१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१८ विधेयक पारित गर्दै बर्खे अधिवेशन अन्त्य

काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रियसभाबाट १८ विधेयक पारित गरेसँगै संसद्को बजेट अधिवेशन अन्त्य भएको छ। दुवै सदनमा दोस्रो, तेस्रो र चौंथो अधिवेशनमा दर्ता भएका ४८ विधेयक मध्ये १८ विधेयक पारित भएका हुन्। यी विधेयक पारित भएसँगै अब प्रतिनिधिसभामा २३ विधेयक र राष्ट्रियसभामा ६ विधेयक पारित गर्न बाँकी रहेको छ। यस अधिवेशनमा मात्रै १७ विधेयक संसद्मा दर्ता भएका थिए।

तीमध्ये चालु अधिवेशनका मात्रै ७ विधेयक पारित भएका छन् भने दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १९ विधेयकमध्ये ८ विधेयक पारित भएका छन्। यसबाहेक अन्य तीन विधेयक पारित भएसँगै कुल १८ विधेयक पारित भएका छन्। नागरिकता विधेयक र संघीय निजामती विधेयक यस अधिवेशनमा पारित गर्नेगरी राज्य व्यवस्था समितिमा छलफल भए पनि सहमति हुन नसक्दा संसदमा आउन सकेनन्।

पारित भएका विधेयकमध्ये औद्योगिक व्यवसाय विधेयक, विज्ञापन (नियमन गर्ने विधेयक), सेफगार्डस् एन्टिडम्पिङ तथा काउन्टरभेलिङ् विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, वातावरण संरक्षण विधेयक, भूमिसम्बन्धी आठौं संशोधन विधेयक, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, वन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, भू–उपयोग विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित भएका हुन्।

राष्ट्रपतिबाट सन्देश सहित फिर्ता आएको राहदानी विधेयक पनि पारित भएको छ। दोस्रो र तेस्रो अधिवेशनमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधि सभाबाट पारित भई राष्ट्रियसभामा पठाइ सकिएको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइ सकिएको छ।

संसद्मा दर्ता मात्र रहेका विधेयकमा शान्ति सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रूततर निर्माण तथा विकास सम्बन्धि विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, राष्ट्रिय मानव अधिकार आयोग(पहिलो संशोधन) विधेयक रहेका छन्। राष्ट्रिय सुरक्षा परिषद् र मानवअधिकार आयोग विधेयक विवादित विधेयक हुन्। यस अधिवेशनमा गत साउन ८ गते मिनेन्द्रप्रसाद रिजाल प्रस्तावक रहेको भएको अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरि एकसयभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेकाले विषेश प्रस्ताव पारित गरिएको थियो।

यसैविच समितिमा विचाराधिन रहेका विधेयकमा बिमा विधेयक, नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक, पारमाणविक विधेयक, संघीय निजामती सेवा विधेयक, सूचना प्रविधि सम्बन्धि विधेयक, राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) प्रथम संशोधन विधेयक, औद्योगिक व्यवसाय विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, प्रमाण (दोस्रो संशोधन) विधेयक, लोकसेवा आयोग विधेयक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक रहेका छन्।

गत वैशाख १६ गतेदेखि सुरु भएको चालु अधिवेशन बिहीबार अन्त्य भएको छ। कुल १४४ दिन चालु रहेको यो अधिवेशन ६० दिनमा ६५ पटक बैठक बसेको छ। जम्मा १९३ घण्टा ४० मिनेट ससंदीय काम कारबाहीमा व्यतित भएको छ। साथै यही अधिवेशनमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठक २ पटक बसी ४ घण्टा ५ मिनेट समय व्यतित गरेको छ।

प्रकाशित: ३ आश्विन २०७६ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App