१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेयर भन्छन्, 'विद्यार्थी त युनिफर्म लाउँछन्,'हामीले सुट लगाउँदा के हुन्छ?'

मिर्चैया स्थित सनलाइट टेलर्समा झुन्ड्याइएका कोट। तस्विरःमिथिलेश यादव/नागरिक

कर्जन्हा(सिरहा) - सिरहाको मिर्चैयास्थित सनलाइट टेलर्समा हल्का निलोमा मसिनो सेतो धर्सा भएको कोट लहरै झुन्डिएका छन्। ह्यांगरमा झुन्ड्याइएर राखिएका करिब ३२ थान कोट, पाइन्ट र सर्टमा धुलो बसेर खुइँलिसकेको जस्तो देखिन्छ। ६ महिनादेखि सिलाएर तयार कोटपेन्ट ग्राहक लिन नआएपछि धुलो बसेर पुरानो भएको हो।

टेलर्सको ह्यांगरमा झुन्ड्याइएर राखिएको उक्त कोट पाइन्ट र सर्ट समान्य जनताको नभई जनप्रतिनिधिका हुन्। सिरहाको कर्जन्हा नगरपालिकाका ५९ जनप्रतिनिधि र मेयरका चालकका लागि भनेर चैत १ गत्ते ४२ थान कोट, पाइन्ट र सर्ट सिलाउन सनलाइट टेलर्सलाई अर्डर दिइएको थियो। मेयर गंगा पासवानसहितका १० जनाले कोट पेन्ट लगेपछि ३२ जना जनप्रतिनिधिका लागि सिलाएर तयार कोट पेन्ट सर्ट अझै टेलर्समै छन्।

सुटको कपडा मिर्चैयास्थित गुरुशरण साधुशरण वस्त्रालयबाट उधारोमा खरिद गरिएको छ। नगरपालिकाले ३६ पुरुष जनप्रतिनिधि एकजना मेयर चढ्ने गाडीका चालकका लागि कोट, पाइन्ट र सर्टको कपडा तथा २३ जना महिला जनप्रतिनिधिका लागि कोटको कपडा यस बस्त्रालयबाट उधारोमा खरिद गरिएको हो। मेयर गंगा पासमानले उधारोमा कपडा दिन लगाएका हुन्।

टेलर्सका सञ्चालक विश्वेश्वर मडलका अनुसार प्रतिसुटको सिलाई खर्चमात्रै करिब चार हजार छ। ४२ जनाको सुट र कोटको मात्र डेढ लाख सिलाइ खर्च भैसकेको उनले बताए। लागेको यो खर्च भुतmानी नहुँदा मेरो सारा व्यपार चौपट हुने भयो, उनले दुःखान्त सुनाए। सुट तयार छ लिन आउनुहोस भनेर सम्बन्धित जनप्रतिनिधिलाई फोन गर्दा पैसा भएपछि आउँला भनेर टार्दैआउनुभएको छ, मण्डलले भने। कोट, पाइन्ट र सर्टको सिलाइ ६ हजार र कोटको मात्र सिलाई ३५ सय रुपैयाँ रहेको मण्डलले बताए।  मेरो सम्पूर्ण पुँजी नै फसिसक्यो मण्डलले नागरिकसँग भने,‘अझै पन्ध्रबीस दिन पर्खिन्छु, नआए बेचेर पुँजी असुल गर्छु।’ सिलाइकै मूल्यमा तयारी सुट खरिद गर्न ग्राहकलाई गाह्रो नपर्ला, उनले थपे।

सुटको सिलाई दर ६ हजार भएपछि नगरपालिकासँग पाँच हजारमा सिलाइदिने दर तय भएको उनले बताए। त्यसैगरी कोटको सिलाएको ज्याला ३५ सय तय भएको थियो। सिलाउन आउँदा अग्रीम रकम लिने चलन नभएकोले नगरपालिकासँग पनि अग्रीम धरौटी नलिएको उनले भने। सुट तयार गरिएको छ महिनासम्म लिन आउँदैन भनेर थाहा पाएको भए म यो सिलाई कामनै जिम्मा लिन्न थिएँ, उनले पछुतो माने। लफडामा फँसेर सारा धन्दा चौपट भएकोमा उनी पछुतो मान्दैछन्। टेलर्सको ह्यांगरमा झुन्ड्याइएका सुट र कोटमा सम्बन्धित जनप्रतिनिधिको नामसहितको ट्याग लगाइएको छ।

पुरुष जनप्रतिनिधिका लागि कोट, पाइन्ट र सर्ट तथा महिला जनप्रतिनिधिका लागि कोट, सारी र ब्लाउज दिने निर्णय गरेर मेयर गंगा पासमानकै अग्रसरतामा गत चैतमा जनप्रतिनिधिको सुटका लागि कपडा खरिद गरिएको वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर सिंगरले बताए। त्यतिवेला मेयरले नै कपडा पसलमा उधारो मिलाएका थिए । मेयरका सवारी चालकसहित ४२ जनप्रतिनिधिले टेलर्समा पुगेर नापी दिए।

