१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एकलमा हार, युगलमा जित

पोखरामा आयोजित सिनियर्स ग्रेड ४ टेनिस प्रतियोगितामा कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा बल फर्काउँदै । तस्बिर: उमेश पुन/नागरिक

पोखरा- पोखरेली भेट्रान खेलाडी समीर शेरचनले आफ्नो एकल प्रतिस्पर्धामा हारको पीडालाई युगल प्रतिस्पर्धाको जितसँगै भुल्ने प्रयास गरेका छन्।

पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजित एनआइसी एसिया बैंक विश्व वरीयता ग्रेड ४ टेनिस च्याम्पियनसिपको दोस्रो दिन आइतबार ५५ वर्षमाथिको उमेर समूहमा शेरचन एकल प्रतिस्पर्धामा सोझो सेटबाट पराजित हुँदै बाहिरिए। उनी उत्तमकुमार शेर्पासँगै ६–२, ६–१ को सेटमा पराजित हुन पुगेका हुन्। 

शेरचनले एकलको हारको पीडा युगलतर्फको प्रतिस्पर्धामा जित निकाल्दै भुलेका छन्। सोही उमेर समूहको युगल प्रतिस्पर्धामा शेरचन र अनिल तुलाचनको जोडीले उत्तमकुमार शेर्पा र मनोज राणाको जोडीमाथि सहज जित निकालेको हो।

पहिलो सेट ६–३ ले लिएको पोखरेली जोडीले काठमाडौंको जोडीलाई दोस्रो सेटमा पनि ६–१ ले आफ्नो पोल्टामा पारे। ५५ वर्षमाथिकै उमेर समूहमा भारतीय खेलाडी सञ्जय कुमारले झ्याम्पा ढुण्डुपलाई सोझो सेटमै पराजित गरे। ढुण्डुपलाई ६–१, ६–१ को सेटले पराजित गर्दै सन्जयले अघिल्लो चरणको यात्रा सुनिश्चित गरेका छन्। 

त्यस्तै, ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले पोखराका शरण गुरुङलाई सोझो सेटमा चुनौती पन्छाए। उनले ६–२, ६–१ को सेटमा जित निकाले। त्यस्तै, अर्को खेलमा पोखराका विकास गुरुङले पदम गुरुङको चुनौती पन्छाउन तीन सेट खेल्न पुगे।

विकासले पहिलो सेट ६–२ मा लिए। दोस्रो सेट ४–६ ले गुमाए भने अन्तिम तथा निर्णायक सेटमा भने उनले पुरानै लयमा फर्किंदै ६–२ को नतिजा निकाल्दै खेल आफ्नो पक्षमा पारे।

यसैगरी, ४५ वर्षमाथि उमेर समूहकै प्रतिस्पर्धामा गोपीबहादुर भट्टराईले शिवप्रसाद सेढाईंलाई पराजित गर्न तीन सेट खेल्न पुगे। भट्टराईले खेल आफ्नो पक्षमा पार्ने क्रममा उत्कृष्ट कमब्याक गरे।

पहिलो सेट ३–६ ले गुमाएका भट्टराईले दोस्रो सेट ६–४ ले लिँदै बराबरी गरे भने तेस्रो सेट ६–३ ले लिँदै जित आत्मसात् गरे। अर्को खेलमा धरमबहादुर लामिछानेले मुनेश थापालाई ६–०, ६–० को सेटले पन्छाएका थिए। 

कास्की जिल्ला टेनिस संघको आयोजना तथा एनआइसी एसिया बैंकको मुख्य प्रायोजनामा आयोजित प्रतियोगिताको दोस्रो दिन ३५ वर्षमाथिको प्रतिस्पर्धामा भने अशोक कुमारलाई पोखरेली खेलाडी गीताराज शर्मा चालिसेले ६–०, ६–० को सेटमा पराजित गरेका छन्।

भारतीय खेलाडी स्वर्णेस चतुर्वेदीले अमितसिंह गुरुङलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–०, ६–० सेटको नतिजा निकालेका थिए। 

 

 

प्रकाशित: ६ आश्विन २०७६ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App