१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सरकारसँग लडेर होइन सहकार्य गरेर व्यवसायीको हितमा काम गर्छु’

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभा तथा निर्वाचन यहीँ असोज ७ गते मंगलबार हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा संघको नेतृत्व लिन दुई प्यानल चुनावी मैदानमा छन्। 

प्रतिपक्षी नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार फोरमबाट विष्णुप्रसाद गैरेको प्यानल प्रतिस्पर्धामा छ भने सत्तारुढ नेकपानिकट प्रगतिशील वैदेशिक रोजगार मञ्चसहितको संयुक्त व्यवसायीक समूहबाट सरोज कुमार पोखरेलको प्यानल मैदानमा छ। 

सत्तारुढ दल निकट प्रगतिशील समूहबाट अहिले संघको नेतृत्व रोहन गुरुङले गरिरहेका छन्। प्रगतिशील समूहबाटै संघको नेतृत्व हाँकिरहँदा सरकारले वैदेशिक रोजगारमा कडाई गर्दै लगेको र जटिलता आइपरेको छ। साथै संघबाट समाधानका लागि यथेष्ट पहल नभइरहेको भन्ने गुनासोका सन्दर्भमा फेरि पनि सत्तारुढ निकट नेतृत्व किन संघमा भनेर संयुक्त प्यानलका अध्यक्ष उम्मेदवार पोखरेलसँग नागरिकले गरेको कुराकानीः 

विगतका वर्षहरुमा वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा जुन क्रियाशीलता व्यवसायी र उम्मेदवारमा हुन्थ्यो, त्यो अहिले देखिएन। परिस्थिति फेरिएको हो?

वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारण सभा र निर्वाचन यही ७ गते सम्पन्न गर्न गइरहेका छौं। त्यसैले हामी साधारण सभाको तयारीसँगै निर्वाचनको अन्तिम तयारीमा जुटेका छौं। हो विगतका निर्वाचनमा हामीसँग प्रशस्त समय हुन्थ्यो र त्यहीँ अनुरुप प्रचारप्रसार पनि गरिन्थ्यो। यसर्थ हामीले छोटो समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता छ। तर कतिपय जटिलताहरुका बाबजुद हामी यो निर्वाचन सम्पन्न गर्न गइरहेका छौं। 

पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्र खुम्चिँदै गएको देखिन्छ। तपाईहरुकै भनाइलाई आधार मान्ने हो भने सरकारी तवरबाट यो क्षेत्रलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन। स्थिति अनुकुल भन्दा प्रतिकुल बन्दै गइरहेको छ। यस्तो अवस्थामा व्यवसायीको नेतृत्व लिने रहर कसरी जाग्यो?

तपाईले भनेको ठिक हो। अहिले अवस्था जटिलतातर्फ अग्रसर छ। सजिलो अवस्थामा नेतृत्व लिन त जो पनि अघि सर्छ। तर, अप्ठ्यारोमा अघि सर्ने, ति चुनौतीहरुलाई आत्मसाथ गर्दै व्यवसायीका समस्या समाधान गर्छु भनेर अघि सर्छ उ नै नेतृत्वमा स्थापित हुने हो। जटिलता र चुनौती छन्। वैदेशिक रोजगार दिनानुदिन अप्ठ्यारो मोडबाट गुज्रिरहेको छ। समस्याहरु थपिँदै छन्। एकातिर अन्तर्राष्ट्रिय बजारमा विभिन्न उतार चढावहरु देखिएका छन् भने अर्कोतिर वैदेशिक रोजगारप्रति सरकारको नीति पनि अलि अस्पष्ट छ। वैदेशिक रोजगारलाई नियन्त्रण गर्ने खालको पनि देखिन्छ। वैदेशिक रोजगार आवश्यकता हो या होइन भन्ने विषयमा सरकारको प्रस्ट धारणा देखिँदैन। नयाँ नीतिनियम आइरहेका छन्। यसले पनि व्यवसायीलाई अप्ठ्यारो परिस्थितिबाट गुज्रिन बाध्य बनाएको देखिन्छ। त्यसले गर्दा यो व्यवसायभित्र जटिलता छ। तर ती जटिलतालाई सरलतामा परिणत गर्न सक्नु नै नेतृत्वको खुबी हो र मा त्यो चुनौती सामना गर्न सक्छु भनेर नै नेतृत्व लिन अघि सरेको हुँ। व्यवसायीका समस्यालाई उहाँहरुले भोग्दै आएका र भोग्नु पर्ने चुनौतीलाई आत्मसात गर्दै एउटा निकास दिन्छु भनेर दृढ विश्वासका साथ अघि बढेको छु।

