१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आश्विन चम्कँदा इङ्ल्यान्डको संघर्ष

विशाखापट्टनम- रविचन्द्रन अश्विनले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले विशाखापट्टनममा जारी दोस्रो टेस्टको दोस्रो दिनसम्म इङ्ल्यान्डविरुद्ध पकड बलियो बनाएको छ। पहिलो इनिङमा भारतले बनाएको ४ सय ५५ रनको जवाफमा इङ्ल्यान्ड शुक्रबार खेल सकिँदा ५ विकेट गुमाएर १ सय ३ रनमा संघर्ष गरिरहेको छ। ५ विकेट हातमा रहेको भ्रमणकारी टोली पहिलो इनिङमा ३ सय ५२ रनले पछि छ।

कप्तान कोहलीले १ सय ६७ रन बनाएपछि भारतको स्कोर उकास्ने क्रममा ब्याटबाट संघर्षरत अर्धशतक बनाएका अश्विनले अन्तिम सेसनमा दुई विकेट लिँदै इङ्ल्यान्डको शीर्षपंक्ति धराशयी पारे।

तीव्र गतिका बलर मोहम्मद सामीले सुरुमै भ्रमणकारी टोलीलाई झट्का दिने क्रममा विपक्षी कप्तान एलिस्टर कुकको अफस्टम्प उडाइदिए। इनिङको तेस्रो ओभरमा सामीले २ रन बनाएका कुकलाई बोल्ड गर्दा इङ्ल्यान्ड १–४ को अवस्थामा थियो। सामीको सनसनीपूर्ण बलले कुकको अफ स्टम्प दुई टुक्रा बनेको थियो।

राजकोटमा सम्पन्न पहिलो टेस्टको दोस्रो इनिङमा ८२ रन बनाएर प्रभाव जमाएका हसिब हमिदले ५३ रन बनाएका जोए रुटसँग दोस्रो विकेटमा ४७ रन जोडेर पवेलियन फर्किए। ५० बल खेलेका हमिद स्वयंले भने १३ रनमात्र बनाउन सके। दोस्रो रन लिन दौड्ने क्रममा उनी रनआउट भए।

अफ स्पिनर अश्विनले त्यसपछि भारतीय आक्रमणको नेतृत्व गर्ने क्रममा बेन डक्केटलाई ५ रनमा बोल्ड गरे। डकेटलाई बोल्ड गरेको केहीबेरमै अश्विनले रुटको महत्वपूर्ण विकेट लिए। ९८ बलमा ६ चौकासहित करिअरको २४ औं टेस्ट अर्धशतक बनाएका रुटलाई अश्विनले उमेश यादवको हातबाट क्याच गराए । टेस्ट क्रिकेटमा डेब्यु गरिरहेका अफ स्पिनर जयन्त यादवले अर्को एन्डबाट मोइन अलीलाई आउट गरे। यादवले टेस्ट करिअरको पहिलो विकेटका रूपमा १ रन बनाएका अलीलाई पवेलियनको बाटो देखाउँदा इङ्ल्यान्ड ८०–५ को संघर्षमय अवस्थामा पुग्यो।

कठिन अवस्थामा खेल जोगाउने जिम्मेवारीसाथ आएका बेन स्टोक्स र जोनी बेरिस्टोले सम्हालिएर खेल्दै २३ रनको साझेदारी गरिरहेका छन्। दुवैको व्यक्तिगत खातामा समान १२ रन छ।

शुक्रबार दोस्रो दिन इङ्ल्यान्डका ब्याट्सम्यानहरू स्पिन बलमा संघर्ष गरिरहँदा घरेलु टोली दिउँसोको सेसनमा अलआउट हुनुअघि अलराउन्डर अश्विनले महत्वपूर्ण अर्धशतक प्रहार गरे। बिहानी सेसनमा मोइन अलीले तीन विकेट लिइसकेको अवस्थामा अश्विनले संघर्षसाथ ५८ रन बनाए। अलीले १ सय ६७ रन बनाएका भारतीय कप्तान विराट कोहलीको विकेट पनि लिए। ऋद्धिमन शाह र रवीन्द्र जडेजा अलीबाट थप सिकार भए।

प्रकाशित: ४ मंसिर २०७३ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App