१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन वर्षमा एक सय ५१ ले गरे आत्महत्या : नवदम्पतीदेखि दुलाहासम्म

ओखलढुङ्गा- ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनी बढेको छ। विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो।     
     
चालू आर्थिक वर्ष २०७६/०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन्। साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन्। १७ जनामध्ये आठ पुरुष, एक बालक र अन्य महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुुसार १३ जनाले झुण्डिएर र चार जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन्। आव २०७५/०७६ मा ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।     
     
यो सङ्ख्या अघिल्लो आवको भन्दा बढी हो। आव २०७४/०७५ मा ४१ र आव २०७३/०७४ मा ३१ ले आत्महत्या गरेका थिए। प्रहरीको तथ्याङ्क अनुसार बर्सेनी जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ। चालू आवको दुई महीनासहित तीन आवमा १ सय ५१ ले ओखलढुङ्गामा आत्महत्या गरेका छन्। आव २०७५/०७६ मा १० वर्षीय बालकसहित ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। २८ महिला र ३४ जना पुरुषले आत्महत्या गरेको श्रेष्ठको भनाइ छ। १६ वर्षमुनिका एक बालकसहित पाँच जना बालिका छन्। १६–२५ वर्षसम्मका १७ जना, २६–३५ को ११ जना, ३६–४५ को ७ जना, ४६–६० वर्ष का १४ जना र ६० वर्ष माथिका ११ जनाले आत्महत्या गरेका छन्। ४१ जनाले झुण्डिएर, २० जनाले विष सेवन र एक जनाले खोलामा हाम फालेर आत्महत्या गरेका छन्।     
     
नवदम्पतीदेखि दुलाहासम्मले गरे आत्महत्या     
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका २२ वर्षीय नवीन परियारको खोटाङको रावाबेँसी गाउँपालिकाकी २१ वर्षीया गङ्गा परियारसँग गत जेठ २८ गते परम्परा अनुसार मागी विवाह भयो। विवाह पश्चात सम्बन्ध राम्रो थियो। दुवैका परिवार पनि खुशी थिए। विवाह गरेको करीब २० दिनपछि नवीन काठमाडौँ गए। एसइईको मौका परीक्षा दिने समयमा गङ्गाले सहयोगका लागि नवीनलाई घर बोलाइन्। काठमाडौँबाट नवीन घर आएपछि गङ्गा मौका परीक्षा दिन माइती गाउँ खोटाङको रावाबेँसी गइन्।

भदौ ४ गते आफूलाई लिन गङ्गाले नवीनलाई माइत बोलाइन्। सोही दिन श्रीमती लिन हिंडेका नवीनको मोबाइलमा रावाखोलाको जलजलेटार पुग्दा ससुरालीबाट फोन आयो। नवीनलाई लागेको थियो कहाँ आइपुगे भनेर श्रीमतीले फोन गरेको हुनुपर्छ। तर सोचे जस्तो भएन। ससुरालीबाट फोन गर्ने व्यक्तिले श्रीमती गङ्गाले झुण्डिएर आत्महत्या गरेको खबर सुनाए। घर लिन बोलाएकी श्रीमतीले आत्महत्या गरेको खबरले विक्षिप्त भएका नवीन जसोतसो ससुराली पुगे।     
     
श्रीमतीको दाहसंस्कार गरेर फर्किएका नवीनले पनि पत्नी वियोगकै पीडामा भदौ २२ गते आत्महत्या गरे। श्रीमतीले आत्महत्या गरेको १८ दिन पछि नवीनले आत्महत्या गरेका हुन्। गङ्गाले आत्महत्या गर्नुको कारण नखुले पनि नवीनले भने पत्नी वियोगको पीडाले आत्महत्या गरेको खुलेको वडाध्यक्ष कृष्ण क्याप्छाकी मगर जानकारी दिए।     
     
आत्महत्या गर्नु अघि नवीनले लेखेको ‘सुसाइड नोट’बाट उक्त कुरा पुष्टि हुन्छ। मृत्यु भइसकेकी श्रीमतीलाई सम्बोधन गरेर परियारले सुसाइड नोटमा लेखेका छन्, 'प्यारी श्रीमती, तिमी मभन्दा अगाडि गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन।' घर सल्लाहमै माइत गएकी बुहारीले उतै आत्महत्या गरेपछि छोरा नवीनले पनि आत्महत्या गरेको नवीनका बाबु सोनु दर्जीको भनाइ छ। नवीन र गङ्गा सानुका कान्छा छोरा/बुहारी थिए।     
     
गत फागुनमा मोलुङ गाउँपालिका–७ का २५ वर्षीय पासाङ शेर्पाको तीन दिनपछि विवाह गर्ने तयारी थियो। छिमेकी गाउँपालिकाकी एक युवतीसँग शेर्पाको सामान्य प्रेमपछि मागी विवाह हुने पक्का भएको थियो। आफन्त छरछिमेकीलाई विवाहको निम्तो कार्ड पासाङ आफैँले बाँडेका थिए। घरमा फेम्बर (शेर्पा समुदायको विवाहमा खाने कुरा) बनाउने मान्छे आएका थिए।     
     
विवाहको तयारी भइरहेको थियो। घरपरिवार विवाहको तयारीमा जुटेकै समयमा शेर्पाले मतानमा झुण्डिएर आत्महत्या गरे। तोकिएको विवाह गर्ने दिनभन्दा तीन दिन अघि शेर्पाले आत्महत्या गरेको वडाध्यक्ष हेम सुनुवारले बताए। शेर्पाले पारिवारिक बेमेलका कारण आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।     
     
माथि उल्लेख गरिएका केही उदाहरणीय घटना मात्र हुन्। अन्य आत्महत्याका घटना पनि अपत्यारिला जस्ता सामान्य विषयमा कुरा नमिल्दा भएको पाइन्छ।     
     
चाहना पूरा नहुँदा आत्महत्या     
मानसिक सन्तुलन ठीक नभएका, पारिवारिक बेमेल, मदिरा सेवन गरेर, रिसको आवेगमा, असफलता र नैराश्यका कारणले अधिकांशले आत्महत्या गरेको प्रहरीले जनाएको छ। यसका साथै गरीबी, अभाव, दीर्घरोग तथा इच्छा पूरा नहुँदा र आवेशमा समेत केहिले अल्पायुमा आफैँले ज्यान फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।     
     
धेरैजसो आफूले चाहेको कुरा पूरा गर्न नसकेका कारण आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। 'मान्छेले निकै ठूलो कुरा चाहना गरेको हुन्छ तर सहानुभूति पाउँदैन अनि उ मानसिकरुपमा विक्षिप्त हुन्छ र आत्महत्याको बाटो रोज्छ', प्रहरी निरीक्षक श्रेष्ठले भने, 'धेरैजसो आत्महत्याका कारण नै ठूलो चाहना र सानो प्राप्ती देखिन्छ। त्यसबाहेकका कारण थोरै छन्।'    
     
जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिका मध्ये अघिल्लो आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा १४ जना र सबैभन्दा कम लिखु गाउँपालिकामा दुई जनाले आत्महत्या गरेका छन्। यसका साथै मानेभञ्ज्याङमा १२, चम्पादेवी र खिजीदेम्बा गाउँपालिकामा ९–९, चिशंखुगढीमा ७, मोलुङमा ६ र सुनकोशी गाउँपालिकामा तीन जनाले आत्महत्या गरेका छन्। रासस

प्रकाशित: १ आश्विन २०७६ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App