१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जहाज कुराउँछन् नेता, आपत्ति जनाउनेलाई राजावादीको आरोप

सन्तोष पोखरेल/मिनराज भण्डारी
पोखरा - मनाङको हुम्देसम्म नियमित उडान थाल्ने भन्दै गत शुक्रबार गण्डकी प्रदेश सरकारले समिट एयरको जहाज चार्टर ग-यो। पोखराबाट हुम्देका लागि उडेको उक्त जहाजमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, मनाङका संघीय सांसद पोल्देन छोपाङगुरुङ लगायत १५ जना सवार थिए।

पोखरा विमानस्थलबाट बिहान ८ बजेर ३४ मिनेटमा उडेको एलइटी–एल–४१० टर्बाेलेट जहाज हुम्दे अवतरण गर्दा ८ बजेर ५८ मिनेट भएको थियो। पोखरादेखि ४९ नटिकल माइल (९०.७४ किमि) टाढाको हुम्दे सामान्य अवस्थामा १६ देखि १८ मिनेटमा पुगिने भए पनि त्यो दिन खराब मौसमका कारण २४ मिनेट लागेको थियो। १८ सिट क्षमताको ९ एन–एएमजी कलसाइनको जहाज उडाएका क्याप्टेनद्वय एडी शेर्पा र टी लामाले हुम्दे अवतरणपछि सुरुमै नेताहरुलाई सुझाएका थिए, ‘मौसम खराब छ, २० मिनेटभन्दा बढी ढिला नगरिदिनुहोला। मौसम बिग्रियो भने समस्या आउन सक्छ।’

क्याप्टेनद्वयले चिसोका कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्काे इन्जिन चालू अवस्थामै राखे। तर औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले १ घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्। ‘हामीले बारम्बार ढिला भयो, छिटो गरिदिनुप¥यो भनेर आग्रह गर्दा पनि उहाँहरुले मान्नुभएन, हुन्छ भन्ने जवाफमात्र दिनुभयो,’ जहाजमै गएका एकजना पदाधिकारीले भने, ‘मौसम बिग्रिँदा पाइलटद्वय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तनावमा हुँदा पनि नेताहरुले पूरै बेवास्ता गरे।’ जसोतसो कार्यक्रम सकिएर जहाज उड्दा १ घण्टा २० मिनेट पुगिसकेको ती पदाधिकारीले बताए।

उनका अनुसार पोखरा फर्किंदा जहाजलाई झनै बढी समय लाग्यो। १० बजेर २० मिनेटमा हुम्देबाट उडेको जहाज २६ मिनेट लगाएर १० बजेर ४६ मिनेटमा बल्ल पोखरा अवतरण गरेको थियो। ‘फर्किंदा त २६ मिनेट पो लाग्यो। खराब मौसमका कारण मन आत्तिएको थियो,’ ती पदाधिकारीले भने, ‘अझै केही बेर ढिला गरेको भए त्यो दिनको बास मनाङमै हुन सक्थ्यो।’ त्यतिमात्र होइन, त्यो दिन नेताहरुले मनाङमा बढी समय बिताउँदा समिट एयरको पोखरा–जोमसोम उडान नै रद्द हुन पुगेको थियो। त्यसले गर्दा एयरलाइन्सका कर्मचारीले यात्रुबाट खप्कीसमेत खानुप¥यो।

जहाज चढेका उच्चपदस्थ पदाधिकारीले यात्रु, अरु उडान र मौसमको पटक्कै ख्याल राख्दैनन् भन्ने यो एउटा उदाहरण हो। यस्तै बेवास्ता गरेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईको यतिखेर निकै आलोचना भइरहेको छ। शीर्ष नेताहरुका कारण बेलाबेला हवाई उडानमा ढिलाइ हुने गरेको र त्यसले अरु उडानलाई समेत समस्या पार्ने गरेको हवाई उड्डयन क्षेत्रका अधिकारी बताउँछन्। मौसमको समेत ख्याल नगर्दा दुर्घटनाको जोखिम निम्तिने उनीहरु बताउँछन्।

