१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

चीनमा व्यापार युद्धको असर

चीन र अमेरिकाबीच व्यापार युद्ध सुरु भएको डेढ वर्ष हुन लागेको छ। उक्त युद्ध सुरु भएपछि विश्वले निकै ठूलो क्षति बेहोरिसकेको छ। प्रत्यक्ष÷अप्रत्यक्ष विश्वको आर्थिक वृद्धिदरमै धक्का लागिसकेकाले यो युद्ध चाँडै अन्त्य होस् भन्ने सबैको कामना छ। व्यापार युद्धले अरूलाई त सताएको भने उक्त युद्धमा प्रत्यक्ष सहभागी चीन र अमेरिकालाई यसको असर बढी पर्नु स्वाभाविकै हो।

चीनका राष्ट्रपति सी चिनफिङको ‘चीन अहिले अत्यन्त कठिन अवस्थामा छ’ भनाइबाट पनि चीनलाई परेको प्रभाव स्पष्ट हुन्छ। व्यापार युद्धबाट कसैलाई पनि फाइदा गर्दैन, बरु दुवै पक्षलाई हानि पु-याउँछ भन्ने कुरा चीनले बारम्बार दोहो¥याइरहेको छ। अमेरिकासँग भएका १२ चरणका वार्तामा चीनले सहमतिका लागि निकै लचकता अपनाएको छ। व्यापार संरक्षणवाद र एकपक्षीय विचारका कारण अमेरिकाले अन्तर्राष्ट्रिय समाजबाट सर्वत्र निन्दा पाउँदै छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले आगामी अक्टोबरको सुरुमा वासिङटनमा आयोजना हुने चीन–अमेरिका तेह्रौं चरणको व्यापार वार्ताले ठोस व्यवस्थापन गर्ने आशा लिइएको बताएका छन्।

अमेरिकी गतिविधि विवाद समाधान गर्नभन्दा अझै उछाल्ने किसिमको देखिएको छ। यही सेप्टेम्बर १ तारिख अमेरिकाले चीनबाट निर्यात हुने ३ खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमध्ये पहिलो खेपका सामानमा थप १५ प्रतिशत भन्सार कर लगायो। त्यसको भोलिपल्ट चीनले विश्व व्यापार संगठनमा विवाद निरुपण प्रणालीका आधारमा अमेरिकाविरुद्ध उजुरी दियो। चीनको वाणिज्य मन्त्रालयले जनाएअनुसार भन्सार कर थप गर्ने अमेरिकी गतिविधि र चीन तथा अमेरिकाका शीर्ष नेताबीच भएको सहमतिविपरीत भन्सार कर बढाइएकाले विश्व व्यापार संगठनको आबद्धता नियमबमोजिम आफ्नो वैधानिक हित, बहुपक्षीय व्यापारिक प्रणाली र अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थाको दृढतासाथ संरक्षण गर्न अमेरिकाविरुद्ध उजुरी दिइएको हो।

व्यापार युद्ध जारी रहे पनि अमेरिकाले चीनको विकास र व्यापार वृद्धि रोक्न नसक्ने देखिएको छ।

अमेरिकाले भन्सार कर वृद्धि गरिरहेको सन्दर्भमा चीनले भने केही अमेरिकी सामग्रीमा बढाएको भन्सार कर हटाएर सदासयता देखाएको छ। चिनियाँ राज्य परिषद्को भन्सार कर निर्धारण समितिले सेप्टेम्बर ११ तारिख अमेरिकी सामानमा थपिएको भन्सार कर पहिलो चरणका सामानमध्ये केहीमा हटाउने पहिलो सूची सार्वजनिक गरेको हो। यो सूची सन् २०१९ सेप्टेम्बर १७ तारिखदेखि लागू भएको छ। सूचीको पहिलो भागमा समावेश सामानमा यसअगाडि असुलेको थप भन्सार कर चीनले फिर्ता दिने घोषणा गरेको छ। कर फिर्ता लिन सम्बद्ध व्यवसायीले उक्त सूची सार्वजनिक भएको ६ महिनाभित्र आवेदन दिनुपर्नेछ। सूचीको दोस्रो भागमा समेटिएका सामानमा थप कर असुल्न चीनले बन्द गरेको छ, तर असुलेको कर भने फिर्ता नहुने जनाएको छ।

