१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वर्षातले सडकको बेहाल

गोरखाको फिनाम सडक खण्डमा गुडिरहेको यात्रुबाहक बस । फाईल तस्बिर

गोरखा- लगातारको वर्षातले गोरखाको ग्रामिण सडक हिलाम्मे बनेको छ। कालोपत्रे भएका बाहेक अधिकांश रुटमा सवारी चल्न सकेको छैन्। ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आएका दरौँदी यातायात प्रालिले ५० भन्दा बढि ग्रामिण रुटमा सवारी सञ्चालन गर्ने भएपनि ३० भन्दा बढिमा सवारी नचलेको जनाएको छ। शनिबारदेखि मंगलबारसम्म लगातार वर्षात भएका कारण ग्राबेल गरेका सडकमा पनि सवारी चलेको छैन्।

‘दशैँ नजिकिँदै छ, भत्किएको ग्रामिण सडक मर्मत गर्ने बेला लगातार झरी परेपछि मर्मत गर्न समस्या भएको छ’ दरौँदी यातायात प्रालिका महासचिव अन्जनबाबु खत्रीले भने। अधिकांश ग्रामिण रुटमा सवारी नचलेको बताउँदै उनले अधिकांश यात्रुबाहक बस ग्यारेजमा थन्काउनु परेको गुनासो गरे। गतवर्ष भदौ महिनाको अन्तिम साता स्थानीय तहले धमाधम आफ्नो क्षेत्रभित्र पर्ने सडक दशैँका लागि सफा गरेका थिए।

गोरखा सदरमुकामबाट आरुघाट, भच्चेक सडक केहि महिना अघि कालोपत्रे भएकाले सवारी चलिरहेको छ। खोप्लाङ हुँदै पालुङटार, सिरानचोक गाउँपालिकाको केन्द्र हुँदै जाने सडक, बोर्लाङ, आर्खेत, आरुपोखरी, फुजेल, ताकुकोट, बारपाक लगायतका रुटमा भने बैशाख अन्तिम देखि सवारी चलेको छैन्। सवारी नचलेपछि स्थानीय हिँडेर त कोही महँगो भाडामा बोलेरो जिप चढेर यात्रा गर्न बाध्य छन्। ‘दशैँका लागि सदरमुकाम भएर ग्रामिण भेगसम्म खाद्यान्न, लत्ताकपडा लैजान व्यापारी व्यवसायीले पाएका छैनन्’ उद्योग वाणिज्य संघ गोरखाका उपाध्यक्ष भगवानबाबु मास्केले भने।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले वर्षात रोकिएपछि स्थानीय तह सबैलाई समन्वय गरेर आफ्नो क्षेत्रमा सडक संचालन गर्न अनुरोध गर्ने बताए। ‘गतवर्ष पनि हामीले चाडबाडको बेला सडकमा सवारी चल्न सक्ने बनाउनु भनेका थियौँ, यो वर्ष पनि मर्मत हुन्छ, अहिले वर्षात भईरहेकाले समस्या भएको हो।’ छिटो मर्मत गरिदिन सर्वसाधारणले पनि गुनासो गरेको उनले बताए। 

कालोपत्रे सकिएको चार महिना भो, भाडा भने कच्चिकै
आरुघाट सडक र गोरखा–भच्चेक सडक कालोपत्रे भएको चार महिना बितिसक्दा यातायात व्यवसायीले भने कच्चीकै भाडा असुलिरहेका छन्। ग्रामिण भेगमा यातायात संचालन गर्दै आएका व्यवसायीले सडक कालोपत्रे र ग्राबेल भईसक्दा पनि भाडा भने कच्ची हुँदा अनुसार नै लिएको गुनासो यात्रुहरुको छ।

गोरखा सदरमुकामदेखि आरुघाट बजारसम्म करिब ४२ किलोमिटर सडकको भाडा दुई सय रुपैयाँ छ। यातायात व्यवसायीले यो भाडा लिन थालेको २०७४ असोजदेखि हो। फिनाम–झिगटे हुँदै बगुवासम्म सडक कालोपत्रे छ। तान्द्राङको बीच भागमा पनि कालोपत्रे गरिएको छ। करिब २० किलोमिटर सडक कालोपत्रे भएपनि सडक कच्चिकै छ।

गोरखा–भच्चेक रुटमा पनि भाडा घटाएको छैन्। ५८ किलोमिटर उक्त सडकखण्डको बाह्रकिलो हुँदै चोरकाटेसम्म कालोपत्रे यस अघि नै भईसकेको छ। अहिले प्रतिव्यक्ति दुई सय ५५ रुपैयाँ भाडा व्यवसायीले लिँदै आएका छन्। चोरकाटेदेखि चित्रेपोखरीसम्मको करिब १५ किलोमिटर सडक बाहेक त्यसमाथिको खण्ड पनि कालोपत्रे भएको छ। धारापानीसम्म कालोपत्रे सडक छ। त्यहाँदेखि भच्चेकसम्म कालोपत्रे गर्न ठिक्क परिएको ग्राबेल सडक छ। पाँच घण्टा लाग्ने भच्चेक सडकको यात्रा तीन घण्टामा झरेको छ। दिनभरी गाडी फसेर हैरान हुने व्यवसायीले पहिले जस्तो दुःख झेल्नुपरेको छैन्। तर उनीहरुले भाडा कच्ची सडककै लिएर यात्रुलाई ठगिरहेका छन्। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले यातायात व्यवसायी र सडक आयोजनासँग छलफल गरेर भाडा समायोजन गर्ने दुई महिना अघि बताएका थिए तर अहिलेसम्म छलफल भएको छैन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App