१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फास्ट ट्रयाक हुँदै काठमाडौंमा पाइपबाट तेल

काठमाडौं – अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि   इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो।

आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए।

‘प्रारम्भिक अध्ययनमा फास्ट ट्र्याकमा पाइप बिछ्याएर काठमाडौंसम्म तेल ढुवानी गर्न सकिने देखियो,’ बज्राचार्यले भने, ‘अध्ययन सकाएर प्रतिवेदन तयार गर्दैछौं।’ विज्ञ टोलीले प्रतिवेदनलाई अन्तिम रुप दिइरहेको छ। निजगढ–काठमाडौं फास्ट ट्र्याकको लम्बाइ ७६ किलोमिटर छ।

आइओईको विज्ञ टोलीले निगमसँगको सहकार्यमा अध्ययन गरेको हो। जिपिएस र बाटोबाटै सर्भे गरिएको बज्राचार्यले बताए। निजगढ तीन सय मिटर र काठमाडौं १२ सय मिटरको उचाइमा रहेकाले बीच–बीचमा पम्पको प्रेसरमार्फत तेल ल्याउन सकिने देखिएको छ।

अध्ययनबाट वित्तीय र प्राविधिक रुपमा उपयुक्त देखिए फास्ट ट्र्याकमा पाइपलाइन परियोजना अघि बढाउने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। ‘विज्ञको टोलीले अध्ययन गरेको छ,’ पौडेलले भने, ‘प्रतिवेदन प्राप्त भएपछि थप रणनीति बनाएर अघि बढ्छौं।’

फास्ट ट्र्याकको निर्माण नेपाली सेनाले गरिरहेको छ। कोरियन कम्पनी ससाङ इन्जिनियरिङ कन्सट्रक्सनले नेपाली सेनालाई बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा पनि पाइपलाइन बिछ्याउन सकिने उल्लेख छ। काठमाडौंबाट निजगढ पुग्न एक घन्टा दुई मिनेट ३३ सेकेन्ड लाग्ने उक्त प्रतिवेदनमा उल्लेख छ।

भारतसँग अन्तरदेशीय पाइपलाइन बनाएको निगमले चीनबाट पनि पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन निर्माणका लािग अध्ययनको तयारी गरेको छ। सरकराको निर्णय अनुसार चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको हो।

सवारीका लागि छोटो दुरी भएकाले ट्यांकरबाट नै सस्तो पर्ने भएमा भने पाइपलाइन अघि बढ्ने छैन। ‘वित्तीय, प्राविधिक र वातावरणीय पक्षलाई ध्यान दिन्छौं,’ पौडेलले भने, ‘यी विषयलाई आधार बनाएर आर्थिक रुपमा फाइदा हुने भए निर्माण अघि बढाउँछौं।’ निर्माण चरणमा प्रवेश गर्दा भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नुपर्छ। निगमको थानकोट डिपोबाट अहिले दैनिक ६ सय किलोलिटर पेट्रोल, सात सय किलोलिटर डिजेल, दैनिक १५ किलोलिटर मट्टीतेल खपत हुने डिपो प्रमुख विनितमणि उपाध्यायले बताए। यसले काठमाडौंमा दैनिक १३ सय किलोलिटर पेट्रोल र डिजेल खपत हुने देखिन्छ। पाइपलाइन निर्माण गरे उक्त इन्धन पाइपबाट ढुवानी हुन्छ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण सम्पन्न भएपछि निगमले पाइपलाइनका अन्य परियोजना अघि बढाइरहेको छ। निगमले अमलेखगन्जबाट चितवनको लोथरसम्म पनि पाइपलाइन विस्तार गर्न अध्ययन गरिसकेको छ। अमलेखगन्जबाट चितवनसम्म ६२ किलोमिटर पाइप बिछ्याउनुपर्ने देखिएको छ। ठूलो परिमाण पेट्रोलियम पदार्थ पोखरा, भैरहवा लगायतका क्षेत्रमा खपत हुने भएकोले ढुवानी  लागत घटाउन चितवनको लोथरसम्म पाइपलाइन निर्माण गर्न लागेको हो। पाइप अमलेखगन्जबाट चुरियामाईको जंगल हुँदै चितवनसम्म ल्याए दीर्घकालीन रुपमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुन्छ।

निगमले चितवनको लोथरमा भण्डारण गृह बनाएर त्यहाँ विस्तार गर्ने योजना अघिदेखिनै सुरु गरेको छ। त्यसका लागि चितवनको लोथरमा २४ बिघा नौ कट्ठा जमिन किनिसकेको छ।

यो वर्ष पूर्वाधार निर्माणलाई प्राथमिकता राखेको निगमले अन्य क्षेत्रमा पनि पाइपलाइन विस्तारको तयारी गरिरहेको छ।

विज्ञको टोलीले यसअघि गरेको अध्ययनमा मुलुकका अन्य स्थानमा पनि पेट्रोलियम तथा ग्यास पाइपलाइन बनाउन सकिने देखिएको थियो। भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, भारतको मुजफ्फरपुरदेखि जनकपुर हुँदै महेन्द्रनगर र भारतको मोतिहारीबाट चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन विस्तार गर्न २२ अर्ब १२ करोड २८ लाख रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ। ट्यांकर र बुलेटबाट इन्धन ढुवानी गर्नभन्दा पाइपबाट निकै सस्तो पर्ने भएकाले निगमले पाइपलाइनलाई उच्च प्राथमिकतामा राखेको छ। ढुवानी खर्च, प्राविधिक लस, सडक मर्मत र वातावरणको रकम तिर्दा निकै महँगो परेकाले पाइपलाइनबाट इन्धन ढुवानी गर्दा मोटो रकम बचत हुन्छ।

भारतसँग अन्तरदेशीय पाइपलाइन बनाएको निगमले चीनबाट पनि पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन निर्माणका लािग अध्ययनको तयारी गरेको छ। सरकराको निर्णय अनुसार चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको हो। चीनको केरुङसम्म रेलबाट पेट्रोलियम पदार्थ ढुवानी हुने सम्भावना बढ्दै गएकाले केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइनको अध्ययन गर्ने तयारी छ।

प्रकाशित: ३० भाद्र २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App