१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

साबिक विजेता नेपाल भुटानसामु निरीह

काठमाडौं– साबिक विजेता नेपाललाई ३–० ले हराउँदै भुटान नेपालमा जारी साफ यू–१८ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार भएको खेलमा भुटानले घरेलु टोलीलाई स्तब्ध बनाएको हो।

पहिलो संस्करणमा ३–१ को जित निकालेको नेपाल दोस्रो संस्करणमा पनि पराजित भएको थियो। पराजित भए पनि नेपालले दोस्रो संस्करण उपाधि उचाल्न सफल भएको थियो।

कमजोर मानिएको भुटानसँग घरेलु मैदानमा ३–० ले पराजित हुँदा नेपालले पहिलो हाफ एक र दोस्रो हाफमा दुई खान पुगेको थियो।

योसँगै नेपालको साफ यू–१८ च्याम्पियनसिपमा अघिल्लो चरणको यात्रा कठिन भएको छ। अघिल्लो चरणको गणितीय आधार मात्र बाँकी छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो।

नेपालले उक्त खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै अंक खोस्न सफल भएको थियो। लिगको पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको भुटानले नेपालविरुद्ध ३७औं मिनेटमा सुरुआती अग्रता लिन सफल भएको हो।

भुटानका लागि कर्मा सोनाम दिएको पासमा यशी दोर्जेले खाता खोलेका थिए। मैदानको दायाँ भागबाट गरेको क्रसमा यशी दोर्जेले हानेको प्रहार सोझै गोलमा परिणत भएको थियो। 

पहिलो हाफमा नेपालले अधिकांश समय बलमा पोजिसन राखे पनि फिनिसिङमा चुक्दा नेपाल स्तब्ध हुनुपरेको हो। दोस्रो हाफमा सुधारिएको खेल पस्किने प्रयास गरे पनि असफल रह्यो। वर्षाले हिलाम्मे भएको मैदानमा दुवै पक्षका खेलाडीलाई बल नियन्त्रण गर्न कठिन भएको थियो। 

पहिलो हाफको अग्रतासँगै उच्च मनोबलका साथ दोस्रो हाफमा मैदान उत्रिएको भुटानले सन्तुलित प्रदर्शन गरेको थियो। अन्तिमतिर आक्रामक देखिएको भुटानले ८६औं मिनेटमा भुटानले पेनाल्टी अवसर पायो।

नेपालका विशाल बस्नेतले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका केल्जाङ जिग्मीलाई पेनाल्टी बक्सभित्र खराब फाउल गरेपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो।

केल्जाङले कुने गल्ती नगरी अग्रता २–० मा पुर्याएका थिए। खेलको अन्त्यतिर भुटानका कर्मा सोनामले प्रहार गरेको लामो प्रयास नेपालका गोलकिपर विशाल सुनारले रोक्न नसक्दा भुटानले ३–० को सानदार जित दर्ता गर्न सफल भयो। 

हारसँगै समूह ‘ए’ मा रहेको नेपालको अंकतालिकमा १ अंक जोडेको छ। यो अंक नेपालका लागि अघिल्लो चरण प्रवेशका लागि कठिन हुनेछ। लिगको पहिलो खेलमा नै जित निकाले भुटान एक खेलअगावै अन्तिम चारमा प्रवेश गरेको छ। भुटानले १ खेलमा ३ अंक जोडेको छ। माल्दिभ्सको पनि १ अंक छ। 

अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ। उक्त खेलमा भुटानले माल्दिभ्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ।

बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिनेछ। माल्दिभ्सले भुटानलाई बराबरीमा रोके मात्र पनि सेमिफाइनल सम्भावन कायम रहन्छ। नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली खेलाडीले सोचेजस्तो खेल प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए।

‘वर्षासँगै मैदान केही कठिन बन्यो। अट्याकिङ खेल्ने रणनीति भए पनि रक्षापंक्तिले राम्रो खेल्न सकेन,’ प्रशिक्षक श्रेष्ठले भने, ‘दोस्रो हाफमा नयाँ खेलाडीलाई मैदान प्रवेश गराउँदा पनि फिनिसिङमा कमजोर देखियौं।’

यस्तै, भुटानका प्रशिक्षक युजेन दोर्जेले खेलाडीको सन्तुलित प्रदर्शनको मद्दतमा जित सम्भव भएको प्रतिक्रिया दिए।

‘सुरुआतबाट नै सबै खेलाडीले राम्रो खेल खेले। रणनीतिअनुसार नै खेलाडीको प्रदर्शनले जित सम्भव भयो,’ प्रशिक्षक दोर्जेले भने, ‘जितको लक्ष्यका साथ मैदान उत्रिएका थियौं। सम्भव भयो। माल्दिभ्सविरुद्ध पनि शतप्रतिशत दिएर खेल्छौं। अपराजित रहँदै अघिल्लो चरण पार गर्ने हो।’ प्रतियोगितामा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: ६ आश्विन २०७६ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App