१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न्यायाका लागि ज्यान दिन्छु : गंगामाया

काठमाडौं – छोराका न्यायका लागि अनशनका क्रमका ज्यान गुमाएका नन्दप्रसाद अधिकारीकी धर्मपत्नी गंगामाया अधिकारीले छोरा र श्रीमान्को न्यायका लागि ज्यान दिन तयार रहेको बताएकी छिन्। उनले आफूले न्याय नपाएसम्म श्रीमान्को सद्गद नगर्ने बताउँदै अन्तर्राष्ट्रिय निकायमा गएर भए पनि अपराधीलाई न्यायको कठघरामा उभ्याएर छाड्ने चेतावनी दिएकी हुन्।

नन्दप्रसादको निधन भएको पाँच वर्ष नाघेर छ वर्षमा लागेकामा आयोजित स्मृति तथा विरोध कार्यक्रममा उनले नेपालमा न्याय नपाए यस मुद्दालाई अन्तर्राष्ट्रीयकरण गरेर भए पनि न्याय लिएर छाड्ने दाबी गरिन्। गंगामाया आफू नेपालमा न्याय नपाइने निष्कर्षमा पुगिसकेको बताउँदै न्यायका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा जानका लागि प्रयासरत रहेको सुनाइन्।

उनले भनिन्, ‘नेपालमा न्यायको आश समाप्त भइसकेकाले अन्तर्राष्ट्रीयकरण गर्न आवश्यक भइसकेको छ। त्यसका लागि न्यायप्रेमीहरुसँग सहयोगको अपिल गर्छु।’ गंगामायाले सत्तामा बस्नहरु नै छोराको हत्यामा मुख्य दोषी भएकाले यिनीहरु सत्तामा रहुञ्जेल आफूले न्याय पाउने आश नगरेको बताइन्। गंगामायाले छोरा र श्रीमान्को मुद्दा अन्तर्राष्ट्रीयकरण नभई शव नउठाउने अडान राख्दै अपराधीलाई त्यतिकै नछाड्ने स्पष्ट पारिन्। उनले श्वास रहुञ्जेल न्यायको आश रहने भन्दै अन्तिम अवस्थासम्म पनि न्यायका लागि लडिरहने उद्घोष गरिन्।

अधिवक्ता ओमप्रकाश अर्यालले भने गंगामायाको न्यायको लडाइँमा आफूहरुको साथ र सर्मथन रहेको बताए। उनले मानव अधिकार उल्लंघनकर्ताहरु समाजमा खुलेआम हिँड्ने र पीडित अस्पतालको शड्ढयामा छटपटाइरहुपर्ने अवस्था रहनु दुःखद भएको टिप्पणी गरे। गंगामायाको न्यायको आवाजलाई अन्तर्राष्ट्रीयकरण गर्न आफूहरुले सकेको योगदान गर्ने अधिवक्ता अर्यालले बताए।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीहरुलाई कारबाही गर्न माग्दै अनसन बस्ने गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको लास पाँच वर्षदेखि न्यायको पर्खाइमा अलपत्र अवस्था छ। गंगामायाले न्याय नपाएसम्म सद्गद नगर्ने अडान लिँदै आएकी छिन्। शिक्षण अस्पतालको फरेन्सिक विभागमा अधिकारीको शव न्यायको प्रतीक्षामा छ।

मानवअधिकारर्मी चरण प्रसाईं गंगामायाले न्यायका लागि अन्तिम लडाइँ लड्ने भन्दै आमरण अनसन बस्न खोजेपछि अझ केही समय हतार नगर्न आग्रह गरे। कृष्णप्रसादका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनले सरकारलाई न्यायको पक्षमा नागरिकले उठाएको आवाज सुन्न अनुरोध गरे। गंगामायाले सरकारलाई न्यायका लागि अन्तिम अल्टिमेटम दिएर अनसन बस्ने तयारी गरिरहेकी छिन्। गंगामाया २०७० साउन १६ गतेदेखि वीर अस्पतालमा बस्दै आएकी छन्। उनका पतिको वीर अस्पतालमा अनसन बस्ने क्रममा नै मृत्यु भएको थियो।

प्रकाशित: ७ आश्विन २०७६ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App