१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नागरिकताअघि वैवाहिक परिचयपत्रको प्रस्ताव

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विदेशी बुहारीलाई वैवाहिक अंगीकृत नागरिकता दिनुअघि राजनीतिकबाहेकको अधिकार प्राप्त वैवाहिक परिचयपत्र दिनुपर्ने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदले बताएका छन्। बुधबार र बिहीबार समितिको छलफलमा वैवाहिक अंगीकृतलाई वैवाहिक परिचयपत्र दिने विषय अघि आएको छ। समितिको बिहीबारको छलफलमा अधिकांश नेकपाका सांसदले राजनीतिक अधिकारबाहेक अन्य सबै अधिकार हुनेगरी वैवाहिक परिचयपत्र दिनुपर्ने बताएका हुन्।

नेकपाका सांसद जनार्दन शर्माले वैवाहिक अंगीकृत नागरिकता दिन सात वर्षको समय राख्नुपर्ने बताए। उनले वैवाहिक परिचयपत्र दिएर समस्याको समाधान खोज्नुपर्ने बताए। उनले भने, ‘सो समयसम्म जे समस्या पर्दछन् ती समस्या समाधान गर्ने उपाय खोज्नुपर्दछ।’ राजनीतिक अधिकारबाहेकको अधिकार प्राप्त वैवाहिक परिचयपत्र दिएमा बंैकिङ, शिक्षा, लोकसोवा, सम्बन्ध विच्छेद, अन्य नोकरीलगायतमा बाटो खुला हुनेछ।

नेकपाकी सांसद रेखा शर्माले वैवाहिक अंगीकृत नागरिकता दिने समय सात वर्ष राख्नुपर्ने भन्दै राजनीतिकबाहेकका अधिकार हुनेगरी वैवाहिक परिचयपत्र तुरुन्तै दिनुपर्ने बताइन्। नेकपाका सांसद नवराज सिललाले विगतमा जसरी नागरिकता दिए पनि अब नागरिकतामा कडाइ हुनुपर्ने बताए। उनले पनि सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार हुनेगरी परिचयपत्र दिन सकिने तर नागरिकता दिने समयमा भने ‘कन्जरभेटिभ’ तरिकाले जानुपर्ने बताए। उनले समितिमा सहमति नभए मतदान गरेर जानुपर्ने बताए।

नेकपाकी सांसद् तीर्था गौतमले पनि वैवाहिक अंगिकृत नागरिकता दिँदा सात वा दश बर्षको प्रावधान राख्नुपर्ने बताइन्। नेकपाका सांसद् लक्ष्मी चौधरीले वैवाहिक अंगीकृत नागरिकता तुरुन्तै दिने प्रावधान हटाउनुपर्ने बताइन्। उनले तुरुन्त परिचयपत्र दिएर समस्याको समाधान खोज्नुपर्ने बताइन्। नेमकिपाका सांसद पनि सत्तापक्षका नेकपाका सांसदसँग सहमत भएका थिए।

अघिल्लो दिन २५ गते(बुधबार)को समितिको बैठकमा गृहसचिव प्रेम राईले अंगीकृत नागरिकता दिने विषयमा निश्चित समय राखे पनि नागरिकता नपाउने बेलासम्म वैवाहिक परिचयपत्र दिन सकिने व्यवस्था राखेर जान प्रस्ताव राखेका थिए। प्रतिपक्ष कांग्रेस सांसद दिलेन्द्र बडुले भने नागरिकतबारे अहिलेसम्म भएको छलफलका आधारमा गृहमन्त्रीले पहिला जवाफ दिनुपर्ने बताए। उनले नागरिकता दिनका लागि कति समय दिने भन्ने विषयमा स्पष्ट गरेनन्।

कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल नागरिकता ऐन २०६३ ले वैवाहिक अंगिृकतलाई तुरन्तै नागरिकता दिने व्यवस्था गरेको भन्दै यसलाई कायम राख्नुपर्ने अडान राखेका थिए। भने समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले स्वःघोषणका आधारमा वैवाहिक अंगीकृत नागरिकता तुरुन्तै दिनुपर्ने बताए। अघिल्लो दिन बुधबारको छलफलमा कांग्रेसका देवेन्द्रराज कँडेलले वैवाहिक अंगीकृत नागरिकता तुरुन्तै दिनुपर्ने बताएका थिए।

प्रकाशित: २७ भाद्र २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App