‘मनाङको विषय नेताहरुले बेवास्ता गरेकै हुन्। ५ मिनेट अरु ढिला भएको भए त्यो दिनको बास हुम्देमा हुने पक्का थियो वा अरु जे पनि हुनसक्थ्यो’, एक हवाई उड्डयन अधिकृतले भने, ‘भिआइपी यात्रुले यस्ता विषयमा ख्याल राखिदिए हुन्थ्यो।’ ती अधिकृतका अनुसार हुम्देमै रहँदा सम्म पोखराको मौसम सफा थियो तर उडान भरिसक्दा पोखरामा पानी पर्न थालेको थियो। उक्त जहाज अवतरण गरेलगत्तै वर्षाका कारण पोखरा विमानस्थल बन्द भएको थियो। ‘भाषणमा भुल्ने नेताहरु जहाजलाई ढिला भएको समेत भुल्छन्, मौसम बिग्रेको पनि देख्दैनन्,’ उनले भने।

उच्च हिमाली भेगमा उडान गर्दा चिसोका कारण जहाजको इन्जिन बन्द गरिँदैन। पोखरा जस्ता सहरी भेगका विमानस्थलमा जहाज अवतरणपछि दुवै इन्जिन बन्द गरिन्छ। ठूला र सुविधासम्पन्न विमानस्थलमा जहाज चालू गर्न ‘ग्राउन्ड पावर सिस्टम’ राखिएको हुन्छ। त्यसले ब्याट्रीलाई ऊर्जा दिँदा इन्जिन बन्द रहेको जहाज सहजै स्टार्ट हुन्छ। तर उच्च हिमाली भेगमा ती उपकरण नहुँदा जहाजको इन्जिन चालू अवस्थामै राख्ने गरिन्छ। ‘जहाजको इन्जिन चलिरहँदा पनि नेताहरुले कति बेवास्ता गर्छन् भन्ने मनाङको घटना गतिलो उदाहरण हो,’ हवाई उड्डयन अधिकृतले भने।

दुर्गमको मात्र नभई पोखरा–काठमाडौं रुटमा पनि शीर्ष नेताहरुका कारण बेलाबेला जहाजले पर्खिनुपर्ने अवस्था आउने गरेको छ। पोखरा आएका नेताहरुले फर्किने बेलामा ढिलाइ भएको भन्दै केही बेर पर्खिन एयरलाइन्सलाई अनुरोध गर्ने गरेका छन्। ‘धेरैजसो नेताले उडान तालिका ख्याल राख्दैनन्, ५–१० मिनेट पर्खिनु भनेर खबर गर्छन् अनि आउने बेला झनै ढिला गर्छन्,’ एक निजी एयरलाइन्सका पोखरास्थित स्टेसन म्यानेजरले भने, ‘हवाईजहाजका लागि १० मिनेटको पर्खाइ पनि महत्वपूर्ण हुन्छ। मौसम गडबड भयो भने १० मिनेटले पनि अर्थ राख्छ।’ उच्चपदस्थ नेताहरुभन्दा पनि उनीहरुका आसेपासेका कारण समस्या आउने गरेको ती स्टेसन म्यानेजरले बताए।

मन्त्री भट्टराईले माफी मागे, आपत्ती जनाउनेलाई राजावादीको आरोप
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्ना कारण विमान उडानमा विलम्ब भएको घटनाप्रति माफी मागेका छन्। भट्टराईका कारण विमान उड्न ढिला हुँदा आफूहरुलाई मर्का परेको भन्दै असन्तुष्टि जनाउनेहरुलाई राजावादीको आरोप लागेको छ।

अति विशिष्ट र विशिष्ट व्यक्तिहरूका कारण जहाजको उडानमा अवरोध हुँदै आएका बेला शनिबार साँझ नेपालगन्ज विमानस्थलमा भएको घटनाले गम्भीर रुप लिएको छ। मन्त्री भट्टराईका कारण बुद्ध एअरको विमान ढिला भएको भनी अन्य यात्रुले गरेको आपत्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटना चर्चामा आएको हो। कैलालीको टीकापुरमा आयोजित डल्फिन महोत्सवमा भाग लिएर धनगढीबाट फर्कन ढिला भएपछि नेपालगन्ज विमानस्थल पुगेका मन्त्रीले विमानका यात्रुलाई एक घण्टासम्म कुराएको भन्दै विमानस्थलमै विरोध भएको हो।

