१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘कनेक्टिभिटी’ नबढ्दा व्यावसाय खस्कियो’

पोखरा - हवाई र सडक सञ्जाल व्यवस्थित नहुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको भन्दै यहाँका व्यवसायीले चिन्ता जनाएका छन्। राजधानी काठमाडौं र अर्काे पर्यटकीय सहर लुम्बिनीदेखि पोखरासम्म आउने स्थलमार्ग अस्तव्यस्त हुँदा पर्यटक आगमन सोचेजति फस्टाउन नसकेको उनीहरुले बताए। व्यवस्थित स्थलमार्ग नभएसम्म पर्यटकको आगमन बढाउन नसकिने उनीहरुको भनाइ छ।

पोखरा पर्यटन परिषद् (पिटिसी)को १९ औं वार्षिक साधारणसभामा व्यवसायीले पर्यटन क्षेत्र पछिल्लो समय झनै कमजोर हुँदै गएको भन्दै चिन्ता जनाए। अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले पर्यटनमा सरकारी निकायले कुनै योजना नै ल्याउन नसकेको बताए। ‘पर्यटनमा कुनै योजना नै बन्न सकेको छैन। भ्रमण वर्ष घोषणा गरे पनि त्यो अनुसार कार्यक्रम आउन सकेनन्,’ उनले भने, ‘पर्यटकको सिजनको अवस्था हेर्दा निराशलाग्दो अवस्था छ। एकातिर पहुँच कमजोर छ, अर्कोतिर डेंगी रोगको त्रास बढ्दो छ। समस्या समाधानको प्रयास पनि कमजोर छ।’

पर्यटक आगमन बढाउने गरी कार्यक्रम कतैबाट पनि नभएको उनले बताए। गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि त्यो अनुसार काम हुन नसकेको उनले बताए। ‘आन्तरिक भ्रमण वर्षको त अवधि नै सकिन थाल्यो, तर पनि केही गतिविधि हुन सकेका छैनन्,’ उनले भने। युरोपियन पर्यटक नेपाल आउनै छाडेको उनले बताए। भट्टराईका अनुसार युरोपियन पर्यटक खर्चालु हुन्छन्। युरोपियन पर्यटक आउँदा व्यवसायीले राहत अनुभव गर्ने भए पनि ती पर्यटक आउने गरी सरकारले उपयुक्त पूर्वाधार र वातावरण बनाउन नसकेको बताए।

‘काठमाडौंबाट पोखरा आउनुपर्दा घन्टौ लाग्छ। त्यस्तै भैरहवाबाट पोखरा आउन पनि सहज छैन,’ उनले भने, ‘स्थलमार्ग अस्तव्यस्त छ। हवाई मार्ग पनि भरपर्दाे हुन सकेको छैन। राजधानी भित्रिने हवाई मार्ग नै भरपर्दाे बन्न सकेन।’ जसोतसो नेपाल भित्रिएका विदेशी पर्यटकले काठमाडौंमा पनि धुलो र पदयात्रामा पनि धुलो खेप्नुपरेको भन्दै गुनासो गर्ने गरेको उनले बताए। पदमार्गमा पनि जथाभावी मोटरबाटो पु¥याउँदा पदयात्रासमेत धुलाम्य हुन थालेको उनले बताए। ‘काठमाडौंमा सडकमा धुलो, पोखरासम्म आउँदा राजमार्गमै धुलो, अनि पदयात्रामा पनि धुलो रहेको छ,’ उनले भने, ‘यो अवस्थामा पाहुना आउने वातावरण नै छैन।’ कम्तिमा पदमार्ग वातावरणमैत्री बनाउनुनपर्ने उनले सुझाए।

अर्का पर्यटन व्यवसायी अग्नी कँडेलले पनि प्रदेश सरकार र पर्यटन व्यवसायीबीच न्यानो सम्बन्ध हुन नसक्दा त्यसले पर्यटनमा असर पारेको बताए। उनले आन्तरिक भ्रमण वर्ष घोषणा गरे पनि त्यो अनुसार प्रवद्र्धन गर्न नसक्दा पर्यटक आगमन फस्टाउन नसकेको बताए। सन् २०२० को नेपाल भ्रमण वर्षको नजिक भए पनि कार्यक्रम प्रभावकारी बनाउने प्रयास अझै सुरु नभएको कँडेलले बताए।

