१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कार घटनामा बयान फेर्न साढे पाँच लाख, आमाले खाेलिन् यस्ताे रहस्य!

ओखलढुंगा - गत साउन २० गते मोलुङ गाउँपालिकाकी एक युवती बलात्कृत भइन्। १८ वर्षीया ती युवती घाँस काट्न दिउँसो बारीमा गएको बेला बलात्कृत भएकी हुन्। पीडित पक्षको किटानी जाहेरीका आधारमा सोही ठाउँकै प्रहरी चौकीमा कार्यरत सप्तरीका करिब ३५ वर्षीय प्रहरी जवान प्रकाशकुमार यादव जबरजस्ती करणी मुद्दामा पक्राउ परे। घाँस काट्न गएकी किशोरीलाई यादवले जंगलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ।

यादवले करणी गरिरहेका बेला युवतीका बुबाले देखेपछि घटना बाहिर आएको थियो। यादवले त्यसअघि जंगलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि ती युवतीलाई बलात्कार गरेको खुलेको छ। ओखलढुंगा जिल्ला अदालतमा सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणीमा यादवविरुद्ध भदौ १० गते मुद्दा दायर भएको थियो। घटनाको अनुसन्धान भइहेको समयमा यादवका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालतसमक्ष बयान फेर्न बारम्बार दबाब दिइरहे। मोटो रकमको लोभ देखाइरहे।

पैसा लिएर पीडित युवतीलाई बयान फेराउन यादवका आफन्त, निजी वकिल र प्रहरीले दबाब दिएको युवतीकी आमाले बताइन्।

अन्त्यमा पाँच लाख ५० हजार रुपैयाँमा कुरा मिल्यो अनि पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए। जिल्ला अदालतमा बकपत्र गर्ने बेलामा ती पीडित महिला विपक्षी भएकी छिन्। आफूलाई यादवले जबरजस्ती करणी गरेको भनी जाहेरी दिएकी युवतीले पटकपटक प्रहरीको अनुसन्धानको क्रममा आफूलाई आरोपितले बताल्कार गरेको जिकिर गर्दै आएकी थिइन्। तर अहिले अदालतमा युवतीले हामीले सहमतिमै शारीरिक सम्बन्ध राखेको भनी बयान फेरेकी छिन्। आफैले फोन गरेर यादवलाई बोलाएको र शारीरिक सम्पर्क भइरहेको समयमा बुबाले देखेपछि डरले यादवले आफूलाई जबरजस्ती करणी गरेको भनी आरोप मात्र लगाएको भनी उनले बयान फेरेकी हुन्।
पैसा लिएर पीडित युवतीलाई बयान फेराउन यादवका आफन्त, निजी वकिल र प्रहरीले दबाब दिएको युवतीकी आमाले बताइन्। ‘नजिकको प्रहरी चौकीबाट पनि पटकपटक घरमै प्रहरी आएर मिल्नु भने, वकिलले पनि जिल्लामा जाँदा त्यसै भनेपछि साढे पाँच लाखमा कुरा मिलेको हो,’ उनले भनिन्, ‘प्रहरी र अदालत धाउँदाधाउँदै आफ्नै तीन लाख जति खर्च भएको थियो। धेरै दिएन, साढे पाँच लाख मात्र दियो।’ प्रहरी जवानको जागिर गए घरमा बिजोक हुने भन्दै युवती र उनका आफन्तलाई पैसामा मिल्न पीडक पक्षका व्यक्तिले दबाब दिएको पीडितका आफन्तले बताएका छन्।

जिल्लास्थित एक सेफ हाउसको सहारामा बस्दै आएकी युवतीलाई आफन्तले घर फिर्ता लगेका छन्। पीडकबाट साढे पाँच लाख रुपैयाँ लिएर बयान फेरी उनी आफन्तसँगै घर गएको सेफ हाउस सञ्चालक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले बताइन्। ‘पैसा लिएर अदालतमा बयान फेरेर आएछन्, हामीसँग भेटै नगरी गए,’ शेर्पाले भनिन्।
आर्थिक लेनदेनकै कारण युवतीले बयान फेरेको हुन सक्ने महिला अधिकारकर्मी शेर्पाले बताइन्। ‘पहिले जबरजस्ती करणी भएको भनी जाहेरी दिइन्, प्रहरीको अनुसन्धानका क्रममा पनि उनले त्यसै भनिन,’ स्रेस्तेदार पौडेलले भने, ‘अहिले अदालतसमक्ष बकपत्र गर्दा विपक्षी भइन्।’ युवतीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा साउन २१ गते प्रहरी जवान यादव पक्राउ परेका थिए।

पैसा लिनुअघि घटनाको प्रत्यक्षदर्शी युवतीका बुवाआमाले समेत छोरी बलात्कृत भएको भन्दै न्याय खोज्दै सदरमुकाम आएका थिए। आइतबार ओखलढुंगा जिल्ला अदालतले भौतिक परीक्षण प्रमाण प्रतिवेदन र वादीतर्फका साक्षीलाई अदालतमा झिकाउने आदेश गरेको छ। यादव पुर्पक्षका लागि थुनामा छन् र मुद्दा विचाराधीन अवस्थामा छ।

प्रकाशित: ६ आश्विन २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App