१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘यलम्बर’ले हेरे इन्द्रजात्रा

काठमाडौँ- नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै सकिएको छैन। रथयात्रा, लाखेनाचहरु चलिरहेको छ। इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ।     

जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ। वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ। नौ दिनसम्म भैरवको मूर्तिलाई बाहिर राखिन्छ।     

एकादशीको दिन आकाशभैरवको मूर्ति राखिने खट तयार गरेर द्वादशीको दिनमा भैरवको मूर्ति सफा गरी बाहिर निकालिन्छ। द्वादशीको दिनदेखि बाहिर निकालिएको भैरवको मूर्ति एकैचोटि दशौँ दिन अर्थात् कृष्ण चतुर्थीका दिनमा मात्रै मूलस्थानमा लगिने आकाश भैरव गुठीका अध्यक्ष शरदकुमार डङ्गोलले जानकारी दिउ। उनका अनुसार १० औँ दिनसम्म विभिन्न विधिबाट भैरवको पूजा गरिन्छ।

त्यस्तै विधि अनुसार शनिबार अर्थात् पूर्णिमाको दिनमा साइत अनुसार भैरवको मुखबाट पाँच जिउँदो माछा बगाइएको छ। माछा बगाउने दिनमा रथयात्रा माथिल्लो टोलमा हुने गर्छ। माथिल्लो टोलमा रथयात्रा गरिने मार्गमा इन्द्रचोक पनि पर्छ।     

भैरवको मुखबाट लामो जाल बनाएर जालमा जाँड राखेर माछा बगाउने गरिन्छ। मूर्ति राखिएको खटमुनि पर्ने पातालपुरमा रक्सीसँगै माछा बगाउने विधि सम्पन्न भएको छ। भैरवको मूर्तिमा जाँड छर्कने काम गरिन्छ तर श्वेत भैरवको मूर्तिबाट भने जाँड नै बगाएर दर्शनार्थीले खाने गर्छन्। माछा बगाउने समयमा भैरवको मूर्तिमा फूल हुँदैनन् तर रथयात्राका क्रममा फूलैफूलले ढाकिएको हुन्छ।

भैरवको गला विभिन्न प्रजाति र रङका फूलले सजाइएको हुन्छ। पहिले पहिले फूल पाउन सहज थियो तर आजकल गाह्रो हुने गरेको डङ्गोलले बताए। उनका अनुसार आफन्तले ल्याएका फूल भैरवको मूर्तिमा सजाइने गरिन्छ। दिनैपिच्छे फरक फरक फूलले मूर्ति सजाउनुपर्छ। एक दिन मूर्तिमा राखिएको फूल अर्को दिनका लागि प्रयोग गर्न मिल्दैन।     

भैरव गुठीमा रहेका ६२ जनामध्येमा प्रत्येक वर्ष हुने जात्रापर्वका लागि आठ आठ जनाको जिम्मेवारी रहने गर्छ। बाहिर निकालिएको भैरवको मूर्तिमा हरेक दिन परम्परा अनुसार पूजा गरिन्छ। विधि र समय अनुसार बिहान, दिउँसो र राति गरी तीन पटक मूर्तिमा पूजा गरिन्छ।     

यलम्बर र कृष्णको सम्बन्ध     
किंबदन्ती अनुसार इन्द्रचोकस्थित आकाश भैरवलाई काठमाडौँ उपत्यकाका किराँतवंशी राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ। भैरवलाई महादेवको रुद्र रूपमा समेत मान्ने गरिन्छ। गुठीका अध्यक्ष डङ्गोलका अनुसार यलम्बर र महाभारत युद्धको समेत सम्बन्ध रहेको भन्ने गरिन्छ। यलम्बर अर्थात् भैरव महादेवको रुद्र रूप लिएर महाभारत युद्ध हेर्न आफ्ना सेना र गण सहित कुरुक्षेत्र पुगेका थिए। कुरुक्षेत्र जाने क्रममा यलम्बरको भेट कृष्णसँग भयो। कृष्णसँग भेट भएपछि यलम्बरले महाभारत युद्ध हुँदै गरेकाले हेर्न जान लागेको बताए।     

कृष्णले महाभारतको युद्ध गर्ने कुरा परिकल्पना मात्रै गरेका थिए। यलम्बरको कुरा सुनेर अचम्मित हुँदै युद्धमा कसको पक्ष समर्थन गर्छौ भनी सोधे। यलम्बरले युद्ध हार्नेको पक्षमा समर्थन हुने बताए। युद्धमा पाण्डवलाई जिताउने कल्पना गरेका कृष्णलाई कौरवले हारेमा र यलम्बरले आफ्ना सैनिकसहित युद्धमा सहभागी भएमा अनर्थ हुने भन्दै रोक्ने योजना बनाए।     

यलम्बरलाई रोक्ने योजना बनाएर कृष्णले छल गरे। छल गर्ने क्रममा कृष्णले यलम्बरसँग खेल खेल्दा “तिमी त बलवान रहेछौ, म तिमीलाई वरदान दिन्छु” भने। यलम्बरले उल्टै “म तिमीलाई वरदान दिन्छु, माग” भने। कृष्णले सोचेजस्तो भएपछि खुशी हुँदै यलम्बरसँग “म तिम्रो टाउको छेदन गर्न पाऊँ” भनीे वर मागे। वाचामा हारिसकेका यलम्बरले कृष्णलाई युद्ध हेर्न पाउने गरी वरदान दिए। कृष्णले यलम्बरको टाउको आकाशमा झुन्डाएर युद्ध हेर्न दिएछन्। युद्ध सकिएपछि त्यही टाउको काठमाडौँमा आएर बसेको र आकाश भैरव रूपमा विराजमान भएको मानिन्छ।     

विधिवत् रूपमा यही भदौ २४ गते हनुमानढोकास्थित तलेजुको मन्दिरको अगाडि रहेको कालभैरवको मन्दिरमा लिङ्गो उठाएपछि विधिवत् रुवमा जात्रा शुरु भएको थियो। जात्राको चौथो दिनलाई मुख्य दिनका रूपमा समेत लिइन्छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार जात्रामा विभिन्न २९ गुठीले सहकार्य गर्दै आएका छन्।

वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे, हलचोक भैरव, आकाश भैरव, पुलुकिसी , लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोकविनायक, दाँगी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले इन्द्रजात्रा व्यवस्थापन गर्छन्।रासस

प्रकाशित: ३० भाद्र २०७६ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App