१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङ – हङकङमा शनिबार भएको सरकारविरोधी प्रदर्शनका सहभागीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

लोकतन्त्रवादी प्रदर्शनकारीले राखेको सरकारविरोधी सन्देशलाई चीन समर्थित समूहले हटाएपछि शनिबारको प्रदर्शन उग्र हुँदा प्रदर्शनकारीहरुले प्रहरीलाई लक्षित गदै पेट्रोल बम प्रहार गरेका थिए।

प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले भीडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको बताएको छ। प्रहरीले निषेधित गरेको सीमारेखामा प्रदर्शनकारीले सुरुमा दुईवटा पेट्रोल बम प्रहार गरेको बताइएको छ।

सहरको तुन मुन क्षेत्रमा भेला भएका प्रदर्शनकारीमध्ये केहीले चिनियाँ झन्डामा आगोसमेत लगाएका थिए भने केहीले प्रहरीले लगाएको फलाम र काठको बार तोडेर सडक अवरुद्ध गरेका थिए।

त्यसैगरी आक्रोशित केही प्रदर्शनकारीले भने हलुका रेल ट्रान्जिट स्टेसनमा रहेका इटाँ निकालेका थिए भने केहीले ट्रयाकका छेउबाट ढुंगा उठाएका थिए। प्रदर्शनकारीमध्ये केहीले प्रहरीमाथि आगो निभाउने उपकरण उठाएर प्रहार गरेका थिए। अराजक कैयौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको बताइएको छ।

‘तुन मुनस्थित हलुका रेल टाउन सेन्टर स्टेसनमा रहेका सुविधा सम्पन्न सामग्रीमा अतिवादी प्रदर्शनकारीले फलामका रडलगायत प्रयोग गरेर क्षति पु¥याए जसका कारण ट्राफिक व्यवस्थापनसमेत असर पुग्यो,’ प्रहरीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘अतिवादी प्रदर्शनकारीले पेट्रोल बमसमेत प्रहार गरे जसका कारण प्रहरी र अन्य व्यक्तिको सुरक्षामा कडा चुनौती उत्पन्न भयो,’ विज्ञप्तिमा भनिएको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि सुरु भएको प्रदर्शनका कारण   तीन महिना भन्दा बढी अवधिदेखि हङकङमा सरकारविरोधी प्रदर्शन जारी रहेको छ।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १६ सातादेखि निरन्तर प्रदर्शन गरिरहेका छन्।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले तीन साताअघि विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्। मुख्यभूमि चीनलाई सन् १९९७ मा हस्तान्तरण गरिएको बेलायतको पूर्व उपनिवेश हङकङको वर्तमान अवस्था विशुद्ध रूपमा आफ्नो आन्तरिक मामिला भएको भन्दै बेइजिङले भने विदेशी शक्तिलाई सजग गराउँदै आएको छ।

सरकारले गत अप्रिलमा मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै विपक्षीले प्रदर्शन सुरु भएको थियो।

व्यापक प्रदर्शन र असन्तुष्टि भएपछि सो विधेयक गत जुन महिनामा स्थगन गरिएको थियो। हङकङकी प्रमुख कार्यकारी लामले विधेयक ‘मृत’ अवस्थामा रहेको बताए पनि त्यसबेला फिर्ता लिन अस्वीकार गरेकी थिइन्। तर लगातारको प्रदर्शन र तनावपछि लामले दुई साताअघि सो विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महत्वपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

क्याप्सन ः हङकङको तुन मुन क्षेत्रमा आइतबार भएको सरकारविरोधी प्रदर्शनमा अग्निनियन्त्रण उपकरण उचालेर सुरक्षाकर्मीमाथि प्रहार गर्दै एक प्रदर्शनकारी। प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेपछि प्रहरीले भीडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको बताएको छ।

 

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App