१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुरक्षा सुधार्न प्रहरीको नयाँ शैली

बर्दिया - दसैं र तिहार पर्वलाई लक्षित सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिलाउन रणनीतिक योजनाअनुरूप प्रहरी परिचालन गर्ने भएको छ। नेपाल–भारतबीच खुला सीमाका कारण जिल्लामा हुनसक्ने सम्भावित क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रणनीतिक योजनाअनुरूप काम गर्ने भएको हो।

सामाजिक सुरक्षाका लागि आपराधिक गतिविधि नियन्त्रण, चाडपर्वको बेला हुने जुवातास रोक्न र नेपाल–भारत सीमावर्ती जिल्लाबाट राजस्व छली रोक्न प्रहरीले यसअघि नै निगरानी बढाइसकेकोे मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसपी राजेशनाथ बास्तोलाले बताए। ‘चाडपर्वको बेला हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न, चोरी र छुटफुटका घटना नियन्त्रणमा प्रहरीले ध्यानकेन्द्रित गरेको छ,’ उनले भने, ‘कार्यगत लक्ष्य लिएर फिल्डमा खटिएको प्रहरीले सफलता हासिल गरेको छ र संवेदनशील ठाउँमा प्रहरीले अझै बढी निगरानी बढाउने भएकोे छ।’ चाडपर्व लक्षित सुरक्षा योजनाले चाडपर्वमा ढुक्कले खुसी साट्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउने उनले दाबी गरे।

रणनीतिक योजनाअनुरूप प्रहरीले मुख्य तीन तरिकाले सुरक्षा सुधार्न प्रयास गरेको छ। सुरक्षा सुधार्न एम्बुस, स्विपिङ, सिल एन्ड सर्चिङ अप्रेसनलाई प्रहरीले प्राथमिकता दिएको छ। जिल्ला नै सिल गर्नसक्ने गरी नयाँ ३३ ठाउँमा पिकेटबाट प्रहरी परिचालित गर्ने प्रहरीले व्यवस्था मिलाएको जानकारी गराएको छ।

दसैंतिहार विशेष सुरक्षा योजनाका लागि बर्दिया प्रहरीले एम्बुस, स्विपिङ र सिल एन्ड सर्चिङ अप्रेसनका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

जिल्ला सुरक्षाका लागि संवेदनशील मानिएका ठाउँमा एम्बुस स्विपिङ अप्रेसन गर्नुका साथै पट्रोल (नियमित गस्ती) र सादा पोसाकमा प्रहरी परिचालन गरेको छ। झुक्याएर गर्ने चेकिङ (एम्बुस), बडारे जस्तै गरी गर्ने (स्विपिङ) अप्रेसन गर्ने उल्लेख गर्दै नियमित गस्ती, सादा पोसाकमा खटिने प्रहरी र प्रहरीको कार्यालयले थप बलका लागि ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालित गर्ने प्रबन्ध मिलाएको एसपी बास्तोलाले जानकारी दिए।

यसअघिका चाडपर्वका बेला सुरक्षा प्रत्याभूति दिलाउन नसकेर आलोचना खेपेको प्रहरीले रणनीतिक योजना अख्तियार गरेपछि योजना अनुरूप कार्यप्रगतिमा सफल भएको देखिन्छ। प्रहरीले यसै साता चार थान हतियार र १ करोड ८९ लाख रुपैयाँको सामान राजस्व छली गरेका मालसामान बरामद गरेको प्रहरीको तथ्यांकमा देखिन्छ। बर्दिया प्रहरीले गोप्य सूचनाको आधारमा विभिन्न ठाउँमा छापा मार्दा जुवाडे, फरार अपराधी २४ र अवैध केराउ ४ सय ५९ क्विन्टल बरामद गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए।

उनका अनुसार सुरक्षाका दृष्टिकोणले संवेदनशील स्थानमा रणनीतिक योजनाअनुरूप खटिएको प्रहरी सफल भएको छ। जिल्लास्थित प्रहरी कन्ट्रोलसँगको समन्वयमा जिल्लाभरि नै उच्च मनोबलका साथ प्रहरी खटिएकोे उनको भनाइ छ। सुरक्षा सुधार्न प्रहरीले समुदायमा सचेतना दिने र घरदैलोमार्फत घरेलु हिंसा नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति पनि प्रहरीले अघि बढाएको छ। ८० किलोमिटर खुला सीमा रहेको जिल्लामा ८ सय ३४ जना प्रहरीले रणनीतिक योजनाअनुरूप फिल्डमा खटिएर सर्वसाधारणलाई सुरक्षा दिने उनले जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७६ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App