१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेरोजगार युवाको अटो रिक्सामा आकर्षण

बाजुरा- युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ। तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ।     

ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी भन्ने मान्यताले यहाँका धेरै युवाहरु बेरोजगार बस्न बाध्य छन्। श्रम गर्नु, उद्यम गरेर खानु जस्ता कामलाई इज्जतसँग जोडेर उनीहरु बरु खाली बस्न राजी छन्, काम गर्न तयार छैनन्।     

तर केही यस्ता युवाहरु पनि छन् जो समाजमा नमूना छन्। कलिलै उमेरमा राम्रो प्रगति गरिरहेका छन्। आफैँले उद्यम गरेर परिवार पालिरहेका छन्। ती नमूना युवा मध्येका छन्, बडिमालिका नगरपालिका–२ घागरका चक्र महत। उमेरले मात्र २० वर्ष पुगेका उनी अटो रिक्सा चलाउछन्।     

मार्तडीदेखि अछामको साँफेबगरसम्म आउने जाने यात्रुहरुलाई सुविधा दिएका छन्। १० कक्षाभन्दा माथि पढ्न नसकेपछि महत भारत जान थाले तर अरुको देशमा काम गर्दा पनि सहनुपर्ने गाली र अपमान उनलाई सह्य भएन। फेरि घर फर्के। जब पिसविन नामक गैरसरकारी संस्थाले अटोरिक्सा सिकाउने तालीमका लागि सूचना जारी गर्यो उनले पनि निवेदन दिए।     

सवारी चालकमध्ये पनि ट्याक्टर, अटोरिक्सा चलाउनेलाई अरुको जस्तो सम्मान छैन। त्यो कुरा महतलाई थाहा थियो। तर पनि काम सानो नहुने थाहा पाएका महतले कैलालीको मसुरीमा ३ सय ९० घण्टे तालीम लिए। हाल अटोरिक्सा चलाएरै राम्रो आम्दानी गरिरहेका छन्।     

महतलाई तालीमको सुविधासहित अटोरिक्सा किन्न थप एक लाख नगद रुपैयाँ पनि पिसविन र सेभ द चिल्डे«नको सहकार्यमा सञ्चालित युवा सशक्तिकरण कार्यक्रमले सहयोग गरेको परियोजना संयोजक धर्मबहादुर रोकायाले जानकारी दिए।     

महतले हाल मासिक २० हजार रुपैयाँ बढी बचत गर्छन्। छोटो दूरीका यात्रुहरुको रोजाइ पनि अटो नै हुने र आम्दानी पनि मेहनत अनुसारको भइरहेको महतले बताए। महतले सहयोग निकायसँगको सहकार्यमा अटो किनेको भए पनि यहाँका अरु युवाहरुको आकर्षण पनि अटोरिक्सामा देखिन्छ।

अटोरिक्सा चलाउने सबैजसोको मासिक आम्दानी २० हजार रुपैयाँ बढी हुने गरेको छ। अहिले भने महत जस्तै उनकै गाउँले पारस गिरी पनि अटोरिक्साका मालिक हुन्।     

मार्तडीदेखि साँफेबगरसम्मको ५७ किलोमिटर सडक उकालो आरालो छैन। अटोका लागि उपयुक्त सडक छ, त्यसैले किन्न हैसला बढेको अटो चालकहरुले बताउने गरेका छन्। अटो चलाउनेहरु अधिकांश युवाहरु नै छन्। किन्न पनि सस्तो, चलाउन सहज र यात्रुहरुको आकर्षण पनि अटोमै भएपछि हौसला बढेको गिरीले बताए।     

अहिले जिल्लामा तीन वटा अटो रिक्सा आइसकेका छन्। छोटो दूरीको यात्राका लागि जोडी मिलाएर घुम्न जाने युवाहरुकोे रोजाइ पनि अटोरिक्सा नै बनेको छ। यात्रुको सहजताका लागि भन्दा युवाहरुलाई स्वरोजगार बन्न अटोरिक्सा सजिलो माध्यम बनेको छ। युवाहरुकै समूहले अटोरिक्सा चालकहरुको समितिसमेत निर्माण गर्ने तयारी गरेका छन्।     

२ सय ५० जनालाई तालीम     
युवा सशक्तिकरण परियोजनाले मात्र जिल्लामा २ सय ५० बढी युवालाई सीपमूलक तालीम दिइसकेको छ। घरेलु तथा साना उद्योग विकास समिति र सम्बन्धित स्थानीय तहसँग मिलेर तालीम सञ्चालन गर्ने गरिएको छ। गरीबी र विपन्नताका कारण उच्च शिक्षा आर्जन गर्नबाट वञ्चित १८ देखि २२ वर्ष उमेर समूहका युवालाई पिसविनले स्वरोगजार बनाउन तालीम दिने गरेको छ। अटो रिक्सा उदाहरण मात्र हो।     

तालीम लिएकामध्ये ८४ प्रतिशतले आफ्नै उद्यम चलाएर बसेको तथ्याङ्क छ। भारतका मुम्बईमा कुकको काम गर्नेदेखि मलेशियामा वाइरिङको काम तालीम लिएकैहरुले तालीम दिइरहेको पिसविन परियोजना संयोजक धर्मबहादुर रोकायाको भनाइ छ। जिल्लास्तरमा पनि सस बनाउनेदेखि कुखुरापालन, सिलाइकटाइ तथा मोबाइल, घडी मर्मत गर्ने अधिकांश उद्यमी

सीपमूलक तालीम लिएकै युवाहरु मध्ये छन्। स्वरोजगार बन्न तालीमपछि सजिलो भएको युवाहरुको भनाइ छ। रासस

प्रकाशित: ५ आश्विन २०७६ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App