१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लघुवित्तमा साढे १६ हजारलाई रोजगारी

जिपी भण्डारी
काठमाडौं- धनगढी स्थायी घर भई हाल नयाँबानेश्वर बस्ने जनकराज पाठकले गत वर्ष अधिकृत श्रेणीका लागि लघुवित्त वित्तीय संस्थामा निवेदन दिएका थिए । लिखीत परिक्षामा उत्तीर्ण भए पनि मौखिकमा उनले सफलता हात पार्न सकेनन् ।

एभरेस्ट कलेजबाट स्नातक तह पास गरेका पाठक यतिबेला पुनः परीक्षाको तयारीमा जुटेका छन् । हितैषीले लघुवित्तमा काम गर्न सुरु गरिसकेको बताउँदै उनले भने, ‘यो वर्ष कुनै न कुनै लघुवित्त वित्तीय संस्थामा नाम निकाल्छु ।’

लघुवित्त वित्तीय संस्थाले स–सानो पुँजी परिचालन गर्नै भए पनि सेवा सुविधा भने अन्य बैंक, वित्त कम्पनी सहर दिने भएकाले लघुवित्त संस्थामा काम गर्ने अठोट लिएको उनले बताए ।

नेपाल राष्ट्र बैंक लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठका अनुसार लघुवित्त कम्पनीमा गत आव ०७५/७६ चैत मसान्तसम्म १६ हजार सात सय ८५ जनाले रोजगारी पाएका छन् ।

राष्ट्र बैंकको एक तथ्यांक अनुसार गत आवको सो अवधिसम्म निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा एक हजार ८० जनाले रोजगारी पाएका छन् । मुलुकको जेठो लघुवित्त संस्था निर्धनले सबैभन्दा बढी रोजगारी सिर्जना गरेको छ ।

दोस्रो बढी रोजगारी सिर्जना गर्नेमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था छ । यसले नौ सय १७ जनालाई रोजगारी दिएको छ । ग्रामीण विकास बैंकका पाँचवटा क्षेत्रीय कार्यालयहरु एक आपसमा गाभिई यो संस्था जन्मिएको हो ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सात सय ४४ जनालाई रोजगारी दिई तेस्रो स्थानमा छ । गैरसरकारी संस्था (एनजीओ)बाट लघुवित्त सेवा सुरु गरेको यो २०७० सालमा लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएको थियो ।

त्यसैगरी, ६ सय ४५ जनालाई रोजगारी दिई छिमेक लघुवित्त वित्तीय संस्था चौथो स्थानमा छ । पाँचौं स्थानको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ६ सय ६० जनालाई रोजागरी दिएको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले सो अवधिसम्ममा पाँच सय ८१ जनालाई रोजगारी दिई छैटौं स्थानमा छ । सातौं स्थानको डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा पाँच सय ५८ जना कार्यरत छन् । राष्ट्र बैंकका अनुसार आठौं स्थानमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थामा पाँच सय ४० जना आवद्ध छन् ।

नवौं स्थानमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्थाले चार सय ३८ जनालाई रोजगारी दिएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले तीन सय ६९ जनालाई रोजागरी दिई दसौं स्थानमा छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा कम रोजगारी दिनेमा घरेलु लघुवित्त वित्तीय संस्था छ । यसले जम्मा चारजनालाई रोजगारी दिएको छ ।

आकर्षक तलब, सुविधा पाउने भएकाले लघुवित्त वित्तीय संस्थामा काम गर्न युवा पुस्ताबीच कडा प्रतिस्पर्धा हुने गरेको लघुवित्त बैंकर संघका अध्यक्ष रामचन्द्र जोशीले बताए । लघुवित्त वित्तीय संस्थामा कुल कर्मचारीको ३० देखि ३५ प्रतिशत महिला रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित: ५ आश्विन २०७६ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App