टीकापुर - कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको कार्यकक्षमा गएराति आगजनी भएको छ। अज्ञात समूहले मेयरको कार्यकक्षमा आगजनी गरेको मेयरकाे सचिवालय प्रमुख विष्णु खनालले बताए। खनालकाअनुसार मेयरको कार्यकक्षको झ्यालको सिसा फुटाइएको छ भने झ्याल नजिकै एक हतौडा र पेट्रोल भरिएका २ वटा बोत्तल भेटिएका छन।
उनीहरुले झ्यालबाटै फालेको आगो लागेर मेयरको कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा क्षति पुगेको छ। कार्यकक्षमा रहेका अन्य कागजातमा कुनै क्षति नपुगेको खनालले बताए। उनले नगरपालिकाको अन्य कोठामा त्यस्तो कुनै शंकास्पद कार्य नभएको जानकारी दिए।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले कसैले आगजनी नै गरेको हो भन्न नसकिने बताए। उनले विद्युत ‘पावर कन्ट्रोल’ बाट आगो निस्केको देखिएको जानकारी दिए। उनले घटनाका बारेमा अनुसन्धान भैरहेको बताए। मेयर बजगाईले संक्षिप्त प्रतिक्रिया दिँदै कसैले रिसिईबी साँध्न आफ्नो कार्यकक्षमा आगजनी गरेको बताए।
प्रकाशित: २९ भाद्र २०७६ ०७:३४ आइतबार