१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पश्चिम नेपालमा बढ्दै डेंगी संक्रमित

नेपालगन्ज - पश्चिम नेपालमा डेंगी संक्रमितको संख्या बढ्न थालेको छ। हरेक दिनजसो डेंगीका नयाँ बिरामी देखिन थालेपछि सर्वसाधारणमा त्रास फैलिएको छ। प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी बुधबारसम्म १ सय २४ जनामा डेंगीको संक्रमण फेला परेको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। तीमध्ये सुदूरपश्चिम प्रदेशको डोटीमा एकजनाको मृत्यु भइसकेको छ भने बाँकीको उपचार भइरहेको छ।

यी प्रदेशमध्ये अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा ९५ र सबैभन्दा कम कर्णालीमा तीनजना डेंगी संक्रमित फेला परेको महाशाखाको तथ्यांकमा उल्लेख छ। सुदूरपश्चिममा २३ जना संक्रमित भेटिएका छन्। विगतमा झैं तराईका सबै जिल्लामा देखिएको डेंगीको संक्रमण यसपालि भने पहाडी जिल्लामा पनि देखिन थालेको छ। प्रदेश ५ को एउटा मात्र हिमाली जिल्ला रुकुम पूर्वबाहेक बाँकी ११ जिल्लामा डेंगीको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार प्रदेश ५ अन्तर्गत रूपन्देहीमा सबैभन्दा बढी ५० जना र सबैभन्दा कम रोल्पामा एकजनामा डेंगी संक्रमण देखिएको छ। यसलाई न्यूनीकरण गर्न कुनै औषधि नहुने भएकाले सरसफाइमा नै ध्यान दिनुपर्ने डा. चौधरीको भनाइ छ। प्रदेश सरकारले नियन्त्रणका लागि विभिन्न उपाय अपनाउँदै आएको उनले बताए। यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले रोकथाम र न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको महाशाखा प्रमुख चौधरीले बताए।

हिमाली र पहाडी जिल्ला मात्रै रहेको कर्णाली प्रदेशमा पनि डेंगीको संक्रमण देखिएको छ। यहाँका १० मध्ये दुई जिल्लामा गरी तीनजनामा डेंगी भेटिएको महाशाखाले जनाएको छ, जसमा दैलेखका दुई र रुकुम पश्चिमका एकजना छन्। यातायातका साधन, वातावरणीय फोहोरका साथै हावाको माध्यमबाट पहाडी जिल्लामा पनि डेंगीको संक्रमण देखिएको चिकित्सकको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा डेंगीको कारण अहिलेसम्म एकजनाको मृत्यु भए पनि अन्य बिरामीको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले जनाए। डेंगीका पनि विभिन्न चरण हुने र प्रायः सबैमा सामान्य अवस्था देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको दाबी छ। डेंगीलाई महामारीका रूपमा फैलन नदिन प्रदेश सरकारले प्रचारप्रसार तथा चेतनामूलक कार्यक्रम गर्न थालेको उनको भनाइ छ।

‘हामीले डेंगी नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सुरु गरेका छौं,’ प्रवक्ता विष्टले भने, ‘सबै जिल्लामा स्वास्थ्य संस्थामार्फत सरसफाइमा ध्यान दिन, जमेको पानी हटाउन, कपडाले शरीर छोप्न, झुल गलाएर सुत्न सबैलाई आग्रह गरेका छौं।’ इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर अहिलेसम्म ३ हजार ८ सय ९९ जनामा डेंगी संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App