१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पुस्तक फ्याउराको दौरा

भाइबहिनीहरू, ‘फ्याउराको दौरा’ शीर्षकको चित्रकथा भर्खरै बजारमा आएको छ। यसलाई कथाकार रत्न प्रजापतिले लेख्नुभएको हो। यस पुस्तकलाई डिकुरा पब्लिकेसनले प्रकाशन गरेको हो।

यो चित्रकथा निकै रमाइलो छ। कथाको मुख्य पात्र फ्याउरा हो। तैपनि कथामा पुन्टे बाँदरको मुख्य भूमिका छ। पुन्टे बाँदर एक दिन घुम्दैघुम्दै जंगलबाट निस्कन्छ। घुम्दैघुम्दै गाउँसम्म पुग्छ। त्यहाँबाट पनि घुम्दैघुम्दै सहरसम्म पुग्छ। सहरका केटाकेटीले पनि लुगा लगाएको देखेर पुन्टे बाँदर छक्क पर्छ। आफू नांगै भएकाले उसलाई लाज मर्नु हुन्छ। त्यसपछि उसले जंगलका जनावरले पनि लुगा लगाउनुपर्छ भन्ने सोच्छ। अनि जंगलमै एउटा लुगा पसल खोल्ने निधो गर्छ।

पुन्टे बाँदरले जंगलमै एउटा लुगा पसल खोल्छ। त्यो लुगा पसलको उद्घाटनमा जंगलका धेरै जनावरहरू आउँछन्। सबै जनावरले एकएक जोर लुगा किन्छन्। फ्याउराले पनि एक जोर दौरा किन्छ। ऊ दौरा लगाएर घाममा सुतिरहेको बेलामा डांग्रे मुसाले उसको दौरामा भ्वाङैभ्वाङ पारेर काटिदिन्छ।

आफूलाई मन परेर किनेको दौरामा भ्वाङैभ्वाङ परेको देखेर फ्याउरा निक्कै खिन्न हुन्छ। डांग्रे मुसासँग ऊ एकदमै रिसाउँछ। तर डांग्रे मुसा दुलोभित्र लुकेको हुँदा उसले केही गर्न सक्दैन।

फ्याउराले फेरि नयाँ दौरा किनेर लगाउँछ। त्यसपछि उसलाई सबै जनावरले ‘फ्याउरा हिरो’ भनेर बोलाउन थाल्छन्। कथाको मजा लिन एक पटक पूरै कथा पढ्नुपर्छ। यो पुस्तकले सभ्य हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ।

प्रकाशित: ४ आश्विन २०७६ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App