१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एनजिओप्रति खनिए जनप्रतिनिधिः अर्ब खर्चिएर करोडको पनि उपलब्धि भएन्

सिन्धुली– यहाँको जनप्रतिनिधिहरुले गैरसरकारी संस्थाले कामभन्दा बढी खर्च देखाएको आरोप लगाएका छन्। अर्बौ रुपैयाँ खर्च गर्दा करोडको पनि उपलब्धि नहुने गरि गैरसरकारी संघस्थाले अपारदर्शी खर्च गरेको आरोप लगाएका हुन्।

गैरसरकारी संस्था महासंघ सिन्धुलीको छैटौं अधिवेशनमा प्रदेश सांसद लेखनाथ दाहालले गैरसरकारी संस्थाको काम अपारदर्शी भएको आरोप लगाए। उनले गैर सरकारी संस्थाले मुरी रोपेर मानो भित्र्याएको आरोप लगाए। आइएनजिओले नेपालमा आएर धेरै सरकार बनाएको भन्दै जुन त्यसबाट बजेट आउँछ त्यहि देशको सरकार र निति नियमको मोडलमा नेपालमा काम गरेको जनाए। आइएनजिओ विदेशीकै इशारामा चल्ने अनि एनजिओ आइएनजिओको भरिया भएर परियोजना अगाडी बढाउने काम गरेको उनको आरोप थियो। मानो लगानी गरेर मुरी भित्र्याउदा मात्रै सफलता हासिल गरेको मानिन्छ, तर एनजिओ ठिक उल्टो छ, उनले भने, एनजिओ सञ्चालक प्रतिष्ठा कमाउने पेशा अँगालेर पैसा कमाउन खोज्दा बद्नाम भएका हुन्। एनजिओले सरकारको सहयोगी र साझेदार संस्थाको रुपमा काम गर्नुपर्ने दाहालको सुझाव थियो। कतिपय एनजिओले बजेट र परियोजना पार्ने बाहानामा धर्म परिवर्तनमा सघाएको अर्का प्रदेश सांसद विनोद खड्काले बताए। जातिय विभेद ल्याउने तथा धर्म परिवर्तन गर्ने कार्यक्रम सञ्चालन भएको गुनासो आएको छ, उनले भने आगामी दिनमा यस्तो सुन्न नपरोस्। उनले मुलुक र समाजको आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम गर्न सुझाए। एनजिओको काम धेरैजसो अन्र्तक्रिया गोष्ठि सचेनामुलक कार्यक्रम भन्दै कागजमै बजेट सकिएको पाइएको भन्दै उनले जनताले महसुस गर्ने काम धेरै गर्न नसकेको आरोप लगाए।

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज बर्माले गैरसरकारी संस्थाले गरेको कामको भरपुर प्रशंसा गरेका छन्। उनले जिल्ला समन्वय समिति भुमिका विहिन भएको अवस्थामा गैरसरकारी संस्थाले अनुगमनलगायतको काम आफुहरुलाई दिएर जिल्ला समन्वय समितिको महत्व बढाएको भन्दै प्रशंसा गरे। सबै जनप्रतिनिधि सबै क्षेत्रमा विज्ञ छन् भन्ने हुदैन, उनले भने, गैरसरकारी संघसस्थाले जनप्रतिनिधिलाई समेत विज्ञ बनाएका छन्।

सुनकोसी गाँउपालिका प्रमुख दिपा बोहोराले सुनकोसी गाँउपालिकामा जिल्लाकै स्थानीय तहभन्दा धेरै बढी गैरसरकारी संघसस्थालेले काम गरेको भन्दै समृद्ध गाँउपालिका बनाउन एनजिओको भुमिका पनि महत्वपुर्ण हुने बताइन्। गैरसरकारी संघसस्था हाम्रो गाँउपालिकामा धेरै छन्, गाँउपालिकाको उदेश्य पुरा हुने गरी स्थानीय सरकारको साझेदारी भएको काम गर्नुस्, उनले भनिन्। दर्जनौं गैर सरकारी संस्था जिल्लामा भए पनि उनीहरुले गरेको कामको उपलब्धिको लेखाजोखा हालसम्म नभएको सहभागीहरुको टिप्पणी थियो।

कार्यक्रमकै सहभागी कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले विकास गर्ने बाहानामा गैर सरकारी संस्थाको बजेट धेरै परिचालन भएपनि हालसम्मको उपलब्धि के भयो भन्ने समिक्षाको विषय बनेको बताए। अब एनजिओले जनताको आखाले प्रष्ट देख्न सक्ने र हातले छाम्न सक्ने विकास गर्नुपर्छ, उनले भने समाज र देशको आर्थिक समृद्धिका लागि बनाएको योजना कत्तिको उपयुक्त छन् भन्ने एकिन गर्नुपर्ने अवस्था रहेको धाराणा राखे। गैरसरकारी संस्था महासंघका निर्वतमान केन्द्रिय महासचिव मिलन श्रेष्ठले सरकारको निति नियममा रहेर गैरसरकारी संघसस्थाले काम गरेको बताए। विधानलाई टेकेरनै हामीले काम गर्ने हो, उनले भने, पछिल्लो समय गैरसरकारी संघसस्थाले स्थानीय सरकारको साझेदारीकै रुपमा काम गरेको छ। नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा महत्वपुर्ण भुमिका गैरसरकारी संस्थाले खेलेको दावी गरे।

प्रकाशित: २८ भाद्र २०७६ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App