चीनबाट अमेरिका निर्यात हुने अधिकांश सामग्री अमेरिकी कम्पनीले उत्पादन गरेका हुन्। अमेरिकाले भन्सार कर बढाएपछि सबैभन्दा ठूलो मार चीनमा व्यवसाय गरिरहेका अमेरिकीहरूलाई परेको छ। ती व्यवसायीले ट्रम्प प्रशासनलाई भन्सार कर नबढाउन दबाब पनि दिइरहेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुलाई निरुत्साहन गर्न र चीनको विकास रोक्न गत अप्रिल २३ तारिख ट्विटरमा अमेरिकी व्यवसायीलाई तुरुन्त चीनको सट्टा अन्य उपयुक्त मुलुक छनोट गर्न आदेश दिएका थिए। तर उनीहरूलाई लोभलाग्दो चिनियाँ बजार छाडेर आफ्ना उद्योगधन्दा अन्यत्र सार्न अप्ठेरो मात्र छैन, खतरापूर्ण पनि छ। अमेरिका–चीन व्यापार राष्ट्रिय परिषद्ले गरेको सर्वेक्षणअनुसार चीनमा सञ्चालित अधिकांश अमेरिकी व्यवसायले लक्षित लाभ प्राप्त गरेका छन्। त्यसकारण चीन अमेरिकी व्यवसायका लागि लगानीको उपयुक्त बजार हो।

चीनको जनसंख्या १ अर्ब ४० करोड छ। तीमध्ये ४० करोडभन्दा बढी उपभोक्ता मझौला आम्दानी गर्ने वर्गमा पर्छन्। चीनलाई विश्व कारखाना पनि भनिन्छ। यति ठूलो बजार र दिनदिनै बढ्दै गएको चिनियाँ उपभोक्ताको क्रयशक्तिले चिनियाँ बजारमा सबैका आँखा गढेका छन्। ट्रम्पको आदेशविपरीत अमेरिकी राष्ट्रिय खुद्रा व्यवसाय संघले चीन विश्वको दोस्रो ठूलो आर्थिक समुदाय रहेको र यसबाट अलग हुने सम्भावना नरहेको जनाएको छ। चीन विश्वको दोस्रो सबभन्दा ठूलो उपभोक्ता बजार भएकाले धेरै विदेशी खुद्रा व्यवसायीहरूले चीनमा लगानी गर्न खोजिरहेका छन्। सबभन्दा ठूलो अमेरिकी चेन सुपरमार्केट कम्पनी कोस्टकोले अगस्ट २७ तारिख चीनको साङहाईमा शाखा खोलेको छ। अधिक चिनियाँ उपभोक्ता सो बजारमा गएकाले आसपासमा ठूलो ट्राफिक जाम भएको थियो। सुपरमार्केटको पहिलो दिनमा सबै सामान बिक्री भइसकेकाले तोकिएभन्दा पहिले नै बजार बन्द गर्नपरेको थियो।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले आगामी अक्टोबरको सुरुमा वासिङटनमा आयोजना हुने तेह्रौं चरणको चीन–अमेरिका व्यापार वार्ताले ठोस व्यवस्थापन गर्ने आशा लिइएको बताएका छन्।

अमेरिकी सेयर बजारको व्यापारिक कूल मात्रा गिर्दै गएको परिस्थितिमा कोस्टको कम्पनीको सेयर बजारको मात्रा ५ प्रतिशतले वृद्धि भएको छ। विश्वका ५ सयभन्दा बढी बलशाली व्यवसायमा रहेको जर्मनीको खाद्य कम्पनी अल्डीले गत जुन ७ तारिख साङहाईमा आफ्नो पहिलो शाखा स्थापना गरेको छ। जापानको आवाससित सम्बन्धित सबभन्दा ठूलो कम्पनी निटोरीले सन् २०३२ सम्ममा चीनमा हजारवटा शाखा खोल्ने घोषणा गरेको छ। त्यसैगरी विश्वका शक्तिशाली ५ सय कम्पनीको सूचीमा रहेको वालमार्टअन्तर्गत साम सुपरमार्केटले गत जुन २८ तारिख साङहाईमा दोस्रो शाखा खोलेको छ।

