१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजनको मुखैमा डेंगी त्रास

पोखरा – पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगी संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ। 

पोखरामा अहिलेसम्म १४ सयभन्दा बढी सर्वसाधारण डेंगीबाट संक्रमित भइसकेका छन्। विदेशी नागरिक संक्रमित भएको घटना सार्वजनिक नभए पनि संक्रमणको जोखिम भने उत्तिकै रहेको चिकित्सकले बताएका छन्। एकजना विदेशी नागरिकलाई डेंगी लाग्यो भने समग्र पर्यटन क्षेत्रमा मार पर्ने व्यवसायीको चिन्ता छ।

सिजनको मुखमा फैलिएको डेंगीले विदेशी पाहुनालाई नेपाल आउनैबाट रोक्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ। नेपाल आएका र आउने तयारीमा रहेका कतिपय विदेशीले पोखरामा फैलिएको डेंगीबारे चिन्ता जनाउन थालेको व्यावसायीको भनाइ छ। पोखरामा डेंगीको जोखिम कत्तिको र कुन अवस्थामा छ भनेर पाहुनाले होटलमा सोधखोज गर्न थालेका छन्।

केही दिनअघि स्विजरल्यान्डका दुईजना प्राध्यापक एउटा सम्मेलनमा भाग लिन नेपाल आउँदै थिए। उनीहरु काठमाडौं र पोखरा घुम्ने तालिका थियो। नेपाल आउनुअघि उनीहरुले डेंगीबारे पर्यटन व्यवसायीसँग सोधखोज गरेका थिए। ‘डेंगीको अवस्था सामान्य छ भने पनि ती प्राध्यापक काठमाडौंमा आएर कार्यक्रममा सहभागी भएर फर्किए,’ होटल व्यवसायी धर्मराज पन्थीले भने, ‘उनीहरुले पोखरा आउने कार्यक्रम रद्द गरे।’ उनका अनुसार नेपाल आउने विदेशी डेंगीबारे निकै नै चिन्तित छन्। यसले पर्यटन क्षेत्रमा त्रास फैलाएको उनले बताए।

‘डेंगी संक्रमणबारे पर्यटकले चिन्ता जनाएका छन्। वास्तविक अवस्था के हो भनेर सोध्न थालेका छन्,’ टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्यले भने, ‘संक्रमणकै त्रासका कारण कोही पाहुनाले अहिलेसम्म बुकिङ रद्द नगरे पनि उनीहरु सशंकित भने छन्।’ नेपालभर फैलिएको डेंगीको संक्रमणबारे विदेशी सञ्चारमाध्यममा खबर फैलिएकोले पनि विदेशी पर्यटक नेपाल आउन डराएको उनले बताए। सिजनको मुखैमा फैलिएको प्रकोपले विदेशी पाहुनालाई संक्रमण बनायो भने समग्र पर्यटकीय सिजनलाई नै मार पर्ने उनले बताए।

–पर्यटकले डेंगी संक्रमणबारे सोध्न थाले : व्यावसायी
–लेकसाइड डेंगीको उच्च जोखिममा : चिकित्सक

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालायका चिकित्सक डा. भोजराज गौतमका अनुसार पर्यटकीय क्षेत्र लेकसाइड डेंगी संक्रमणबाट निकै नै निकट छ। गौतमका अनुसार लेकसाइडका होटल र रेस्टुरेन्ट बाहिरबाट हेर्दा चिटिक्क देखिए पनि आसपासमा डेंगी फैलाउने लामखुट्टेका लागि उपयुक्त वासस्थान छ। ‘होटलको छतमा पर्याप्त सफा पानी जमेको छ। पानी ट्यांकी पनि खुलमखुला छन्। एसी, फ्रिज, फाउन्टेन, गमला, फेवातालमा तैरिएका र लामो समयदेखि प्रयोगविहीन डुंगा, होटलका स्विमिङ पुल सबै डेंगी फैलाउने लामखुट्टेको बासस्थान हो,’ गौतमले भने, ‘त्यसबाहेक रेस्टुराँका बाहिरपट्टि लामखुट्टेको बास हुने गरी सामान फ्याकिएको छ। त्यसले पनि उत्तिकै जोखिम निम्त्याएको छ।’

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिन २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेड छ। त्यस्तै, यो लामखुट्टे फैलनका लागि ह्युमिडिटी (आद्र्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटी भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटीले यो लामखुट्टे फैलाउन सघाउने गौतमले बताए।

