हिन्दु धर्म र राजनीति

मङ्गलबार, ०७ मङि्सर २०७३, ०८ : ४९ डा. देवीप्रसाद सुवेदी

केही दिनअघि काठमाडौँमा हिन्दु र आर्य समाजी दुवैले आ–आफ्नो सम्मेलन सम्पन्न गरे। हिन्दु धर्म सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए भने आर्य समाजीहरूको भेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले। हिन्दु सम्मेलन पशुपति, वनकाली परिसरमा भएको थियो र आर्य समाजी भेला टुँडिखेलमा। यसरी भएका ती दुवै सम्मेलनको अभिप्राय र उद्देश्य के थियो? दुवै सम्मेलनको उद्घाटन एकै दिनमा हुनु प्रायोजन थियो वा संयोगमात्र?

सिन्धु उपत्यकामा प्रवेश गर्नुअघि वर्तमान पामिर पठारमा बसोबास गर्ने एक जातिले सभ्यताको उच्चस्तर प्राप्त गरेपछि आपूmलाई उच्च जातिको अर्थमा ‘आर्य’ शब्द प्रयोग गरेको प्राग् ऐतिहासिक अध्ययनबाट थाहा हुन्छ । त्यसै जातिमध्येका केही समूह इरानी भूमितिर प्रवेश गरे भने एउटा ठूलो समूह अफगानिस्तान हुँदै सिन्धु उपत्यका (हाल यो पाकिस्तानी भूमिमा पर्छ) मा आएर बसोबास गर्न थाल्यो । सिन्धु उपत्यकाबाट भारतीय भूमितिर प्रवेश गर्नेहरूमध्येका कतिपय आर्यले आफूलाई हिन्दु भन्न थाले । यसरी आर्यजनहरू र हिन्दुहरूको पुख्र्यौली एउटै भए पनि यी दुईबीचका सांस्कृतिक गतिविधिहरू पृथक् रहँदै आएका छन् । त्यसमा पनि प्रसिद्ध भारतीय सन्त स्वामी दयानन्द सरस्वतीले भारतमा आर्य समाज स्थापना गरेर यसका गतिविधिहरूमा तीव्रता दिएपछि आर्य समाजीहरूले आफ्नो बेग्लै सम्प्रदायका रूपमा त्यसलाई विकसित गरेको पाइन्छ र त्यसको प्रभावमा परेर शुक्रराज शास्त्री (शहीद) आदिले राणाकालमै उक्त आर्य समाजी संस्थालाई गतिशीलता दिएको बुझिन्छ ।

वस्तुतः ‘हिन्दु’ शब्दको प्रयोगभन्दा ‘आर्य’ शब्दको प्रयोग पुरानो हो । सिन्धु सभ्यताको पतनपछि भारतीय भूमिमा प्रवेश गरेका आर्यहरूले पछि आएर हिन्दु शब्द प्रयोग गरी हिन्दुहरूको बसोबास भएको भूमिका नाममा यसलाई हिन्दुस्थान भन्ने गरेका हुन् । यसैले हिन्दु वा आर्यहरूद्वारा पूजित प्राचीन ऋषि–महर्षिहरू र तिनीहरूद्वारा रचित वेद, उपनिषद्, रामायण, महाभारत आदि ग्रन्थले ‘हिन्दु’ शब्दको खासै प्रयोग गरेको पाइँदैन । ‘आर्य’ शब्द पनि एक प्राचीन सभ्य जातिका अर्थमा त प्रयोग भयो तर त्यसको प्रयोग पछिल्ला संस्कृत साहित्यिक ग्रन्थहरूले आपूmभन्दा मान्य व्यक्तिहरूले प्रयोग गरिने शब्दका रूपमा सीमित राखे । भारतीय इतिहासको मध्यकालयता आएर ‘हिन्दु’ शब्दको प्रचलन बढी हुन थाल्यो र यस शब्दलाई धार्मिक रूप दिइयो । अनिआर्य शब्दको प्रयोग खुम्चिँदै गयो र हिन्दु शब्द बढी प्रचारित हुँदै पछि आएर यसलाई राजनीतिक रूप दिइयो । फलतः हिन्दु र मुस्लिमका बीचको कटुता बढ्दै गई क्राइस्ट धर्मका पक्षपातीहरूले हिन्दुस्थान र पाकिस्तान नामले दुई राज्य टुक्र्याउने रणनीतिमा सफलता प्राप्त गरिछाडे । त्यसको दीर्घकालीन प्रभाव एसियाका यी दुई मुलुक र तिनका प्रभाव क्षेत्रभित्रका नेपाल, बङ्गलादेश आदि देशमा पनि पर्न गयो । जुन अद्यापि कायमै छ ।

धर्म राजनीति हुन सक्दैन । धर्म जीवनशैली वा जीवनपद्धति हो तर राजनीति राज्यव्यवस्था सञ्चालन गर्ने मुख्य नीति वा पद्धति हो । तर विश्वमा धर्मलाई नै राजनीति मान्दा प्राचीनकालदेखि अहिलेसम्म ठूला–ठूला युद्ध हुँदै आएका छन् र अहिले पनि त्यो सङ्कट विश्वसामु छँदैछ । यदि राजनीतिलाई धर्मसँग छुट्याएर व्यवहार गर्ने हो भने संसारमा मानव जातिबीचको कटुता अधिकांशरूपमा साम्य हुन्छ । कुनै व्यक्ति धर्मलाई संस्कृति वा आफ्नो जीवनशैलीका रूपमा लिन्छ र त्यसलाई राज्यसत्ता हत्याउने साधनका रूपमा लिँदैन भने त्यस अवस्थामा क्राइस्ट, कृष्ण, बुद्ध, मुहमद एकै ठाउँमा आउँछन् र विश्वका मानिसको मनबाट भय, शङ्का, हिंसा, क्रोध आदि पीडा अन्त्य भएर जान्छन् ।