गण्डकी प्रदेशका सदस्य बिन्दु थापाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहे पनि त्यो अनुसार पूर्वाधार तयार नभएको भन्दै चिन्ता जनाए। पोखरामा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको भन्दै आफूले पनि पर्यटनमा लगानी गरे पनि त्यसको प्रतिफल पाउन निकै नै मुस्किल रहेको उनले सुनाए। ‘धमाधम होटल बढेका छन्। होटलसँगै कोठा पनि थपिएका छन्,’ थापाले भने, ‘तर पाहुना सोचेजति आएका छैनन्। पर्याप्त पाहुना नहुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा व्यवसायीले लाभ पाउन सकेका छैनन्।’ दुई हजार रुपैयाँमा कोठा बेचेर पर्यटन व्यवसायीले लाभ पाउन नसक्ने उनले बताए। ‘सस्तोमा सेवा दिएर होटलले नाफा कमाउने अवस्था छैन,’ उनले भने।

परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले योजना बनाए अनुसार पूर्वाधार तयार नहुँदा पर्यटक बढाउन नसकेको बताए। हिजो पदयात्राको सम्भावना रहेको र प्रकृतिलाई बेचेर पर्यटन चलाएको भए पनि अहिले निर्वाहमूखी बन्दै गएको उनले बताए। ‘पर्यटनलाई अब व्यावसायिक बनाउने हो भने पर्याप्त पूर्वाधार बनाउनुपर्छ,’ उनले भने, ‘विमानस्थल बन्ने क्रम चलिरहेको छ। तर, अरु पूर्वाधार बनाउन अझै सुरु भएको छैन।’ उनले पर्यटकलाई नेपालसम्म आउनका लागि सहज पहुँच नै नभएको बताए।

‘राजमार्ग नभएको पनि होइन, तर, राजमार्गको वास्तविक रुप निकै नै कमजोर छ,’ उनले भने, ‘राजमार्ग विस्तार र मर्मतसम्भार पनि निकै नै सुस्त गतिमा भइरहेको छ।’ उनले फास्ट ट्र्याक नभएसम्म पोखराको पर्यटन उभो लगाउन कठिन रहेको बताए। ‘पोखराबाट काठमाडौं र लुम्बिनीसम्म जोड्ने फास्ट ट्र्याक बनाउने हो भने अबको केही वर्षमा पोखराको पर्यटन उकासिन्छ, तर, त्यसको सुरुवात नै हुन सकेको छैन,’ पोखरेलले भने, ‘सरकारले योजना बनाए पनि कार्यन्वयन नहुँदा पर्यटन व्यवसायी उकास्न मुस्किल रहेको छ।’

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल पनि पर्यटनमा ‘कनेक्टिभिटी’ नै चुनौती रहेको बताए। ‘आन्तरिक पर्यटक भित्रयाउनका लागि पर्याप्त पहल भइरहे पनि विदेशीका लागि सोचेअनुसार काम हुन सकेको छैन,’ उनले भने, ‘विदेशी पर्यटक भिœयाउने माध्यम हवाई कनेक्टिभिटी नै बलियो हुन सकेन। हवाई सेवा व्यापक बनाउन सकिएको छैन।’

उनले आन्तरिक पर्यटकको चहलपहल बढाउन पोखरादेखि विराटनगर तथा नेपालगञ्जसम्म सिधा हवाई सेवा विस्तार गर्ने योजना रहेको सुनाए। दसैंअघि पोखरादेखि बिराटनगर र नेपालगञ्जसम्म सिधा हवाई सेवा सञ्चालन गर्नेगरी तयारी थालेको उनले बताए। ‘हामीले हवाई कम्पनीसँग आन्तरिक उडान विस्तारको योजनाबारे छलफल गरिरहेका छौं। उडान सञ्चालनले आउजाउ बढाउँछ,’ उनले भने।

प्रकाशित: २९ भाद्र २०७६ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App