व्यापार युद्ध चालु रहेकै समयमा चीनमा विदेशी लगानी उल्लेख्य ा वृद्धि भएको छ। चीनको फुचियान प्रान्तको स्यामनमा अन्तर्राष्ट्रिय लगानी तथा व्यापार सम्मेलन आयोजना भएको थियो। सो सम्मेलनमा सेप्टेम्बर ८ तारिख बिआरआई कृषि उत्पादन तथा पुँजी बैठकमा २९ अर्ब ५० करोड अमेरिकी डलरको सम्झौता भयो। सो सम्मेलनमा राष्ट्रसंघीय व्यापार तथा विकास संगठनले विश्वको लगानी प्रतिवेदन पनि सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वको वैदेशिक प्रत्यक्ष लगानी ‘एफडिआई’ सन् २०१७ को तुलनामा १३ प्रतिशतले घटेको छ। विगत ३ वर्षमा एफडिआई निरन्तर घटिरहेको प्रतिवेदनमा औंल्याइएको छ। तर चीनले भिœयाएको वैदेशिक लगानी भने ४ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब अमेरिकी डलर पुगेको छ। वर्तमान विश्वमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई)को वृद्धिदर मन्द भइरहेको सन्दर्भमा चीनमा भने वृद्धि हुनु चाखलाग्दो विषय हो।

व्यापार युद्धकै समयमा पनि अमेरिकासँग चीनको व्यापार नाफा बढेको छ। सन् २०१९ का ८ महिनामा चीनले १८ खर्ब ८० अर्ब युआन(चिनियाँ रकम)का सामान अमेरिका निर्यात गरेको छ। यो गत वर्षको तुलनामा ३.७ प्रतिशतले घटेको हो। अमेरिकाबाट चीनले ५ खर्ब ४५ अर्ब १ करोड युआनका सामान आयात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २३.५ प्रतिशतले घटेको छ। व्यापार युद्ध तीव्र भएको समयमा पनि चीनले अमेरिकासँगको व्यापारबाट १३ खर्ब ३० अर्ब युआन नाफा गरेको छ। यो नाफा पनि अघिल्लो वर्षको भन्दा ७.७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। चीनको भन्सार ब्युरोले सेप्टेम्बर दोस्रो साता प्रकाशन गरेको तथ्यांकअनुसार सन् २०१९ का सुरुका ८ महिनामा चिनियाँ सामानको व्यापार मात्रा २०१ खर्ब ३० अर्ब युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले बढेको हो।

विश्व व्यापार संगठनले सन् २०१९ मा विश्व व्यापारमा ३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो। अमेरिकाले व्यापारमा सुरु गरेको एकपक्षीयतावाद र संरक्षणवादका कारण संगठनले उक्त वृद्धिदर घटाएर २.६ प्रतिशतमा झारेको छ। विश्वमा वैदेशिक व्यापारमा मन्दी छाइरहेको पृष्ठभूमिमा चीनको वैदेशिक व्यापारको उपलब्धिचाहिँ निकै आकर्षक छ। चिनियाँ वाणिज्यमन्त्री छ्यान ख मिङले अगस्ट २१ तारिख छिङताउमा बहुराष्ट्रिय निगमको शिखर सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनमा बताएअनुसार विश्वका पहिला ५ सय व्यवसायमध्ये ४ सय ९० ले चीनमा लगानी गरेका छन्। यसले चीनमा बढिरहेको क्रयशक्ति र उसको आर्थिक वृद्धिदरको विकसित भविष्य पुष्टि गर्छ। चीनले अँगालेको सुधार तथा खुलापनले अर्थतन्त्रको विश्वव्यापीकरण प्रवृत्तिलाई अनुकूल बनाउँदै उद्योेग र मूल्य शृंखलाको प्रतिस्पर्धामा गहिरो समन्वय गरेको पनि देखिन्छ।

उल्लिखित तथ्यहरूले चीनको विकास र व्यापार वृद्धिलाई अमेरिकाले रोक्न नसक्ने पुष्टि गरेको छ। व्यापार युद्धबाट क्षति त चीनलाई पनि भएको छ, तर त्यसको सामना गर्ने विधि र तरिकाको तयारी चीनले गरिसकेको छ।

आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।

प्रकाशित: २ आश्विन २०७६ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App