नियमित समयभन्दा उडान समय १५ मिनेट ढिला भएको मन्त्रीले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्। तर विरोध गर्ने पक्षले भने एक घन्टा ढिलो गराएको आरोप लगाएको छ। बुद्ध एयरभित्र खिचिएको भिडियोमा मन्त्री भट्टराईले यात्रुलाई बिनाजानकारी एक घण्टादेखि रोकेर राखेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले आपत्ति प्रकट गरेको सुनिन्छ।

‘तपाईंले हाम्रो प्लेन रोक्ने ? तपाईंले नै बनाएको संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्न पाउने भनेर ? यसको जवाफ दिनुहोस् मन्त्रीज्यू। हामी सम्मान गर्छौं तर यो तरिका भएन, कहाँ हुनुहुन्थो, मोजमस्तीमा हुनुहुन्थो कि ? समयको ख्याल राख्नुपर्दैन’, भिडियोमा प्रश्न गरेको सुनिन्छ।

‘प्रधानमन्त्री आउँदा दुई घण्टा प्लेन रोक्ने। तपाईंको बुद्धिमा अलिकति बिर्काे आओस्। संस्कृतिमन्त्री हुनुहुन्छ, संस्कार छैन। हामीले मन्त्रीज्यूसँग स्पष्टीकरण माग्यौं तर मन्त्रीज्यूले कुनै प्रतिक्रिया दिनुभएन, हामी फेरि पनि सोसल मिडियामार्फत जवाफ खोज्ने छौं तर हामी छोड्दैनौं,’ भिडियोमा भनिएको छ।

मन्त्री भट्टराईले काठमाडौं उत्रिएलगत्तै फेसबुकमार्फत नेपालगन्ज विमानस्थलमा आफ्नो कारणबाट यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेका छन्। उक्त सन्देशमार्फत बुद्व एयरसँगको अनुरोधमा नेपालगन्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केही समय ढिला हुन गएको उनले जनाएका थिए। सबै यात्रुको बोर्डिङ भएको १५ मिनेटभित्र आफ्नो टिम विमानस्थलमा प्रवेश गरेको उनको दाबी छ। आइतबार प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको कारण आफू काठमाडौं फर्कनै पर्ने दबाबमा रहेको पनि उनले जानकारी गराएका छन्।

नेपालगन्ज विमानस्थलमा तीनचारजना व्यक्ति आक्रामक शैलीमा आफूविरुद्व उत्रिएको उनले लेखेका छन्। ‘एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें। सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु। मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु,’ मन्त्री भट्टराईले भनेका छन्।

के भन्छ बुद्ध एयर
बुद्ध एयरले भने दुवै पक्षबाट आएको समयको दाबी सत्य नभएको जनाएको छ। बुद्ध एयरका प्रवक्ता खगेन्द्रबहादुर बस्नेतले विमानले उडान भर्दासम्म ३२ मिनेटको समय लागेको जानकारी गराएका छन्।

‘मन्त्रीज्यू विमानस्थलतर्फ आइरहनुभएकाले पाँच मिनेटभित्रै आइपुग्ने जानकारी पाएपछि केही समय विमान रोकेको हो,’ उनले भने, ‘जहाज ग्राउन्डमा हुँदा पाँच–दस मिनेट आन्तरिक तयारीमा लाग्ने भए पनि स्वभावैले यात्रुलाई आफ्नो सिटमा बस्न लगाएको तर मन्त्री भनेकै समयमा आइनपुग्दा समस्या आएको हो।’

मन्त्रीसँग भएको टिममध्येबाट फोन गर्नेले आफूहरु विमानस्थलनजिकैको नेपालगन्जको धम्बोजीमा आइपुगेको जानकारी गराएका कारण उक्त स्थान नजिकै हो भन्ने आधारमा अन्य यात्रुलाई पनि त्यही जानकारी गराएको उनको भनाइ छ। तर मन्त्री भनेकै समयमा नआएपछि केही यात्रु विमानबाट बाहिर निस्किएर मन्त्रीविरुद्ध तथा विमानका कर्मचारीसँग आक्रोशित भएको उनले बताए।