तर, विगतका नेतृत्वको कामकारबाही हेर्ने हो भने त नेतृत्वप्रति व्यवसायीको आशा र भरोसा टुट्दै गयो भन्छन् नी?

हो व्यवसायीका आशा र भरोसा नेतृत्वप्रति धेरै थिए। ती कति पुरा भए, कति भएनन्, कतिपय पुरा हुने क्रममा पनि होलान। यसअर्थ पनि नेतृत्वप्रति व्यवसायीको दुःखेसो होला। तर मलाई के लाग्छ भने संकटको घडीमा दुःखेसो राख्ने होइन। संकटको घडीमा हामी व्यवसायी एकजुट हुनुपर्छ। हामीले चट्टानी एकता प्रस्तुत गर्नुपर्छ। त्यसैले व्यवसायीका दुःखेसा नाजायज छैनन् जायज छन्। राज्यले गर्ने व्यवहार त्यसमा नेतृत्वले खेल्नुपर्ने भूमिकाप्रति प्रश्न उठेका होलान। तर नगरेको होइन। गरेको पनि छ, केही केही कुराहरु गर्न बाँकी पनि छन्। त्यसैले यस्तो बेलामा हामीले निराशावादी सोच बनाउनु हुँदैन। हामीले व्यवसायीक एकता प्रस्तुत गरेर यो क्षेत्रका समस्याहरुलाई समाधान गर्ने दिशामा अघि बढ्नु पर्छ। 

समस्या समाधानका लागि कुनै न कुनै राजनीतिक आस्था नै चाहिने रहेछ। कुनै न कुनै दलको समर्थनमा नै उम्मेदवार बन्नुपर्ने?

राजनीतिक आस्था आ आफ्ना हुन्छन्। मानव समाजमा यो हुन्छ, यसलाई अन्यथा सोच्नु हुँदैन। यद्यपि राजनीतिक नेतृत्वसँग पहुँच भएको, राजनीतिक लबिङ्ग गरेर व्यवसायीका समस्या समाधान गर्न सक्ने नेतृत्व संघमा आउनु पर्छ भन्ने पनि व्यवसायीको भावना छ। यसको अर्थ पहिलेका कोही पनि राजनीतिक पहुँच भएको हुनुहुन्नथ्यो भन्न खोजेको होइन। राजनीतिक नेतृत्वले नै मन्त्रालयले देखि विभिन्न निकाय सम्हाल्ने भएकाले व्यवसायीका समस्या समाधानका निम्ति त्यो अप्रोच देखाउने वा त्यो कौशलता देखाउने नेतृत्व आउन जरुरी छ। यदि त्यो नेतृत्वले व्यवसायीका पक्षमा काम गर्न सक्यो भने त्यो सबैभन्दा राम्रो हुन्छ। तर राजनीति गर्नका लागि भने संघमा आउनु हुँदैन। म र मेरो समूह राजनीति गर्न संघमा आउन खोजेका होइनौ। आस्था र विचारका हिसाबले हामी भिन्न पार्टीमा हुनसक्छौं। तर व्यवसायीका समाधान गर्न नेतृत्वदायी भूमिका खेल्छौं भनेर अघि बढेका हौं।  

तपाईहरु नेतृत्वमा बसेर के गर्नुभयो, अब मुख्य एजेण्डा के हो ?

