१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधको जालो भत्काउँदै प्रहरी

लहान - सिरहाको मखनाहा चोकबाट प्रहरी जाँचको क्रममा लागुऔषध ट्याबलेटसहित एक युवकलाई शनिबार पक्राउ गर्यो। बा ३८ प ५१७९ मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–३ का १८ वर्षीय जयनारायण मण्डल १८ चक्की नाइट्रोजेपाम नामक लागुऔषधसहित पक्राउ परे। लागुऔषध मुद्दामा उनीमाथि कारबाही अघि बढाइएको छ।

सीमावर्ती बरियारपट्टी गाउँपालिका–३ बाट मंगलबार प्रहरीले जाँचको क्रममा धनगढीमाई नगरपालिका–१ का १८ वर्षीय राकेश यादवलाई पक्राउ गर्यो। उनको साथबाट प्रहरीले नाइट्रोभेट ७५ ट्याबलेट बरामद गर्यो। उनलाई लागुऔषध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

साउन २९ गते उदयपुर प्रहरीले त्रियुगा नगरपालिका–६ लालपत्ताबाट जाँचको क्रममा दुई जना युवकलाई लागुऔषधसहित पक्राउ गर्यो। लहानबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक विङ्गर भ्यानमा सवार सिरहा अर्नामा गाउँपालिका–१ का २७ वर्षीय जिहाबुल मन्सुरी र सोही ठाउँका २५ वर्षीय तवारक अन्सारीको साथबाट लागुऔषध डाइलेक्स डिसी २८ बोतल बरामद गरी दुवै जनामाथि लागुऔषध मुद्दामा कारबाही चलाइएको उदयपुर प्रहरीले जनाएको छ।  

प्रहरी अनुसन्धानको क्रममा दुवै जनाले उक्त लागुऔषध भारती सहर  लौकाहाबाट त्रियुगा नगरपालिका –१० बोक्सेका ३४ वर्षीय योगेश घिमिरेलाई ल्याइदिएको खुलाए। पक्राउ परेका अन्सारी र मन्सुरीको बयानका आधारमा प्रहरीले घिमिरेको घरको कोठालगायतका स्थानहरुको खानतलासी गर्दा ट्वाइलेट छेउमा जुटको बोराभित्र लुकाइछिपाई राखेको प्रयोग गरिसकेको ३१ बोतल डाइलेक्स डिसी बरामद भएको थियो।

उदयपुर र सिरहाका प्रहरीले पछिल्लो समय लागुऔषधसहित पक्राउ गरेका यी कारोबारीहरू केही उदाहरण मात्रै हुन्। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रैलाई सिरहा प्रहरीले पक्राउ गर्दै आएको छ।

पछिल्लो समय सिरहा प्रहरीले सीमानाकादेखि सहरसम्म निगरानी बढाएपछि लागुऔषध कारोबारीहरु स्थान परिवर्तन गर्दै सप्तरीतर्फ पलान भएका एक जना संलग्नले बताए। ‘सिरहाको नाका प्रयोग गरेर लागुऔषध भिœयाउने सिकारु एवं साना व्यापारीहरु धमाधम पक्राउ पर्दै छन्। सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायतका कारणले पूर्णतः नियन्त्रण गर्न गाह्रो छ’, सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले भने, ‘लागुऔषध कारोबारलाई निस्तेज पार्न सचेतनादेखि कारबाहीलाई सँगै अघि बढाएका छौं।’

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत जेठ महिनादेखि भदौको अहिलेसम्ममा ३४ वटा  लागुऔषध मुद्दामा ५० जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीको सक्रियता बढेसँगै लागुऔषधको मुद्दामा पक्राउ पर्ने प्रतिवादीको संख्या बढेको एसपी चतुर्वेदीले बताए।
लागुऔषध मुद्दामा पक्राउ पर्ने प्रतिवादीमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ। गत वर्ष र यस वर्ष पक्राउ परेकाहरूको तथ्यांक केलाउँदा लागुऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि २५ वर्ष उमेर समूहका युवा धेरै छन्।
............
विभिन्न समयमा सिरहा प्रहरीले बरामद गरेको लागुऔषध। फायल तस्बिर ः नागरिक
 

प्रकाशित: ३१ भाद्र २०७६ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App