‘मन्त्रीज्यूलाई उहाँका तर्फबाट जानकारी गराएको समय थाहा नभएको पनि हुन सक्छ पाँच मिनेटमा विमानस्थलमा छिर्न लाग्दैछौं भन्ने जानकारी आएको थियो तर २० मिनेटसम्म मन्त्री नआएपछि विरोध भएको हो,’ उनले भने। मन्त्री आउँदैछन् भन्ने जानकारी पाएका यात्रुले विमानभित्र २० मिनेटसम्म कुरे पनि मन्त्री नआएपछि केही यात्रु बाहिरिएको पनि उनले जनाए। ‘विमानको ढोका बन्द भइसकेको अवस्थामा पुनः ढोका खोलेर मन्त्रीलाई कुरेका होइनौं’, उनले भने ‘त्यो दिनको अन्तिम उडान भएका कारण पनि पाँच मिनेटमा मन्त्री आउने भएपछि किन छोडेर जानु भनेर कुरेका हौं, मन्त्रीको डरले होइन,’ उनको भनाइ छ।

राजनीतिक निराशाका कारण उक्त परिस्थिति सिर्जना भएको जनाउँदै उनले ‘मन्त्रीज्यू ढिला हुने कुरा पहिलै नै भएको भए यात्रुलाई प्राविधिक कारण भन्दै विमानभित्र बसाउने नै थिएनौं तर यात्रुलाई मन्त्री आउने जानकारी पनि भएको र २० मिनेटसम्म कुर्दा पनि नआएपछि आक्रोशित भई विमानबाट बाहिरिएका हुन्,’ उनले भने।

कसैले रोक्दैमा उडान रोक्न मिल्छ भन्ने प्रश्नको जवाफमा उनले मन्त्रीको आदेशमा जहाज नरोकिएको जनाउँदै उनले थपे, ‘पाँच मिनेटमा आइपुग्ने जानकारी पाएको र मन्त्रीको बोर्डिङ पासको समय तथा सुरक्षा जाँचमा समय नलाग्ने भएका कारण पनि एक्कैछिन भनेर कुरेका मात्र हौं।’

योभन्दा पहिले भैरहवामा सूचना तथा सञ्चारमन्त्रीलाई विमानले छोडेको भन्ने खबरबाट घटना प्रभावित नरहेको समेत उनले प्रस्ट पारेका छन। ‘पहिले र अहिलेको घटना एकै प्रकृतिका हुन्। तर त्यो समय मौसमको प्रतिकूलताले मन्त्रीलाई छोडेका हौं। अहिले अन्तिम समयमा आएर मन्त्री आउने भएकाले व्यावसायिक रुपमा कुरेका हौं, त्यसलाई अन्यथा नलिन आग्रह गर्छाैं’, उनले भने।

ज्ञानेन्द्र शाहीको सम्मेलनमा आक्रमण

भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका ज्ञानेन्द्र शाहीले नेपालगन्ज घटनाबारे जानकारी गराउन आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनैमाथि हातपात भएको छ। त्यसपछि सुरक्षाका लागि भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए।

‘जासुसी संयन्त्रबाट आएको सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेको कमान्डमा पत्रकार सम्मेलनमा प्रहरी खटाए पनि आयोजकले प्रहरीलाई पत्रकार सम्मेलनमा जान दिएका थिएनन्’, उनले भने, ‘तीन तलामाथि भएको उक्त पत्रकार सम्मेलनमा उनीमाथि आक्रमणको प्रयास भएपछि मात्रै सुरक्षाको हिसाबले उनलाई प्रहरी परिसर ललितपुरमा राखेका हौं।’ राति अबेरसम्म उनलाई प्रहरीले सुरक्षा दिइरहेको पनि उनको भनाई छ। ‘अहिले टाउको दुख्यो भनेका कारण शाहीलाई उपचार गराउन अस्पताल पठाएका छौं। बाहिरको अवस्था र सुरक्षा संयन्त्रबाट आउने सूचनाका आधारमा उनलाई सकुशल घर फिर्ता गरिनेछ’, उनले साँझ भने।

ज्ञानेन्द्र शाहीको फेसबुक पेजमा पत्रकार सम्मेलनमा त्रिचन्द्र क्याम्पस अनेरास्ववियु एकाइका अध्यक्ष गोविन्द थपलियाको नेतृत्वमा आएको टोलीले अभद्र व्यवहार गरेको उल्लेख छ।

प्रकाशित: ३० भाद्र २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App