१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अनशनमा गएनन् ठाकुर र महतो

काठमाडौं- संघीय गठबन्धनका प्रमुख घटक तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले २४ दिनदेखि खुलामञ्चमा जारी रिले अनशनमा अझै सहभागिता जनाएका छैनन्।

नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत मधेसी मोर्चाघटक प्रमुख दुई दलका नेता अनशनमा सहभागी नहुनुलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ। जबकि अनशनस्थलमा गठबन्धनबाहिरका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नागरिक समाजका अगुवालगायत धेरै पुगिसकेका छन्।

गठबन्धन संयोजक उपेन्द्र यादवले भने ठाकुर र महतो अनशनस्थल, खुलामञ्च आउने विश्वास व्यक्त गरिरहेका छन्। 'बाटोमा आउँदाआउँदै ढिलो भएको हुन सक्छ, बिरामी परेका कारण नआउनुभएको पनि हुनसक्छ तर उहाँहरू आउनुहुन्छ,' रिपोर्टस क्लबमा यादवले बिहीबार भने, 'अरु सबै आउनुभएको छ, उहाँहरू पनि आउनुहुन्छ भन्नेमा विश्वस्त छु।'

मोर्चा र गठबन्धनभित्र विवाद नभएको जिकिर गर्दै उनले प्रावधिक कारणले मात्रै अनशनमा ठाकुर र महतो नआएको बताए।

तर, आफ्नो अनुपस्थितिमा यादवले गठबन्धन संयोजकको जिम्मेवारी लिएपछि असन्तुष्ट रहँदै ठाकुर र महतोले लामो समयदेखि बैठकसमेत बहिष्कार गर्दै आएका छन्। यादव संयोजक बन्दा ठाकुर दिल्लीमा उपचारत थिए भने सद्भावनाले पनि आपत्ति जनाइरहेको छ।

सिंहदरबार र बालुवाटार घेराउमा उपस्थित भए पनि यादव संयोजक भएलगत्तै ठाकुर र महतो गठबन्धनबाट क्रमशः अलग हुँदै गएको देखिन्छ। सद्भावना पार्टीको असार पहिलो साता सम्पन्न राष्ट्रिय कार्यसम्पादन समिति बैठकले मधेसी मोर्चा विघटन हुने सक्नेतर्फ संकेत गर्दै सचेत हुने निर्णयसमेत गरिसकेको छ।

'मोर्चाको नाममा ६० भन्दा बढीले रगत दिएका छन् तर गठबन्धनले भने वार्ताका लागि आह्वान गर्नेगरी दबाबसम्म दिन सकेको छैन, त्यसको वातावरण नै बनाउन सकेन,' बैठक सम्पन्न भएलगत्तै महतोले भनेका थिए, '२४ घन्टासमेत गर्न नसकिएको रिले अनशनले कस्तो प्रभाव पार्छ भनेर हामी हेरिरहेका छौं।' मोर्चालाई ओझेलमा पार्नेगरी गठबन्धनलाई अगाडि बढाउन नहुने निष्कर्ष पनि महतोले सुनाइसकेका छन्।

अनशनस्थलमा पूर्व प्रधानमन्त्रीद्वय देउवा र बाबुराम भट्टराई, रामचन्द्र पौडेल, मोहन वैद्यहरू पुगेर ऐक्यबद्धता जनाइसकेका छन्।

मोर्चा कि गठबन्धनलाई प्राथमिकता दिने भन्ने विवाद मधेसी मोर्चाभित्र गहिरिँदै जाँदा सरकारसँग हुने भनिएको वार्तासमेत प्रभावित हुन पुगेको छ। ठाकुर र महतो मोर्चा विघटनतर्फ बढी सचेत देखिएका छन् भने अन्य नेताले गठबन्धनभित्रै मोर्चा रहेकाले उसैलाई प्राथमिकता दिनुपर्ने तर्क गरिरहेका छन्।

राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारीले संघीय गठबन्धनको निर्माण संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विघटनका लागि नभएको प्रष्ट्याएका छन्। पार्टी स्थापनाको चौथौ वार्षिकोत्सव अवसरमा उनले गठबन्धनभित्रै मोर्चा भएकाले विघटनतर्फ बहस लैजान नहुने जनाए।

'गठबन्धन मोर्चाको विघटन र त्यसको विकल्पको रूपमा अघि सारिएको प्रतिस्पर्धी होइन,' भण्डारीले भन्दै आएका छन्, 'बरु यो त अक्सिजन र हाइड्रोजनको मिसावट भएर बनेको पानी हो, अब पिउनुपर्छ।' गठबन्धनसँग वार्ता गर्दा एकैपटक समस्या हल गर्न सकिने भन्दै सरकारले नै त्यसको फाइदा लिनुपर्ने भण्डारीको सुझाव छ।

असार १ गते बसेको मोर्चाको बैठकमा गठबन्धन कि मोर्चा भन्ने विवाद चुलिँदा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले त मोर्चा विघटनको प्रस्ताव नै राखे। 'मोर्चा कि गठबन्धन भन्ने विवादमा अल्भि्कनुभन्दा गठबन्धनभित्र अर्को मोर्चा आवश्यक छैन, यसलाई विघटन गरौं' झाले प्रस्ताव गरेपछि बैठक तनावग्रस्त पनि बनेको थियो। त्यसपछि मोर्चा बैठक बस्न सकेको छैन।

प्रकाशित: १६ असार २०७३ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App