१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वार्ता मोर्चासँग होइन,गठबन्धनसँग गर्नुपर्छः यादव

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका नेता उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानकालागि  सरकारले गठबन्धनसँगै वार्ता गर्नुपर्ने बताएका छन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गै पनि वार्ता गर्न सकिने धारणा बाहिर आइरहेको बेला रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मधेसी मोर्चापनि संघीय गठबन्धनमै छ। गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै वार्ता गर्नुपर्छ। अलग अलग वार्ता गरेर समस्याको समाधान निस्कदैन। सके आन्दोलनमा रहेका र संविधासभाको निर्वाचनमा नरहेका सबैसँग वार्ता गरे मुलुकले निकास पाउँछ। मोर्चासँग बार्ता गरेर समस्याको समाधान हुँदैन। यदि सरकारले वार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्छ।’

उनले गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी गर्दै गठबन्धनका दलले भने जो संयोजक भए केही फरक नपर्ने र संयोजकले आन्दोलन भने हाक्न सक्नुपर्ने धारणा राखे ।
‘मलाई गठबन्धनमा रहेका २८ दलले संयोजक चयन गरेको हो,’ उनले भने, ‘यसमा सबैको समर्थन छ तर कसैलाई ब्यक्तिगत रुपमा इश्र्या भए मलाई केही भन्नु छैन।’

उनले आफूले भन्ने गरेको पुर्नलेखन र संशोधन फरक विषय नभएको भन्दै संशोधन समस्या समाधानको प्रक्रिया र पुर्नलेखन परिणाम भएको तर्क गरे। ‘संविधान संशोधनको प्रक्रियाबाट असहमति रहेका संविधानका धारालाई पुर्नलेखन गर्ने हो,’ उनले भने,‘संविधानका गलत प्रावधान सच्याउनै पर्छ। पुर्नलेखन नगरी समस्या समाधान नै हुँदैन, मुलुकले निकास पाउँदैन।’

यादवले गठबन्धनले जारी राखेको सत्याग्रह आन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समर्थन रहेको दाबी गर्दै एमाले बाहेकका सबै दल र नागरिक समाजले समर्थन गरिसकेपछि अवस्थामा गठबन्धनको आन्दोलनले जितिसकेको दाबी गरे ।
उनले भने, ‘सत्याग्रह आन्दोलनमा सबैले समर्थन गरिसकेपछि आन्दोलनले जित्छ।’
यादवले सबैले समर्थन गरिसकेको आन्दोलनलाई सम्वोधन नगर्ने हो भने राज्यले शान्तिपूर्ण रुपमा कुरा सुन्दैन भन्ने पुष्टि हुने  र त्यसपछि मुलुक हिंसात्मक रुपमा जाने चेतावनी दिए।

‘शान्तिपूर्ण रुपमा राज्यले नसुने आन्दोलनलाई हिंसातिर धकेल्न खोजेको पुष्टि हुन्छ । राज्यको गलत नीतिले यस्तो हुन्छ,’ उनले भने।
यादवले असार मसान्तसम्म आफूहरुको आन्दोलन सत्याग्रहकै रुपमा अघि बढ्ने र त्यसपछि पनि नसुने आन्दोलनको स्वरुप परिवर्तन हुने स्पष्ट भन्दै  मुलुकमा विभेद कायम रहेसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

 

प्रकाशित: १५ असार २०७३ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App