१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगन र बलेनीमा सुत्न बाध्य गोरखा कारागारका कैदीबन्दी

कारागार शाखा गोरखाको कार्यालय र कारागार

गोरखा - मुस्किलले ५५ जना अट्ने गोरखा कारागारमा एक सयभन्दा बढी कैदीबन्दी बस्दै आएका छन्। क्षमताभन्दा धेरै राख्नुपर्दा कैदीबन्दीले जेलभित्र कष्टकर दिन बिताइरहेका छन्। कारागारको साँघुरो ओतलाग्ने घरभित्र सबै अट्न नसक्ने भए पनि बाध्यताले सबैलाई त्यही राखिएको छ। ‘बाहिर आगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परे भिज्दै सुत्नु बाहेक विकल्प छैन’ नाइके गोपाल बरामले भने ‘धमिलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँइमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन्।’ ४५ पुरुष अट्ने ठाउँमा एक सय जना छन् भने महिला १० जना छन्।

केहिदिन यता लगातार झरी परेपछि कारागार शाखाका कैदीबन्दीलाई रुघाखोकी लाग्ने, ज्वरो आउने भएको छ। ‘पिउने पानी धमिलो छ, एउटा धारा छ, त्यहाँ यस्तै पानी आउँछ, त्यही खानुको विकल्प छैन’ रुघाखोकीबाट ग्रसित सुवास कुँवरले भने। चिसोले सताएपछि र सफा पानी पिउन नपाएकै कारण जमुना तामाङ पनि बिरामी छिन्। कारागार शाखा भित्रै प्राथमिक उपचार गराएर उनीहरु औषधि सेवन गरिरहेका छन्। ‘साँघुरो ठाउँ, धेरै जना बस्दा ब्यवस्थापनमामा समस्या भएको छ’ कारागार शाखा गोरखाका विष्णु थापा (बस्नेत) ले भनिन्।

कारागार शाखाको वाईरिङ भत्किएको छ। कारागारसम्म एम्बुलेन्स नपु्ग्ने हुँदा बिरामीलाई गोरखा अस्पताल सम्म ल्याउन÷लैजान सास्ती भोग्नुपरेको छ। ‘कारागार भित्र कुनै सिप सिकाएर ब्यवशायिक बनाउने योजना, चाहना भएरपनि ठाउँ अभावले सकिएको छैन’ थापाले भनिन्। अहिले केही कैदीबन्दीले मुडा बनाउने बाहेक अन्य काम गर्दैनन्। साँघुरो ठाउँ भएकाले काम गर्न समस्या भएको गुनासो उनीहरुको छ।

जिर्ण संरचना र मक्किएको घेराबार भएकाले सुरक्षा दिन समेत गाह«ो भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए। ‘जनशक्ति कम छ, त्यसमाथि पनि कारागार कमजोर छ, सुरक्षा दिन सक्ने अवस्था छैन’ एसपी अधिकारीले भने। गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले कारागार शाखामा दरबन्दी अनुसार कर्मचारी नहुनु र कैदीबन्दी धेरै हुनु अर्को चुनौती रहेको बताए।

गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिले गण्डकी प्रदेशको बिभिन्न जिल्लाको कारागार अनुगमन गर्ने क्रममा गोरखाको पनि गरेको थियो। अनुगमनपछि आयोजित छलफल कार्यक्रममा  नयाँ कारागार छिटो र सुविधा सम्पन्न निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिए। अहिले भएका कारागार काम चलाउ मात्रै रहेको भन्दै अब बनाउँदा कैदीबन्दीलाई सिप सिक्ने, कसुर अनुसार छुट्टाछुट्टै राख्ने ब्यवस्था गर्नुपर्नेमा सांसद मनकुमारी गुरुङले जोड दिइन। प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले सरकारले कैदीबन्दीलाई दिने सेवा सुविधा कम भएको बताउँदै भने ‘अहिले तत्काल सुधार गर्न सक्ने जती स्थानीय तह र प्रदेश संघ मिलेर गर्नुपर्छ।’ सुविधा सम्पन्न र स्तरीय बनाउन समय लाग्ने भएकाले तुरुन्त र अत्यावस्यक सुधारको काम धेरै रहेको बताए।

कारागार शाखा गोरखाको नयाँ भवन निर्माण हुँदैछ। ११ रोपनी जग्गामा निर्माण गर्ने योजना अनुसार माटो जाँच भएको एक वर्ष बित्यो। तर अहिले सम्म ठेक्का प्रक्रिया सुरु भने भएको छैन। राष्ट्रिय पुन निर्माण प्राधिकरणले निर्माण गर्न लागेको कारागारको स्टमेट तयार हुँदै गरेको जिल्ला ईकाइका प्रमुख सुनिता श्रेष्ठले बताइन। सरोकारवालाहरुले अब बन्ने कारागारको डिजाइन गर्दा सुरक्षा प्रमुख, अधिकारकर्मी र सरोकारवालासँग छलफल गरेर मात्रै बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित: ५ आश्विन २०७६ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App