तीमा २७ को मृत्यु

प्रदर्शनकारीले आगो लगाइदिएपछि बलिरहेको पश्चिम पपुवाको वामेनास्थित एक घर। तस्बिर : एजेन्सी

जर्काता (बिबिसी) – इन्डोनेसियाको तनावग्रस्त पश्चिम पपुवामा हिंसाको नयाँ तरंग सुरु भएको छ। अधिकांश हाइ स्कूलका विद्यार्थीसहित सयौं प्रदर्शनकारीले सोमबार पश्चिम पपुवास्थित कैयौं घरमा आगो लगाएपछि नयाँ हिंसा सुरु भएको हो।

सोमबारको हिंसाका कारण पश्चिम पपुवाको क्षेत्रीय राजधानी वामेनामा मात्रै कम्तीमा २३ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। मारिनेमध्ये केही प्रदर्शनकारीले आगो लगाएको भवनभित्रै जलेर मृत्यु भएको बताइएको छ। बाँकी चारजनाको भने प्रान्तीय राजधानी जयपुरामा भएको अर्को घटनामा मारिएका थिए। यी दुई घटनामा परी २७ जनाको मृत्यु भएको हो।

विद्यार्थीको भीडले एकजना सैनिक र केही प्रहरी अधिकारीलाई ढुंगामुढा गरेपछि जयपुराको घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।

एउटा शिक्षकले रंगभेदी प्रतिक्रिया जनाएपछि पपुवामा प्रदर्शन सुरु भएको थियो। यद्यपि प्रहरीले सो विषय अफवाह भएको जनाएको छ। 

अगस्ट महिनामा कैयौं साता अशान्त रहेको पपुवामा सोमबार पछिल्लो हिंसा भएको हो। सोमबारको हिंसामा परी कैयौं व्यक्ति हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

पश्चिम पपुवामा रंगभेदी विचार बाहिरिएको प्रतिक्रियास्वरुप गत महिना विशाल प्रदर्शन भएको थियो। कैयौं सातासम्म भएको प्रदर्शनका कारण सो क्षेत्र तनाबग्रस्त रहेको थियो। तर केही समयदेखि अलि शान्त रहेको पश्चिम पपुवामा भएको सोमबारको प्रदर्शनले थप समस्या उत्पन्न गराएको अधिकारीहरुले बताएका छन्।

स्वतन्त्रता दिवस मनाइरहेको बेला सुराबयास्थित पपुवन विश्वविद्यालयका विद्यार्थीले इन्डोनेसियाको राष्ट्रिय झन्डालाई ध्वस्त गरेको आरोप राष्ट्रवादी शक्तिले लगाएपछि गत महिना प्रदर्शन सुरु भएको थियो।

प्रकाशित: ८ आश्विन २०७६ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App