१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्युत् आयात बर्सेनि बढ्दै

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै चार अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको विद्युत् आयात गरेको छ। प्राधिकरणले भारतबाट बिजुली आयात गरेर नेपालमा लोडसेडिङ मुक्त गराउँदै आएको छ। तर, बर्सेनि विद्युत् आयातको औषत दर भने तीव्र गतिमा बढिरहेको छ। आर्थिक वर्ष ०७४/७५ मा प्राधिकरणले भारतबाट १८ अर्ब ४२ करोड रुपैयाँको बिजुली आयात गरेको थियो। प्राधिकरणले गत आव ०७५/७६ मा वर्षमा २३ अर्ब ३ करोड रुपैयाँको विद्युत् आयात गरेको छ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नेपालमा पर्याप्त बिजुली उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘नेपालमा उत्पादित बिजुलीले बजारको माग धान्नै सकेको छैन। त्यसैले भारतबाट बिजुली आयात गर्नु परेको हो,’ उनले भने, ‘नेपालका अधिकांश जलविद्युत् आयोजना रन अफ दी रिभरमा आधारित छन्। जसका कारण हिँउदको समयमा विदेशबाट बिजुली आयात नगरी सुखै छैन।’ प्राधिकरणका अनुसार अहिले भारतबाट दैनिक तीन सय २९ मेगावाट बिजुली आयात हुँदै आइरहेको छ। प्राधिकरण मातहत रहेका सहायक कम्पनीबाट चार सय ६८ मेगावाट र निजी क्षेत्रबाट चार सय ७९ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ।

गत आर्थिक वर्षमा मात्रै चार अर्बभन्दा बढीको विद्युत् आयात

प्राधिकरणले गत आर्थिक वर्षमा ३२ करोड रुपैयाँबराबरको बिजुली निर्यात गरेको थियो। नेपालबाट उत्पादित एक हजार दुई सय पाँच मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ। प्राधिकरणले हिँउदयाममा भने रन अफ दी रिभरमा आधारित जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन न्यून हुने भएकाले अन्य समयको तुलनामा छिमेकी मुलुकबाट अझै धेरै बिजुली आयात गर्दै आइरहेको छ। ‘यहाँ वर्षात्को समयभन्दा हिँउदको समयमा बिजुलीको माग धेरै हुन्छ,’ उनले भने, ‘वर्षात्को समयमा भने रन अफ दी रिभरमा आधारित आयोजनाबाट बिजुली उत्पादन अत्यन्तै न्यून हुन्छ। त्यसैले छिमेकी मुलक भारतबाट आयात गर्नु परेको हो।’ प्राधिकरणका प्रवक्ता अधिकारीले चालु आर्थिक वर्षमा एक हजार एक सय मेगावाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय ग्रिडमा जडान हुने बताए। ‘चालु आवमा एक हजार एक सय मेगावाटभन्दा बढीको बिजुली उत्पादन हुने लक्ष्य राखेका छौं,’ उनले भने, ‘हामीले एक शताब्दीमा उत्पादन गर्न नसकेको बिजुली चालु आवभित्रै उत्पादन गर्ने लक्ष्य राखेका छौं। त्यसैले लक्ष्यअनुसार एक हजार एक सय मेगावाट बिजुली उत्पादन हुन सकेको खण्डमा वर्षात्मा बिजुली आयात गर्नुपर्ने अवस्था रहँदैन।’ प्राधिकरणले सन् २०२७ देखि विद्युतमा आत्मनिर्भर हुने प्रक्षेपण गरेको छ। प्रवक्ता अधिकारी नेपाल र भारतबीच इनर्जी बैंकिङ अभ्यास भइरहेको बताउँछन्। ‘अहिले दुवै राष्ट्रबीच इनर्जी बैंकिङको अभ्यास भइरहेको छ,’ उनले भने, ‘नेपालमा बिजुली उत्पादन धेरै भएका बेला भारतलाई विद्युत् निर्यात गर्दै आइरहेका छौं।’

नेपालले सीमा क्षेत्रमा जोडिएका प्रसारणलाइनबाट विद्युत् आयात गर्दै आइरहेको छ। प्राधिकरणका अनुसार गत आवमा सात अर्ब ५५ करोड युनिट (गिगावाट आवर) मध्ये प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ५५ करोड युनिट (३४ प्रतिशत) बिजुली उत्पादन भएको छ। निजी उत्पादकबाट दुई अर्ब १९ करोड युनिट (२९ प्रतिशत) उत्पादन भएको थियो। भारतबाट करिब तीन अर्ब ४७ करोड युनिट (३७ प्रतिशत) बिजुली आयात गरेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २७ भाद्र २०७६ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App