अहिलेसम्म मेयर गंगा पासमान, चालक हरि पासमान, वडा ५ का अध्यक्ष भूषण खाती, वडा ८ का अध्यक्ष प्रकाश अधिकारी र वडा ११ का अध्यक्ष कपिल यादवसहित १० जनाले मात्रै टेलर्सबाट सुट र कोट लगेको मण्डलले बताए। ३२ कोट–पाइन्ट टेलर्समै छन् । वडा ४ का अध्यक्ष टेकबहादुर सिंगार, वडा ९ का अध्यक्ष बहादुर महरा, वडा १० का अध्यक्ष जगदीश साहलगायत ३२ जनाको तयारी कोट, पाइन्ट र सर्ट ट्याग लगाएर टेलर्सको ह्यांगरमा झुन्ड्याइएको छ।

वडा नम्बर ४ का अध्यक्ष टेकबहादुरले भने,‘हाम्रो खातामा रहेको पैसा तलब भत्ता सम्झेर निकाल्यौ, खर्च गरिसक्यौं।’ मेयर वा अधिकृतले भन्नुपथ्र्यो सुटको रकम हो भनेर। सबै जनप्रतिनिधिको पोसाकको रकम भने असारमै व्यक्तिगत खातामा निकासा भइसकेको छ । ५९ जनप्रतिनिधि र एक चालकसहित ६० जनाका लागि ६ लाख निकासा भएको मेयर पासवानले बताए।

मेयर पासवाले नगरसभा आफ्नो अनुकुलमा गर्न नगरसभाका ५९ सदस्यलाई सुट उपहार दिने योजना ल्याएको वडा अध्यक्ष टेकबहादुरले खुलाए। नगरसभामा सदस्यहरुले विगतको हरहिसाव नमागोस, चुपचाप नगरसभाका योजना पास गरिदिओस भनेर सुटको योजना ल्याएको हो उनले भने,‘कपडा खरिद पनि आफैं गरे, कुनै खरिद समिति गठन गरेनन्।’ पहिला कपडा किने पछि नगरसभा सदस्यहरुको खातामा पैसा पठाएको छु भनेर कागज मिलाए, उनले भने। चैतमा कपडा किनेपछि खरिद समिति गठन गरेर सोहीमार्फत गर्नुपथ्र्याे, उनले बताए।

उनका अनुसार पहिलो नगरसभाताका नगरसभा सदस्यहरुलाई माबाइल उपहार वितरण गरिएको थियो। नगरपालिकाले वडा अध्यक्षहरुलाई सामसङ ब्राण्डको जे सेभेन प्रो र वडा सदस्यहरुलाई सोही ब्राण्डको जे टु मोवाइल वितरण गरेको वडा नम्बर ७ का अध्यक्ष जयकिशोर साहले बताए। मेयरसाब खरिदको काममा अगाडि हुनुहुँदो रहेछ उनले भने। तर, विकासका अन्य गतिविधिमा सुस्त, उनले थपे। जती सामान खरिद गर्यो उती लाभ हुने भएकोले पनि होला उहाँ उतातिर बढ्ता ध्यान दिएको उनले सुनाए।

जनप्रतिनिधिलाई पोसाक भत्ता दिने निर्णय कार्यपालिकाबाट गरिएको मेयर पासवानको दावी छ। तर, कार्यपालिकाका अधिकत्तर सदस्यहरु यसबारे अनविज्ञ रहेको बताउँछन्। वडा अध्यक्ष जगदिश साह भन्छन्,‘बैठक हुँदा अग्रीम निर्णयसहितको पुस्तिकामा हस्ताक्षर गरेर झुक्याउँछन्।’ उनले भने,‘धेरै निर्णयहरु झुक्याएर गराएका छन्, यो पनि होला।’ तर, आफूले न नगरपालिकाबाट वितरण गरेको मोबाइल सुविधा लिएको न सुट लिएको उनले बताए।

जसले हामीलाई मत दिएर स्थानीय सरकारको प्रतिनिधि बनाए उनका आधारभूत आवश्यकता समेत पुरा गर्न नसकेका हामी कसरी सुविधाभोगी हुन सक्छौ, साहले भने। यस नगरका जनता खानेपानी, चर्पी, विजुली, शिक्षाका लागि सकसपूर्ण जिन्दगी बाँचिरहेका छन् उनले भने,‘ जनतालाई दुःखमा छोडेर मोबाइल, सुट, बाइक, लक्जरी गाडीमा रमाउनु लज्जास्पद हो।’

यता, मेयर गंगा पासमान भन्छन्छन्,‘विद्यार्थी त युनिफर्ममा ठटिएर स्कुल आउँछन् भने जनप्रतिनिधि सुट लगाउँदा के हुन्छ। हामी पनि देश अनुसारको भेष पहिरिनुपर्यो नी, उनले थपे। मेरा विपक्षीहरु जे पनि आरोप लगाउँछन् उनले भने ‘यसले मलाई फरक पर्नेबाला छैन, सवैलाई थाहा छ।’

अरु बेला नलगाएपछि नगरसभाको बैठक बस्दा सबै सदस्य कोट, सुटमा हुँदा गज्जब देखिन्थ्यो भनेर गरेको अन्यथा भएछ, उनले भने।

प्रकाशित: ७ आश्विन २०७६ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App