१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मासाकाड्जाको यादगार अन्तिम इनिङ

चित्तागोङ– कप्तान ह्यामिल्टन मासाकाड्जाले करियरको अन्तिम खेल यादगार बनाउने क्रममा अर्धशतक पूरा गरेसँगै जिम्बाब्वेले शुक्रबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा अफगानिस्तानमाथि ७ विकेटको जित हात पारेको छ।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य जिम्बाब्वेले तीन बलअगावै ३ विकेटको क्षतिमा पूरा गरेको थियो। मासाकाड्जाले ४२ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ७१ रन जोडेका थिए।

‘जितका साथ करियरको सुखद अन्त्य गर्नु र त्यसमा मेरो उत्कृष्ट इनिङ समावेश हुनु अझै विशेष रह्यो। टोलीले पनि उत्कृष्ट खेल्यो,’ मासाकाड्जाले भने, ‘म जिम्बाब्वेको जर्सीमा बिताएका प्रत्येक क्षण सम्झिरहनेछु।’

बंगलादेश, अफगानिस्तानसमेत सम्मिलित क्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा जिम्बाब्वेको यो पहिलो जित हो। यसअघि टोलीले बंगलादेशसँग २ र अफगानिस्तानसँगै एक हार बेहोरेको थियो।

यता अफगानिस्तानको लगातार १२ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। फाइनल खेलमा भने अफगानिस्तानले सेप्टेम्बर २४ मा बंगलादेशको सामना गर्नेछ। १८ वर्षे खेलजीवनमा पूर्णविराम लगाएका मासाकाड्जाले पहिलो विकेटका लागि ओपनर ब्रेन्डम टेलरसँग ४० र दोस्रो विकेटका लागि रेगिस चकाभासँग ७० रनको साझेदारी गरेका थिए।

चकाभाले ३२ बलमा १ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडे। नवौं ट्वान्टी–२० भिडन्तमा अफगानिस्तानमाथि जिम्बाब्वेले हात पारेको यो पहिलो जित हो। अफगानिस्तानका मुजिर उर रहमानले २ र दौतल जाद्रानले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार गरेको थियो। अफगानिस्तानका रहमउल्लाह गुर्बाजले सर्वाधिक ६१ र हाजरतुल्ला जजाईले ३१ रनको योगदान गरे।

जजाई र गुर्बाजले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै अफगानिस्तानलाई गतिलो सुरुआत दिलाएका थिए। ४७ बल खेलेका गुर्बाजले ४ चौका र ४ छक्का प्रहार गर्दा जजाईले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

जिम्बाब्वेका क्रिस एम्पोफुले  ४ ओभरमा ३० रन खर्चंदै ४ विकेट लिए। ‘हामीले उत्कृष्ट खेल्ने प्रयास गर्यो।

हामीले राम्रो सुरुआत गरे पनि त्यसलाई अन्तिमसम्म निरन्तरता दिन सकेनौं,’ अफगानिस्तानका कप्तान रासिद खानले भने, ‘हामीले यो खेलबाट धेरै पाठ सिक्यौं। यसमा भएका गल्ती बंगलदेशविरुद्ध दोहोर्याउँदौनौ।’ साकाड्जाले ४२ बलमा  ४ चौका र ५ छक्काको मद्दतमा ७१ रन जोडेका थिए ।

प्रकाशित: ५ आश्विन २०७६ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App