नेपालको राणाशासन एक हदसम्म धर्मभीरुतामा चलेको थियो । ब्रह्मज्ञान (जीवनको सबभन्दा उच्चतम ज्ञान) प्राप्त मानिसका अर्थमा नभएर एउटा जातविशेषलाई ब्राह्मणका अर्थमा बुझेका राणा शासकले ब्राह्मण जातिका टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड दिएनन् । तर भगवद्गीताको मर्म बुझेका र त्यसको प्रवचन दिने आर्य समाजी शुक्रराज शास्त्री मृत्युदण्डका भागी बने । ‘भगवद्गीता’ यस्तो रचना हो जसले जात–जातिका आधारमा कसैलाई उच्च र नीचका अर्थमा परिभाषित गर्दैनन् । यसले विद्यावान् र नम्रतायुक्त ब्राह्मण, गाई, हात्ती, कुकुर र कुकुरको मांसभोजी चाण्डाल सबैमा समदृष्टि राख्ने ज्ञान दिन्छ । गीताको ज्ञान राम्ररी बुझेका शुक्रराज शास्त्रीले धर्म वा आर्य समाजी ज्ञानलाई जनचेतना पैmलाउने माध्यमका रूपमा मात्र बुझे र नेपाल प्रज्ञा परिषद्लाई धार्मिकरूपमा भन्दा राणा शासनविरुद्ध प्रजाको शासन स्थापना गर्ने माध्यमका रूपमा लिए ।

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले यस मुलुकलाई ‘असली हिन्दुस्थाना’ नाम दिए । यही ‘हिन्दुस्थाना’ को शब्दशैयामा उनीपछिका शासक (शाह हुन् वा राणा) सबैले ढलीमली गरे । अहिले नेपालमा राजतन्त्र समाप्त भएपछिका दिनहरूमा आउँदा यहाँका कतिपय राजनीतिक पार्टी, तिनका समूह वा नेताहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने विषयको नाराबाजी र भाषण ओकलिरहेका छन् । २०६३ सालको जनआन्दोलनको विषय नरहेको धर्म निरपेक्षतालाई बाह्य धार्मिक–राजनीतिक शक्तिको प्रभाव वा दबाबमा आएर नेपाललाई धर्म निरपेक्ष भनी संविधानमा उल्लेख गरिनुको पछाडि ठूलै षड्यन्त्र रहेको कुरा अहिले व्यापक चर्चाको विषय बनिरहेको छ । र, यसबाट असन्तुष्ट ठूलो जनसमूहलाई आकर्षण गर्न सत्तामुखी राजनीतिक पार्टी र तिनका नेता/उपनेता धर्मलाई राजनीतीकरण गर्ने चेष्टा गरिरहेका छन् र धर्मको वास्तविक मर्म नबुझेका अन्धविश्वासी धर्मभीरुहरूको मत बटुलेर निर्वाचनलाई आफ्नो अनुकूल बनाउने धन्दामा लागेका छन् । यसमा सानातिनादेखि ठूलासम्मका दक्षिणपन्थी अवसरवादी पार्टी र तिनका समूहदेखि नेता/कार्यकर्तासमेत राजनीतिका नाममा जनतालाई भ्रमित तुल्याउने छलनीतिमा लागेका छन्।

हिन्दु हुन् वा आर्य समाजी वा अन्य धार्मिक सम्प्रदाय हुन्, सबैको मुख्य ज्ञानस्रोत र प्रेरणास्रोत वेद–उपनिषद्हरूको सार रहेको भगवद्गीता नै हो । ‘भगवद्गीता’ भन्छ ः ‘मानिसभित्रै उसको अस्तित्वलाई नाश गर्ने नरकरूपी प्रवेशद्वार तीनवटा छन् ः काम (विषयभोग), क्रोध र लोभ । यसैले यी तीन कुरालाई छाड्नुपर्छ।’

स्वर्ग वा नरक बाह्य अदृश्य जगत् होइन। यो संसार मानिसभित्रै छ भन्ने ज्ञान गीताले दिन्छ । तर हिन्दु धर्मको नाममा राजनीति गर्नेहरू ती पूर्व राजा हुन् वा राजनीतिक पाटीका नेता÷कार्यकर्ता हुन्, सबैले राजनीतिको माध्यमबाट काम, क्रोध, लोभलाई प्रश्रय दिइरहेका छन् र आफै त्यसमा चुर्लुम्म डुबेका छन्। नेपालमा भएका हत्या, हिंसा, सामाजिक, अपराध, भ्रष्टाचार आदिमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा संलग्न पार्टी र तिनका नेता–कार्यकर्ताकै कुत्सित मनोवृत्तिका कारण मुलुक अधोगतितिर झन्–झन् धकेलिँदैछ। यस स्थितिमा हिन्दु धर्म वा कुनै धार्मिक आवरण ओडेर राजनीति गर्नु मुलुकका लागि ठूलो धोका हुनेछ। वास्तविकरूपमा ‘हिन्दु’ धर्मद्वारा राजनीति गर्ने हो भने पार्टीको नेतृत्व र तिनका आसेपासेहरूले आफ्नो आचरणलाई वास्तविक हिन्दु पद्धतिकै अनुकूल सुधार गरून्। यसले मात्र देशलाई माथि उठाउनेछ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad