१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देशका राष्ट्रप्रमुखबाटै उद्घाटन गराउने योजना : मन्त्री भट्टराई

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष–२०२० को उद्घाटनका संसारभर एकैसाथ गरिने बताएका छन्। शुक्रबार पर्यटन मन्त्रालयमा सञ्चारकर्मीहरूसँग अनौपचारिक कुराकानी गर्दै भ्रमण वर्षको उद्घाटन नेपालका साथै विश्वका राष्ट्रप्रमुखलाई सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा बोलाएर एकसाथ गर्ने सरकारी योजना रहेको बताए।

मन्त्री भट्टराईका अनुसार त्यसका लागि सम्बन्धित राजदूतावासमार्फत त्यस देशका राष्ट्र प्रमुखहरूलाई निम्ता दिइनेछ। त्यसरी निम्ता दिइने सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सि चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलगायत रहेका छन्।
‘भ्रमण वर्ष–२०२० को उद्घाटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउनुपर्छ भन्दा त्यसलाई खिल्ली उडाउन खोजियो तर हामी ट्रम्प र मोदीमात्र होइन, चिनियाँ राष्ट्रपति, बेलायती प्रधानमन्त्रीलगायतलाई पनि निम्तो दिन्छौं,’ मन्त्री भट्टराईले भने, ‘ती देशका प्रमुखहरूले त्यहाँ उद्घाटन गरिदिनुभयो भने त्यसले राम्रो सन्देश दिन्छ भन्ने हाम्रो अपेक्षा छ। उहाँहरू आउनुभएन भने पनि उहाँको सरकारका कोही न कोही प्रतिनीधि त आउँछन् नै।’ मन्त्री भट्टराईले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसनका विदेशस्थित मुख्यालय–कार्यालयमा पनि भ्रमण वर्षको उद्घाटन कार्यक्रम हुने जानकारी दिए।

दक्षिण कोरियाका राष्ट्रपतिले तीनपटक नेपाल भ्रमण गरिसकेको र त्यस्ता व्यक्तिहरूले नेपालका बारेमा राजदूतावासमा आएर बोल्दा समाचार बन्ने, त्यो देशमा सकारात्मक सन्देश जाने र नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने भट्टराईको तर्क छ। उनले पर्यटन मन्त्रालय ६ महिना मन्त्रीविहीन हुँदा भ्रमण वर्ष २०२० को तयारी र काम प्रभावित भएको बताए। ‘वेबसाइटसमेत बन्न सकेको रहेनछ। अहिले म दिनहुँजसो कामको रिपोर्टिङ लिइरहेको छु,’ उनले भने।
‘गाली गर्नुस्, हानी नगर्नुस्’

मन्त्री भट्टराईले आफूले मन्त्रालय सम्हालेको एक महिना २० दिनमा केही सुधारका काम गर्न खोज्दाखोज्दै नकारात्मक समाचार बनाएर विभिन्न सञ्चारमाध्यमबाट अफवाह फैलाइएको बताए। तर आफू नकारात्मक प्रचार गर्नेहरूसँग कहिल्यै नरिसाउने बताउँदै नकारात्मक भयो भने खबरदारी गर्न पनि आग्रह गरे। ‘समाचार सकारात्मक लेख्नुस् कि नराकारात्क लेख्नुस् त्यसमा मेरो कुनै गुनासो हुँदैन। नकारात्मक समाचार लेखेर तपाईहरूसँग मेरो सम्बन्ध पनि बिग्रँदैन,’ मन्त्री भट्टराईले भने ‘मलाई व्यक्तिगत रूपमा लिनुदिनु छैन। नराम्रो गरे भने प्रधानमन्त्रीले नै हटाउनुहुनेछ। बाहिर जनमत बनाउनु नै पर्दैन।’
‘राष्ट्रपति, प्रधानमन्त्री केपी ओली र हाम्रो पार्टी अध्यक्ष प्रचण्ड तथा हाम्राविरुद्ध समाचार पनि लेख्नुस, तर यसो गरिरहँदा देशविरुद्ध नलाग्नुस्। हामी विरोध सहन बानी भइसकेका छौं। तर हाम्रो रिसले देशलाई हानी हुने काम नगरौ,’ उनले भने।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका उनले यो सरकारको सफलतासँग कम्युनिस्ट पार्टी र जनताको भविष्य गाँसिएकाले आफू व्यक्तिगत रूपमा सफल हुने भन्दा पनि सिंगो सरकार सफल बनाउनुपर्छ भन्ने मान्यतामा रहेको बताए।
निजगढ विमानस्थल बन्ने

पर्यटनमन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजनाको पनि विरोध भइरहेको भन्दै खिन्नता व्यक्त गरे। उनले निजगढ विमानस्थल ‘गेमचेन्जर’ (परिवर्तनको संवाहक) विमानस्थल भएकाले बनाएरै छाड्ने पनि बताए। ‘२५ लाख रूख काटिन्छ भन्दै विरोध गरिएको छ। विमानस्थल बन्दा दुई नम्बर प्रदेश त लाभान्वित हुन्छ नै, नेपालकै सन्दर्भमा यो गेम चेञ्जर परियोजना हो। यसको विकल्प छैन। विमानस्थल बनाउँदा देशलाई नै फाइदा हुन्छ,’ मन्त्री भट्टराईले भने। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले नेकपाको संगठन निर्माणमा पनि सघाउ पु¥याउने दाबी गरे। उनले विमानस्थलको शिलान्यास र निर्माणको क्रममा दस लाख मानिस एकैपटक परिचालन गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित: ४ आश्विन २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App