१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण : एकसाथ पाँच सरकारी भवन उद्घाटन

सिन्धुपाल्चोक -  भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत बनेका पाँच सरकारी संरचना शुक्रबार एकसाथ हस्तान्तरण र उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सशुील ज्ञवालीले पुनर्निर्मित भवन हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

भूकम्पले भत्काएका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय र डिभिजन वन कार्यालय आवास भवनको पुनर्निर्माण सकेर उद्घाटन गरिएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार कोलेनिका, प्रजिअ र वन डिभिजन आवास एकै प्याकेजमा टेन्डर प्रक्रियाद्धारा नौ करोड ४६ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको छ । त्यस्तै मालपोत आवास एक करोड ४६ लाख र कार्यसञ्चालन केन्द्र दुई करोड ३७ लाख रुपैयाँ लागतमा बनेका हुन् ।

भूकम्पले क्षतिग्रस्त बनाएका सदरमुकाममा रहेका १७ मध्ये १६ सरकारी संरचनाको पुनर्निर्माण थालिएको थियो । तीमध्ये ६ सरकारी संरचनाको पुनर्निमाण सम्पन्न भएको इकाइले जनाएको छ । इकाइका अनुसार १० संरचना पुनर्निर्माणको क्रममा छन् । क्षतिग्रस्त जिल्ला हुलाक कार्यालय भत्काउने र नयाँ बनाउने टेन्डर एकै प्याकेजमा अघि बढाउने तयारी भइरहेको छ । सरकारी संरचना पुनर्निर्माणमा एशियाली विकास बैंकक (एडिबी) को आर्थिक सहयोग रहेको इकाइ (भवन) प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।

गुनासो व्यवस्थापन जटिल–ज्ञवाली

भवन हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गुनासो व्यवस्थापन जटिल बनेको बताए । ‘यसले पुनर्निर्माणमै असर गरेको छ । समाधान निकाल्न हम्मे परिरहेको छ,’ उनले भने । बास्तविक पीडित नछुटुन् भन्ने उद्देश्यले गुनासो आवेदनमार्फत छुट सर्वे र पुनःसर्वे गरिए पनि समाधान प्रक्रिया जटिल बनेको उनले जनाए ।

गुनासो व्यवस्थापनमा जटिलता नआओस् भनेरै यसको जिम्मेवारी स्थानीय तहलाई दिएका थियौँ । त्यहाँबाट पनि समाधान आउन सकेन,’ ज्ञवालीले टिप्पणी गरे । गुनासो व्यवस्थापन गर्नै पर्ने भएकाले उचित समाधान बिकल्प निकालिने उनको भनाइ थियो ।

भूकम्प प्रभावित गुठीपीडित, भूमिहीन, सुकुम्बासीको समस्या समाधान जिल्ला तहबाटै गर्न उनले आग्रह गरे । ‘ऐनमै व्यवस्था गरेर निर्णय अधिकार जिल्लालाई दिइएको छ,’ उनले भने । उनले पाँच हजार सुकुम्वासी, भूमिहीनको समस्या प्राधिकरणले हल गरिसकेको जानकारी दिए ।

 

प्रकाशित: २७ भाद्र २०७६ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App