१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मौसम देखाएर तरकारीको मूल्यवृद्धि

काठमाडौं – एक हप्ता अगाडिसम्म स्थिर रहेको तरकारीको भाउ फेरि उकालो लागेको छ। लगातारको झरीले आपूर्ति असहज भएको भन्दै तरकारीको भाउ बढाइएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक अधिक माग हुने कतिपय ताजा तरकारीको मूल्य दोब्बर भएको छ। अधिकांशको मूल्य ५० प्रतिशतभन्दा माथि छ। गत हप्तासम्म प्रतिकिलो ५५ रहेको बोडीको मूल्य एक सय पाँच पुगेको छ। त्यस्तै, सिमी ७५ बाट एक सय २५, करेला ५५ बाट ९५, खुसार्नी ७५ बाट एक सय ५५ पुगेको छ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना मौसमको बहाना बनाएर जथाभावी मूल्य बढाएको बताउँछन्। ‘एक हप्ताको फरकमा हरियो तरकारीमा शतप्रतिशत मूल्य बढेको छ। आलु, प्याजको मूल्य उस्तै छ,’ तिमिल्सिनाले भने, ‘बिचौलियाले एक न एक बहाना पारेर मूल्य बढाएका हुन्छन्। किसानले मूल्य पाएका हुन्नन्।’

उनले सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको आरोप लगाए। उनले यो मूल्य बिक्रेता र बिचौलिया तहबाट बढेको र किसानले मूल्य बढाउन खोज्दा तरकारी नै नउठाएको पाइएको बताए।

‘उपभोक्ताको दैनिक आवश्यकताको कुरासँग जोडिएको कुरामा सरकारी अनुगमन हुनुपर्ने थियो,’ तिमिल्सिनाले भने, ‘तर यस्ता कुराको अनुगमन भएकै छैन।’ उनले अहिले झरीको कारण देखाएर महँगो बनाएको र अरु कुनै कारण देखाएर उपभोक्ताको दसैं महँगो बनाउन बिचौलिया लागेको बताए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन जनशक्तिलाई कारण देखाउँछन्। ‘अहिले हामीले धेरैतिर अनुगमन गर्नु छ। पर्याप्त जनशक्ति नभएर गाह्रो भएको छ,’ गौचनले भने, ‘अब लगत्तै यसको अनुगमनलाई पनि प्राथमिकतामा पार्छौं।’ उनले पर्वको नजिक विभिन्न पक्षले चलखेल गर्ने स्वीकारे। उनले भने, ‘उपभोक्ता सचेत भइसकेकोले यस्ता कुराको जानकारी हामीसम्म ल्याउनु पनि पर्यो।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति भने बिचौलियाको कारण मूल्य बढेको मान्न तयार छैन। ‘धेरै तरकारीको उत्पादन अफ सिजन भएको कारण मूल्य बढेको हो। केही भारतबाट आउने तरकारीको मूल्य बढेरै आएको छ,’ समितिका सूचना अधिकरी विनय श्रेष्ठले भने। उनले केही दिनयता मौसमका कारण ढुवानीमा समस्या भएकाले पनि महँगो भएको बताए।

‘धेरै तरकारीको आयात मागका तुलनामा कम छ,’ उनले भने। श्रेष्ठका अनुसार एक साता अगाडिसम्म दैनिक नौ सय टन तरकारी भित्रिएकोमा अहिले ६ सय टनमात्र भित्रिरहेको छ। ‘कति तरकारीको सिजन नै भए पनि उत्पादन विस्तारै घट्दै गएको छ। मौसम कै कारण कतिपय तरकारी कुहिन्छ।’

सूचना अधिकारी श्रेष्ठ होलसेल व्यापारीभन्दा पनि मौसमको कारण देखाएर खुद्रा व्यापारीले मूल्य बढाएको बताउँछन्। उनले ताजा तरकारीको भाउ कृषकस्तरबाटै बढाइएको र भारतबाट आयात गरिने तरकारी अत्यधिक महँगो भएको दाबी गर्छन्। ‘भारतमा उत्पादन घटेकाले निर्यातमा कडाइ गर्न निर्यात शुल्क व्यापक बढाइएको छ,’ श्रेष्ठले भने, ‘अहिलेसम्म पुरानै प्रक्रियाबाट तरकारी भित्रिएको कारण केही सहज छ। बढेको मूल्यमा आए उपभोक्ताले किन्न नसक्ने अवस्था आउँछ।’ उनले भारतमा सहज वातावरण नबन्दासम्म त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने बताए।

प्रकाशित: ३ आश्विन २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App