१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

न्याय नपाएसम्म पतिको सद्गत नगर्ने गंगामायाको अडान

काठमाडौं – छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीमाथि कारबाही माग गर्दै अनशन बसेको अवस्थामै बितेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव पाँच वर्षदेखि शिक्षण अस्पताल परिसरस्थित फोरेन्सिक विभागमा अलपत्र छ ।

वीर अस्पतालमा रहेकी उनकी पत्नी गंगामाया अधिकारीले न्यायका लागि अब अन्तिम लडाइँ लड्ने उद्घोष गरिसकेकी छन् । गंगामायाले आफूले न्याय नपाएसम्म पतिको सद्गत नगर्ने अडान लिएकी छन् । उनले छोराको न्यायका लागि लड्दा पति (नन्दप्रसाद) ले ज्यान गुमाएको पाँच पूरा भएर ६ वर्ष लागेको बताउँदै न्यायको सुनिश्चितता नभएसम्म सद्गत नगर्ने स्पष्ट पारिन् ।

‘पीडक नै सत्तामा रहेकाले नेपालमा न्याय पाउन सम्भव छैन’, वीर अस्पतालको शड्ढयाबाट गंगामायाले नागरिकसँग भनिन्, ‘अन्तर्राष्ट्रिय समुदायमा गएर भए पनि पति र छोराको न्यायका लागि लड्छु । छोरा, पति, १२ वटा पशु चौपायालगायत सर्वस्व गुमाइसकें, अब मलाई जीवनप्रतिको आशा छैन ।’

अनशन बसेको अवस्थामै बितेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको शव पाँच वर्षदेखि शिक्षण अस्पताल परिसरस्थित फोरेन्सिक विभागमा अलपत्र छ ।

गंगामायाले छोराको न्याय र पतिको आत्माको शान्तिका लागि अपराधीहरुलाई जोगाउन लागिपरेका तत्कालीन विद्रोही माओवादीका नेतामाथि कारबाही आवश्यक रहेको बताइन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्तामा नजाउन्जेल ‘न्याय पाइन्छ गंगामायाजी नआत्तिनुहोस्’ भन्ने आश्वासन दिएको स्मरण गराउँदै उनले प्रधानमन्त्री भएको डेढ वर्षसम्म पनि वचन पूरा नगरेको गुनासो गरिन् ।

‘सत्तामा नपुगुन्जेल न्याय पाइन्छ, माग्नेलाई नै दिने हो न्याय भन्ने अहिलेचाहिं न्याय दिन छाडेर कुन दुलामा लुकेका छन् केपी ओली’, उनले भनिन् । न्याय दिनुको सट्टा उल्टै प्रहरी लगाएर आफूलाई जेल र प्रतिबन्धमा राख्न खोजेको गंगामायाको आरोप छ । उनले न्याय माग्न आफू अन्तर्राष्ट्रिय क्षेत्रमा जाने सोचाइमा रहेकोे सुनाइन् । यसका लागि सहयोग गर्न मिडियालाई पनि उनले आग्रह गरिन् ।

मानवअधिकारकर्मी चरण प्रसाईंले सरकारले न्याय दिन अनिच्छा देखाएको र न्यायालयसमेत राजनीतिक प्रभावमा परेका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुद्दा लैजाने इच्छा गंगमायाको रहेको बताए । उनले गंगामाया नेपालमा न्याय नपाइने निष्कर्षमा पुगिसकेको र अन्तर्राष्ट्रिय क्षेत्रमा जानलाई रणनीति बनाउन छलफलमा रहेको बताए । सरकारले न्याय दिनभन्दा पनि दुःख दिन लागेकाले गंगामायाले न्यायको आशा मारेको हुनसक्ने प्रसाईंको भनाइ छ ।

गंगामायालाई न्यायका लागि साथ दिइरहेका अधिवक्ता ओमप्रकाश अर्यालले गंगामायाले नेपालमा न्याय नपाउने निष्कर्ष निकालिसकेको बताए । गंगामायाको भनाइ उद्धृत गर्दै नेपालमा न्यायको आस समाप्त भइसकेकाले अन्तर्राष्ट्रियकरण गर्न आवश्यक सहयोग गरिदिन आग्रह गर्देै आएको अधिवक्ता अर्यालको भनाइ छ ।

गंगामायाले सरकारलाई न्यायका लागि अन्तिम अल्टिमेटम दिएर अनशन बस्ने तयारी गरिरहेकी छन् । गंगामाया २०७० साउन १६ गतेदेखि वीर अस्पतालमा बस्दै आएकी छन् । उनका पतिको वीर अस्पतालमा अनशन बस्ने क्रममा नै मृत्यु भएको थियो । नन्दप्रसादको मृत्यु भएको छ वर्ष भएकाले वीर अस्पतालबाहिर कार्यक्रम राखिएको मानवअधिकारकर्मी प्रसाईंले जानकारी दिए ।

प्रकाशित: ६ आश्विन २०७६ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App