१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी तेल प्रशोधनस्थल आक्रमण, अमेरिकी आरोपको इरानद्वारा निन्दा

तेहरान – साउदी अरबको दुईवटा प्रमुख तेल प्रशोधनस्थलमा भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आरोपप्रति इरानले कडा शब्दमा निन्दा गरेको छ।

साउदीको तेल प्रशोधनस्थलमा भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने आरोप लगाएर वासिङ्टनले ‘छल’ गरेको तेहरानले बताएको छ। स्थानीय समयअनुसार शनिबार बिहान साउदी अरबका दुई प्रमुख तेल प्रशोधनस्थलमा ड्रोन हमला भएको थियो, जसका कारण ती क्षेत्रमा आगलागी भएको थियो।शनिबार बिहान सबेरैको सो आक्रमण आफूले गराएको दाबी यमनेको विद्रोही समूह हुथीले दाबी गरेको थियो। इरानको समर्थन प्राप्त हुुथी विद्रोही समूहले केही समयदेखि साउदी अरबलक्षित आक्रमणको घटनालाई तीव्रता दिँदै आएको छ।

‘अमेरिका र उसका गठबन्धन राष्ट्र यमनमा हतियारको बलमा सैन्य जित हासिल गर्न सकिन्छ भन्ने भ्रममा अल्झिएका छन्।             – जाभाद जरिफ

थी विद्रोही समूहले ड्रोन आक्रमणको पछाडि आफ्नो संलग्नता रहेको बताए पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भने सो विषय स्वीकार गर्न तयार छैनन्। उनले साउदी अरबका प्रमुख दुई तेल प्रशोधनस्थलमा भएको ड्रोन हमलाका पछाडि इरानको हात रहेको आरोप लगाएका छन्।

अमेरिकी विदेशमन्त्रीको यस्तो आरोपमाथि प्रतिक्रिया जनाउँदै इरानी विदेशमन्त्री जाभाद जरिफले इरानलाई आरोप लगाउँदैमा ‘यमनमा जारी रहेको प्रकोप अन्त्य नहुने’ बताएका छन्। ‘इरानमाथि अधिकतम दबाब दिन असफल भएपछि विदेशमन्त्री पोम्पेओले अधिकतम छल गर्ने बाटो लिएका छन्,’ इरानी विदेशमन्त्री जरिफले गरेको ट्विट उद्धृत गर्दै बिबिसीले जनाएको छ।

इरानलाई प्रतिबन्ध लगाउँदै ‘अधिकतम दबाब दिने’ ट्रम्प प्रशासनको नीतिलाई उद्धृत गर्दै इरानी विदेशमन्त्रीले यस्तो ट्विट गरेका हुन्। ‘अमेरिका र उसका गठबन्धन राष्ट्रहरु यमनमा हतियारको बलमा सैन्य जित हासिल गर्न सकिन्छ भन्ने भ्रममा अल्झिएका छन्,’ विदेशमन्त्री जरिफले भनेका छन्।
शनिबार सबेरैको आक्रमणका कारण आफूले गर्ने कच्चा तेल उत्पादनमा आधा कटौती भएको साउदी अरबले बताएको छ। उसले आक्रमणका कारण प्रतिदिन मात्र ५७ लाख ब्यारेल तेल उत्पादन हुने बताएको छ।

साउदीको यस्तो भनाइ बाहिरिएलगत्तै सबै सरोकारवाला पक्षहरु सोमबार बजार खुल्ने प्रतिक्षामा रहेको बताएको छ। केही विशेषज्ञहरुले भने तेलको मूल्य वृद्धि हुनसक्ने अनुमान पनि गरेका छन्। सन् २०१५ मा यमनका राष्ट्रपतिलाई पदबाट हटाएदेखि हुथी विद्रोही साउदी नेतृत्वमा रहेको र पश्चिमा राष्ट्र समर्थित गठबन्धनविरूद्ध युद्ध लडिरहेको छ।

साउदीका विशाल तेल प्रशोधनस्थलमा आफूहरुले ड्रोन हमला गरेको इराननिकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले शनिबार नै बताएका थिए। उनले अबकाइक र खुराइजमा रहेका तेल प्रशोधनस्थलमा आक्रमण गर्नका लागि शनिबार १० वटा ड्रोन प्रयोग गरेको जिकिरसमेत गरेका थिए। तर अमेरिकी विदेशमन्त्री पोम्पेओले भने हुथी विद्रोहीले दाबी गरेजस्तो यमनबाट ड्रोन आएको कुनै प्रमाण नभएको भन्दै यस आक्रमणका पछाडि इरानको संलग्नता रहेको आरोप लगाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक क्रियाकलापलाई सीमित गर्ने ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौता एकतर्फी रूपमा त्यागेपछि इरान र अमेरिकाबीच तनाव बढ्दो क्रममा रहेको छ।

आफ्ना पूर्ववर्ती बाराक ओबामासहित विश्वका ६ शक्तिशाली राष्ट्र वा सरकार प्रमुखले इरानसँग गरेको आणविक सम्झौतालाई एकतर्फी रूपमा त्याग्दै राष्ट्रपति ट्रम्पले तेहरानविरुद्ध थप प्रतिबन्ध लागू गर्ने निर्णय गरेका थिए। प्रतिबन्ध जारी भएसँगै दुई देशबीच तनावको सिर्जना भएको थियो। यसैबीच अमेरिकाले यस वर्ष खाडी क्षेत्रमा भएका तेल आपूर्तिसम्बन्धी अन्य आक्रमणका लागि पनि इरान जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App