१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चालु आवमा आठ प्रसारण लाइन बन्ने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा आठवटा विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्राधिकरणले यस वर्ष सिंगटी–लामोसाँघु, सोलु करिडोर, दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङदी–काठमाडौं, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशुली ३ बी हब, कोसी करिडोर (इनरुवा–तुम्लिङटार खण्ड)को निर्माण सक्ने योजनासहित काम भइरहेको जनाएको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा आठवटा प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने बताए। ‘चालु आर्थिक वर्षमा निर्माणाधीन आठवटा प्रसारण लाइन सम्पन्न गर्ने योजनासहित काम भइरहेको छ,’ उनले भने, ‘तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने गरी काम गर्न निर्देशन दिएका छौं।’

प्राधिकरणले ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्च क्षमताको सबस्टेसन चालु आवमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने जनाएको छ। प्रबन्ध निर्देशक घिसिङले देशैभरका प्रसारण सबस्टेसन स्वचालित प्रणालीमा लैजाने बताएका छन्। ‘अहिले लोडसेडिङ अन्त्य भएसँगै बिजुली सेवालाई गुणस्तरीय र भरपर्दाे बनाउनेतर्फ केन्द्रित भएका छौं,’ उनले भने, ‘हाम्रो ध्यान अब वितरण र  प्रसारण लाइनको सुदृढीकरणतर्फ केन्द्रित भएको छ।’

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सात सय ५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। मन्त्रालयका अनुसार अर्थिक वर्ष ०७४/७५ मा दुई सय ४९ सर्किट किलोमिटर निर्माण भएको थियो। अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७५/७६ मा दुई सय चार प्रतिशत धेरै प्रसारण लाइन निर्माण भएको छ।

मन्त्रालयले गत आर्थिक वर्षमा आठ सय ३० मेगा भोल्ट एम्पियर (एमभिए) विस्तार भएको  छ। अघिल्लो आर्थिक वर्षमा ६ सय ९८ एमभिए विस्तार भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा २९ मेगा भोल्ट एम्पियर प्रतिशत धेरै विस्तार भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सात सय सात मेगा भोल्ट एम्पियर क्षमताका ३० वटा नयाँ सबस्टेसन निर्माण सकिएको छ। त्यसैगरी २९ वटा सबस्टेसनको स्तरोन्नति भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७६ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App