१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'नेता बिरामी-डाक्टर विदेशी, जनता बिरामी-डाक्टर गोविन्द केसी'

केसी अलायन्स पक्षधर प्रदर्शनमा। तस्बिरः सोलिडारिटी फर डा केसी अलायन्स

काठमाडाैं– चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्ने विषयमा सरकारले कुनै चासो नदिएको र वरिष्ठता विपरीत डिन नियुक्ती गरेको भन्दै डा. केसीका समर्थकले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बुधबार दिउँसो १२ बजेबाट उपकुलपति कार्यालयमा घेराउ भएको हो। घेराउका क्रममा विद्यार्थी तथा डा. केसी समर्थकले उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गरेका छन्।

उनीहरुले ‘नेता बिरामी–डाक्टर विदेशी, जनता बिरामी–डाक्टर गोविन्द केसी’ भन्ने नारा लगाएका थिए। डा. केसीको माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि अलायन्सले दिएकाे छ।

डिन नियुक्तीको समस्या बल्झिनुको पछाडि त्रिवि पदाधिकारी नै जिम्मेवार रहेको भन्दै अलायन्सले उपकुलपति खनियाँको राजीनामा माग गरेको हो।

डा. केसीले वरिष्ठता मिचेर डिन बनाइएका डा. केपी सिंहले राजीनामा दिनुपर्ने, त्रिविका उपकुलपति तिर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने, एमबिबिएसमा गत वर्षकै शुल्क सिमा लागू गर्नुपर्ने, आइओएमलाई पूर्ण स्वायत्तता संस्था बनाउनुपर्नेलगायत माग राखेका छन्।

यसैगरी, चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिन, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा विगतमा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताअनुकूल हुने गरी पारित गर्न पनि उनको विशेष जोड छ।

केसी अनसनकाे बुधबार ११ अाैं दिन हाे । उनकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ।

 

प्रकाशित: ८ मंसिर २०७३ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App