हाम्रो प्यानल व्यवसायीक प्यानल हो। आम व्यवसायीका भावना समेट्न हाम्रो प्यानल निर्माण भएको हो। हामी व्यवसायीका मुद्दा उठाएर संघमा राजनीति गर्न आएका होइनौं। मलेसिया रोजगारी खुलाउन हामी व्यवसायीले गरेका पहल र प्रयत्नलाई हेर्नुस वा ट्रेड सर्टिफिकेट लिएर मात्र वैदेशिक रोजगारमा जानुपर्ने प्रावधानलाई स्थगन गर्न गरेको प्रयासलाई हेर्नुस्। धरौटीकै विषयमा पनि २ करोड नगद प्रस्तावलाई ५० लाखमा झार्न सफल भयौं। 

तर, दुई तिहाईको सरकार छ, संघ दुई तिहाईको हुँदा हुँदै पनि व्यवसायीका समस्या सम्बोधन गर्न असफल हुनुभयो भन्ने व्यवसायीको गुनासो छ। त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?

विगतको नेतृत्वले यथेष्ठ प्रयत्न गरेको छ। व्यवसायीका पक्षमा धेरै काम पनि गरेको छ। कतिपय काम पुरा हुने क्रममा छन्। विगतको नेतृत्वले आफ्नो बुद्धि क्षमताले भ्याएसम्म काम गर्यो। अबको नेतृत्वले त्योभन्दा अब्बल काम गरेर देखाउनु पर्छ। त्यो सावित गर्न नै उम्मेदवार बनेको हुँ र गरेर छोड्छु। 

तपाई निर्वाचित हुनुभयो जटिलता समाधान र सुधारका लागि के काम गर्नुहुन्छ? 

वैदेशिक रोजगार व्यवसायीमा यो व्यवसाय नै धरासायी हुने होकी भन्ने चिन्ता बढेको छ। एकातिर बेरोजगार नेपालीले वैदेशिक रोजगारमा जान पाइरहेका छैनन्। अर्कोतिर व्यवसायी साथीहरुले सहज रुपमा कामदार पठाउने वातावरण बनिसकेको छैन। यो समस्याको उचित निकास ननिकाली राज्यलाई पनि विकल्प नै छैन। आखिर जसले जतिसुकै ठूलो कुरा गरे पनि राज्यको निम्ति रेमिट्यान्स नै मुख्य स्रोत हो भनेर त सबैले स्वीकारेकै छौं। हो यही विन्दुमा हामी एक ठाउँमा पुग्छौं र नीतिगत रुपमै केही निर्णय गराएर सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउछौं। आगामी तीन महिनामा केही उल्लेख्य काम गरेर देखाउँछौं। 

सेवा शुल्कको विषय, १ सय जना पठाउनै पर्ने थ्रेस होल्ड टाइपको विषयलाई खारेज गर्ने र संघलाई फरक ढंगले चिनाउनु पर्ने आवश्यकता छ। यो काम हामी पुरा गरेर देखाउँछौं। यदि यी काम गर्न सकिन भने नेतृत्वमा बसिरहनुको कुनै आवश्यकता छैन। मैले गरेका बाचा पुरा गर्न सकिन भने म एक दिन पनि संघको नेतृत्व ओगटेर बस्दिन। 

अन्त्यमा, 

हामी अत्यन्त संकटको घडी छौं र आगामी दिनमा यो संकट थप बढेर जाने पनि देखिँदैछ। अहिले अनुगमनको नाममा मेनपावर कम्पनीमा छापा मारिँदैछ, धरौटी वृद्धि भर्खरै सकियो, मलेसिया रोजगारी केही दिनअघि मात्र सुचारु भएको छ। १० हजार सेवा शुल्कमा हामी काम गर्न सक्दैनौं, त्योभन्दा बढी लिँदा राज्यले कारबाही गर्छ। यी यावत परिस्थितिको माझमा छौं हामी। अब यी चुनौतीलाई हामीले सामना गरेर अघि बढ्नु छ। यस्तो घडीमा हामी नयाँ नेतृत्व चयन गर्न गइरहेका छौं भने हामीले यी समस्यालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन गर्न व्यवसायीमा अनुरोध गर्दछु।

प्रकाशित: ६ आश्विन २०७६ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App