१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कारको मुद्दा फिर्ता लिन मन्त्रीको दबाब

धनुषा - पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरूले दबाब दिएको पीडितपक्षले बताएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित वैशाखमा बलात्कृत भएकी बालिकाको बलात्कार मुद्दा फिर्ता लिन मेयरदेखि मन्त्रीसम्मको दबाब आएको पीडितपक्षले आरोप लगाएको हो।

वैशाख १५ गते पीडित बालिका घरमा पढिरहेको बेला घरको पछाडिको पर्खालबाट हामफाल्दै बटेश्वर गाउँपालिका–४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिका बस्दै आएका ४२ वर्षीय छिमेकी राजकुमार साहले बालिकालाई बलात्कार गरेका थिए। घटना भएदेखि नै विभिन्न प्रकारको दबाब आइरहे पनि स्थानीयको सहयोगमा पीडितपक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दार्ता गराएपछि आरोपित साह पक्राउ परेका थिए।

घटना अदालतसम्म पुगेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगी पँजियारले घटना दबाउन मुद्दा फिर्ता लिन दबाब दिँदै आएको पीडितपक्षको आरोप छ। घटनापश्चात अभियुक्तलाई प्रहरीले पक्राउ नगर्दा त्यतिबेला पनि स्थानीयले मन्त्री महासेठ र मेयर पँजियारविरुद्ध प्रदर्शनमा गरेका थिए। उनीहरू साहसँग सम्बन्ध रहेकाले घटना दबाउन खोजेको र मुद्दा फिर्ता लिन दबाब दिएको पीडितपक्षको भनाइ छ।

कहाँ पुग्यो मुद्दा ?
जिल्ला अदालत धनुषाले अभियुक्त साहलाई थुनामा रोखर पुर्पक्षका लागि पुनः थुनामा राख्न आदेश दिएको थियो। गत जेठ १० गते न्यायााधीश विनोद खतिवडाको आदेशले उनलाई पुर्पक्षका लागि जलेश्वर करागार चलान गरिएको थियो। तर प्रतिवादी साहले जिल्ला अदालतको आदेशबाट चित्त नबुझेको भन्दै थुनछेकका लागि उच्च अदालतमा निवेदन दर्ता गराए। उच्च अदालतमा भएको पहिलो सुनुवाइमा अदालतले प्रतिवादी साहलाई थुनामा राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको छ। न्यायाधीश बाबुराम रेग्मी र धु्रवराज नन्दको संयुक्त इजलासले साहलाई थुनामा राखेर मुद्दा हेर्न आदेश दिएको हो।

पछिल्लो समय न्यायालयमा समेत चलखेल भएका घटना सार्वजनिक भएको भन्दै यो घटनामा पनि प्रमाण मेटाउन चलखेल हुनसक्ने पीडित बालिकाकी बुवाको शंका छ। ‘राजकुमार पैसावाला छ, पावर पनि छ। मलाई डर छ स्वास्थ्य परीक्षण रिपोर्टमा पैसाको चलखेल गरी गडबडी गर्न सक्छ,’ उनले भने, ‘मन्त्री र मेयर लगायतका ठूला ठूला नेतासँग साहका व्यक्तिले गोप्य भेटघाट गरिरहेको छ।’

बलात्कार भएकी बालिका अझै विक्षिप्त अवस्थामै रहेकी छिन्। काठमाडौँस्थित पाटन अस्पतालमा करिब डेढ महिना लामो उपचार पश्चातसमेत उनी मानसिक रुपमा अझै पनि सबल हुन सकेकी छैनन्। निद्रामै डराएर चिच्याउने, झस्किने, बरबराउने लगायतका मानसिक समस्याले अझै पनि पीडित बालिकालाई सताइरहन्छन्। पाटन अस्पतालको बाल मानसिक रोग वार्डमा उपचारपछि उनलाई चिकित्सकले घटनास्थल नजान दिएको सल्लाह अनुसार काठमाडौँमा राखिएको हो। आर्थिक अवस्था कमजोर रहेका उनको बुवाले काठमाडौँमा सैलुनमा काम गरी जसोतसो भाडामा कोठा लिइ दुइटै छोरीलाई काठमाडौँमै राखेका छन्।

प्रकाशित: १ आश्विन २०७६ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App