वीरगन्ज – कुल खान्दानभित्र परलोक भएका महिला पूर्वजको सम्झनामा मनाइने ‘जितिया’ अर्थात् ‘जीवितपुत्रिका व्रत शनिबारदेखि सुरु भएको छ। जितिया पर्व सन्तानको सुख, समृद्धि र रक्षाको कामनाका साथै परलोक भएका मातृहरूको आत्माको शान्ति र सम्मानमा महिलाहरूद्वारा मनाइने पर्व हो। यो पर्व हरेक वर्ष आश्विन शुक्ल सप्तमी र अष्टमीका दिन मधेसी र थारू महिलाले मनाउने गरेका छन्।
हिन्दु धार्मिक मान्यताअनुसार शनिबार सप्तमी तिथि ‘नाहा खाएके’ दिन हो। व्रतालुले यस पर्वको पहिलो दिन जलाशयमा स्नान गरी झिंगनी (तरोइ) को पातमा पिना र तेल चढाई भगवान् सूर्यलाई अघ्र्य अर्पण गरेर व्रतको संकल्प गर्छन्। पण्डित पुरुषोत्तम दुबेका अनुसार शाखा सन्तानलाई पूर्वज मातृहरूको आशिष मिलोस् भन्ने उद्देश्यका साथ यो पर्व मनाइन्छ। व्रतालुले नुहाउने बेलामा मातृहरूलाई अर्पण गरेको तेल आफ्ना बाबुनानीलाई लगाइदिने चलन छ।
शनिबार व्रत थालेका व्रतालु आइतबार दिनभर निर्जला उपवास बस्नेछन्। सप्तमी तिथिमा रातको अन्तिम पहरमा अष्टमीको सूर्योदयअगाडि झिसमिसेमै स्नान गरी महिलाले पूजाआजा गर्ने चलन छ।
त्यतिबेला व्रतालुले दहीचिउरा, पुरी र सक्खर आदि चोखो परिकार चढाई पूजा गरी प्रसाद खाएपछि व्रत सक्छन्। भगवान्लाई चढाइएका ती सामग्रीलाई ‘सरगही’ भनिन्छ। त्यो प्रसाद शाखा सन्तानलाई समेत खुवाउने चलन छ। ‘सरगही’ खाएर ‘दीर्घजीवी भइन्छ’ भन्ने मान्यता रहेको छ।
सप्तमीको रातको अन्तिम पहरमा सरगही खाएपछि बालबालिका झिसमिसेमै घरबाहिर निस्किएर सामूहिक रूपमा रमाउने गरेका छन्। ‘मधेसी महिलाले स्नान गरेर गम्हदी चामल (कोसाभित्रै फल्ने धान) को भात, दहीचिउरा र पुरीलगायत सात्विक परिकार खाने गर्छन् भने मांसाहारी र विशेष थारू समुदायका महिलाले माछा, मरुवा (कोदो)को रोटी र कर्मीको सागलगायत परिकार खाने गर्छन्,’ पण्डित उमाशंकर द्विवेदीले भने, ‘सोमबार व्रतालुले व्रत उद्यापनपछि अन्नजल खानेछन्।
पितृपक्षमा पुरुषद्वारा पितृ तर्पणका विधि पालना गरिराखेको समयमा सप्तमी र अष्टमीका दिन महिलाले मातृहरूलाई सम्झिँदै यो व्रत गर्ने गरेको द्विवेदीले बताए। उनका अनुसार लोकबोलीमा ‘जिउतिया’ भनिने यस व्रतलाई शास्त्र ‘षोडस मातृकाश्राद्ध पनि भनिन्छ। जितिया गर्ने महिलाले सन्तानको अकाल मृत्युउपर विजयी पाउने जनविश्वास रहेको छ।
प्रकाशित: ५ आश्विन २०७६ ०३:३७ आइतबार