१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँचखालको तरकारीमा विषादी अवशेष जाँच्न सुरु

बनेपा- कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेका तरकारी उत्पादन हुने क्षेत्रबाट आकस्मिक रुपमा संकलित नमूनामा विषादीको अवशेष जाँच्न थालेको छ ।

‘ल्याब स्थापना भएपछि पहिलोपटक हामीले पाँचखाल र केराघारी क्षेत्रबाट ताजा तरकारीका नमूना आकस्मिक रुपमा संकलन गरेर ल्याएका हौं । त्यसमा रहेको विषादीको अवेशषको मात्रा जाँचेका छौं,’ बागवानी विकास अधिकृत एवं प्रयोगशाला प्रमुख उमेश सापकोटाले भने ।

केन्द्रले दुवै ठाउँबाट गोलभेंडा, भण्टा, भिण्डी, बोडी, काँक्रो, चिचिण्डो, घिरौंला, तीतेकरेला र सिमीलगायत बालीको १५ वटा नमूना संकलन गरी परीक्षण गरेको थियो । यसअघि जाँचका लागि तरकारीको नमूना कालिमाटी पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

प्रदेशको विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ अनुसार विषादीको अवशेषलाई प्रयोगशालामा मापन गरिएको सापकोटाले जानकारी दिए, ‘संकलित नमूनाको विषादी अवशेष मापन गर्दा सम्पूर्ण नमूनामा विषादीको अवशेष सुरक्षित मापदण्डभित्रै पायौं ।

आरबिपिआर ल्याबबाट विषादीको मात्रा पत्ता लगाउँदैन, कति अवशेष छ भन्नेमात्रै पत्ता लगाउँछ । हामीले गरेको परीक्षणले पनि सबै नमूनामा रुकावटको प्रतिशत(इन्हिविसन) ३५ प्रतिशतभन्दा कम आएकोले खान योग्य मानेका छौं’, उनले थपे ।

कार्यविधिले ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी इन्हिविसन आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरेको छ ।

धुलिखेलमा स्थापना भएको प्रयोगशालामा प्रत्येक दिन आठ देखि १२ वटासम्म तरकारीलगायत ताजा कृषि उपजको नमूना विश्लेषण गर्न सक्ने क्षमता र अर्गानोफोस्फेट एवं कार्बामेट्स समूहका विषादीको मात्रै अवशेष जाँच गर्न सकिने सुविधा रहेको छ ।

‘अब जिल्लाका तरकारी पकेट क्षेत्र मानिएका नाला, पनौती, नमोबुद्ध, तेमाल, मण्डनदेउपुर, बेथानचोक क्षेत्रबाट समेत आकस्मिक रुपमा नमूना संकलन गरेर ल्याउने योजनामा छौं । यस्तै, बनेपाको तरकारी बजारहरुबाट समेत नमूना ल्याएर विषादी अवेशष परीक्षण गर्छौं,’ सापकोटाले भने ।

उपभोगका लागि तयार भएका ताजा कृषि उपजमा तोकिएको मापदण्डअनुसार विषादीको अवशेष मात्रा तत्कालै पत्ता लगाउने उद्देश्यले विषादी अवशेष नियमन प्रयोगशाला (रेपिड बायो एसे अफ पेस्टिसाइड रेजिड्यू–आरबिपिआर ल्याब) भदौ १५ गतेदेखि धुलिखेलमै सञ्चालनमा आएको हो ।

३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काभ्रेसहित प्रदेशका चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबिपिआर ल्याब स्थापना गरेको छ ।
 

प्रकाशित: ५ आश्विन २०७६ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App