१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

९ लाखको योजनामा ४ लाख घुस

दोलखा - जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका तत्कालीन प्रमुख र प्राविधिकले ९ लाखबराबरको काम सम्पन्न सिँचाइ योजनामा ४ लाख रुपैयाँ घुस लिएको खुलेको छ। सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका प्रमुख प्रकाश अधिकारी र सव इन्जिनियर सुधिर कुमार शाहले कालिञ्चोक गाउँस्थित सिरम्फु सिँचाइ योजनाको काम सम्पन्न गरेपछि उपभोक्ता समितिका पदाधिकारीबाट ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अधिकारी साउन पहिलो साता जिल्लाबाट राजधानी जाँदै गर्दा घुसको रकमसहित पक्राउ परेका थिए। स्रोत नखुलेको सो रकमसहित पक्राउ परेका अधिकारीलाई २ महिना लामो अनुसन्धानपछि अख्तियारले असोज १ गते बिगो दाबीका साथै कार्यालयको गलत लिखत तयार पारेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियार स्रोतका अनुसार अनुसन्धानका क्रममा कालिञ्चोक गाउँपालिका–१ को सिरम्फु सिँचाइ आयोजनामा लागत सहभागिताअन्तर्गत उपभोक्ता समितिलाई दिइएको काम सम्पन्न गर्न गत असारमा ९ लाख रुपैयाँको बिल बनाएबापत उनीहरूले उपभोक्ता समितिका अध्यक्ष धनवीर थामी र सचिव जितबहादुर तामाङबाट घुस लिएका थिए। थामी र तामाङले अख्तियारसमक्ष घुस दिएको बयान दिएपछि उनीहरूले ९ लाख रुपैयाँको काम गर्दा ४ लाख रुपैयाँ घुस लिएको खुलेको हो। ‘४ लाख रुपैयाँ घुस नदिए बाँकी बिलको कामसमेत अगाडि नबढाउने भन्दै बार्गेनिङ गरेर रकम लिएको अनुसन्धानबाट देखिएको आधारमा अभियोगपत्र दायर गरेका हौं,’ अख्तियार प्रवक्ता प्रदीप कोइरालाले नागरिकसँग भने।

अधिकारी पक्राउ परेलगत्तै अनुसन्धानका क्रममा अख्तियारले डिभिजन सिँचाइ कार्यालय चरिकोटअन्तर्गत सञ्चालित योजनाका ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीसँग बयान लिएको थियो। स्रोतका अनुसार बयानका क्रममा पुगेका सिरम्फुका पदाधिकारीद्वयको झोलाको डायरी र माइन्युटमा उनीहरूलाई कमिसनबापतको सो रकम दिइएको भन्दै लेखेको भेटिएको थियो।

अख्तियारले सिरम्फु योजनाका पदाधिकारी थामी र तामाङलाई भने अनुसन्धानमा सहयोग पु¥याएको भन्दै सजायको माग दाबी नलिई मुद्दाको सरकारी साक्षीका रूपमा प्रस्तुत गरेको छ। अख्तियार प्रवक्ता कोइरालाले अनुसन्धानमा यथार्थ खुलाई सहयोग पु¥याएकाले भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम उनीहरूलाई सरकारी साक्षीको रूपमा उभ्याइएको जानकारी दिए।

अधिकारीलाई २३ लाख धरौटी
यसैबीच डिभिजन प्रमुख अधिकारी २३ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। सोमबार विशेष अदालतको २ नम्बर इजलासको आदेशपछि अधिकारी २३ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। असोज १ गते अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा आइतबार थुनछेक आदेश भएको हो।

२ नम्बर इजलासका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले सोमबार अधिकारीलाई २३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अधिकारीलाई अख्तियारले दायर गरेका दुईओटा मुद्दामध्ये घुस आरोपमा १५ लाख र गलत लिखत तयार पारेको अभियोगमा ८ लाख गरेर २३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खडकाले जानकारी दिए। यस्तै सव इन्जिनियर शाहलाई भने ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App