गौतमले होटलका फूलबारी, गमला, एसी, फ्रिजको, छत, कौसीमा यस्तो लामखुट्टेले फूल पार्ने र त्यो फूल एक वर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहेको बताए। ‘एक वर्षसम्म त्यो फूल रहन्छ। उपयुक्त वातावरण पाउनासाथ लामखुट्टे बनिदिन्छ,’ उनले भने। पर्यटन व्यवसायीले पोखरामा फैलिएको डेंगीलाई उति सारो ‘सिरियस’ नलिए पनि एकजना विदेशी पर्यटकमा मात्र संक्रमण फैलिएको खण्डमा त्यसले पोखराको पर्यटनमा वर्ष दिन मार पार्ने गौतमले बताए।

होटल डालियाका आवासीय प्रबन्धक तुलसी लामिछानेले सिजनको मुखैमा फैलिएको डेंगीले समग्र पर्यटन क्षेत्र चिन्तित रहेको बताए। ‘हामी सिजनको मुखमा छौं, केही गरी विदेशी पाहुनामा संक्रमण भयो भने यो तुरुन्तै विश्वव्यापी हुन्छ। यसमा सबै सतर्क हुने बेला भएको छ,’ उनले भने, ‘संक्रमित बढाउने त जोखिम छ नै पर्यटनको मूल आधार मानिएको सिजन नै धराशयी हुने त्रास छ।’

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाका अनुसार केही विदेशी मुलुकले नेपालमा फैलिएको डेंगी र त्यसबाट निम्तिन सक्ने जोखिमबारे आफ्ना नागरिकलाई सचेत गराइसकेका छन्। त्यसले गर्दा पर्यटन व्यवसायी पनि यसप्रति संवेदनशील हुनुपर्ने उनले बताए। ‘हामी यसै त पर्यटनको कमजोर अवस्थामा छौं। यो बेला एकजना विदेशी नागरिक मात्र डेंगी संक्रमित बने भने त्यसले पार्ने असर ठूलो हुन्छ,’ सापकोटाले भने, ‘पर्यटकहरु सुरक्षित रुपमा घुम्न चाहन्छन्। कोही पनि बिरामी हुन नेपाल आउने होइन। त्यसैले सतर्क हुने बेला भएको छ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले केही विदेशी मुलुकले नेपाल घुम्न आउन थालेका नागरिकलाई डेंगीको संक्रमणबारे सचेत गराएपछि पर्यटक झनै झस्किएको बताए। ‘नेपालमा डेंगीको संक्रमण छ। घुम्न जाँदा सचेत हुनु भनेर विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गरिसकेका छन्,’ उनले भने, ‘यसले पर्यटनमा त्रास फैलाएको छ। सिजनको मुखमा रहेको पर्यटनमा जोखिममा छ।’ विदेशी सञ्चारमाध्यममा पनि नेपाल र पोखराको डेंगीबारे समाचार आएपछि विदेशीको चासो हुनु स्वाभाविक रहेको उनले बताए।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार केही दिनका लागि मात्र नभई पोखरामा लामो समय बस्ने पर्यटक पनि छन्। केही गरी ती विदेशी नागरिकलाई संक्रमण भयो भने त्यसले समग्र पर्यटन क्षेत्रमा मार पार्ने उनको भनाइ छ। ‘हामीले होटल सञ्चालकलाई सचेत गराएका छौं। सरसफाइ र पानी जम्ने ठाउँबारे केही ज्ञान दिएका छौं,’ तुलाचनले भने, ‘यसमा व्यक्तिगत सक्रियताको खाँचो छ।’ होटल, रेस्टुरेन्ट पर्याप्त रहेकोले त्यहाँ पानी जम्ने खालका ठाउँ व्याप्त हुने भएकोले पनि सचेत हुन जरुरी रहेको उनले बताए।

पोखरामा यो पटक साउन १६ गते पहिलोचोटी डेंगी संक्रमण देखिएको थियो। पोखरा महानगरपालिका–८ बाट संक्रमण फैलिन थालेको थियो। पोखरामा गत वर्ष पाँच सय ७१ जनामा यो रोग सरेको थियो। पोखरामा २०७२/७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीन वर्ष पोखरामा एक एकजना मात्र डेंगीका बिरामी भेटिएकोमा पोहोर पाँच सय ७१ जना बिरामी परेका थिए।

डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फूल पार्ने गर्छ। खासगरी वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायत भाडामा फूल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार डेंगी लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: ३१ भाद्र २०७६ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App