१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानको ढुकुटीमा ज्ञान भण्डार : परिवारमा चारजना पिएचडी

भक्तपुर - सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस वर्षको शिक्षा दिवसमा भदौ २२ गते नेपाल विद्या भूषण ‘क’ बाट पुरस्कृतमध्ये चारजना भक्तपुर सल्लाघारीस्थित लक्ष्मीनारायण कोजू र कमलकेशरीका सन्तान हुन्। पिएचडी (विद्यावारिधि) गरेका जेठा छोरा नारायणप्रसाद कोजू, बुहारी लीला न्याइच्याई कोजू, कान्छा छोरा रोशन कोजू र जेठी छोरी नीलकमल कोजू ४०औं राष्ट्रिय शिक्षा दिवस अवसरमा राष्ट्रपतिबाट सम्मानित भएपछि यो किसान परिवारमा निकै खुसी छाएको छ। लक्ष्मीनारायणकी माइली छोरी निर्मला पनि चिनमै पिएचडी गर्दैछिन्।

‘आर्थिक अभावका कारण आफूले पढ्न नपाएपछि सन्तानलाई भने पढाउने रहर लाग्यो,’ लक्ष्मीनारायणले भने, ‘त्यो रहरले अहिले पूर्णता जस्तै पाएको छ।’ अन्न बेचेर सन्तानको शिक्षाको लागि खर्च जुटाएको स्मरण गर्दै उनले भने, ‘उनीहरुले राम्रोसँग पढे। हामीले उब्जाएको सबैभन्दा असल बाली हाम्रा सन्तान हुन्।’

बा–आमाको आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा अझ धेरै मेहनत गर्नुपरेको जेठा छोरा नारायणले बताए। भक्तपुरस्थित प्रभात स्कुलमा अध्यन गरेका उनले कक्षामा सधैं प्रथम भएको पनि सुनाए। ‘विद्यालमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पैसा लाग्दैनथ्यो,’ उनले भने, ‘त्यसैले म सधैं प्रथम हुनेगरी पढ्थें , भाइ सधैं दोस्रा भए।’ एउटै स्कुलमा तीन सन्तान पढाए एकको शुल्क छुट हुने भएकाले बहीनीको पढाइ खर्च जोगिएको उनले बताए। उनका अनुसार तीनैजनाले एउटै स्कुलमा पढेका थिए। ‘विद्यालको शुल्कमात्र जोगिँदा पनि बुबालाई झनै पढाउने हौसला भयो,’ उनले भने, ‘त्यसपछि हामीले कहिल्यै रोकिनुपरेन।’

अन्न बेचेर सन्तानको शिक्षाका लागि खर्च जुटाएका किसान लक्ष्मीनारायण कोजू भन्छन्– उनीहरुले राम्रोसँग पढे, हाम्रा लागि सबैभन्दा असल बाली यिनै सन्तान भए।

जीव विज्ञानका विद्यार्थी नारायणले युनिभर्सिटी अफ चाइनिज एकडेमी साइन्सेज, चीनबाट सन २०१७ मा पिएचडी गरेका हुन्। उनका भाइ रोशनले २०७४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङसम्बन्धी विषयमा पिएचडी गरेका हुन्। त्यसैगरी नीलकमलले सन् २०१८ मा चीनबाटै वातावरण विज्ञान र लीलाले सन् २०१८ मै युनान युनिभर्सिटीबाट इन्टरनेसनल रिलेसन्स ‐अन्तर्राष्ट्रिय सम्बन्ध) सम्बन्धी विषयमा पिएचडी गरेका हुन्। लीला पहिलो संविधानसभा सदस्यसमेत हुन्।

नारायण जनावरको उद्विकासबारे अध्ययन गर्दैछन्। एकै प्रजातिका जनावर अर्को प्रजातिमा कसरी परिवर्तन हुन्छ भनेर उनले लिँडे मुसामा अनुसन्धान गरेका छन्। आफूले अघिल्लो वर्ष नै पिएचडी सकेको भए पनि भाइ र बहीनीसँगै पदक लिने रहरले कुरेर बसेको उनले बताए। रोशनले बौद्धिक सम्पत्ति प्रतिलिपि अधिकारसम्बन्धी विषयमा अनुसन्धान गरिरहेका छन्।

व्यक्तिका सिर्जना अरुले चोर्न नसकून भनेर यस विषयको अनुसन्धानमा लागेको उनी बताउँछन्। नीलकमलले सुरक्षित पानीको विषयमा काम गरिरहेकी छिन्। औद्योगिक प्रदूषणका कारण पानीमा पर्ने असरलाई कसरी समाधान गर्ने विषयमा काम गरिरहेको उनले बताइन्। लीलाले अन्तर्राष्ट्रिय सम्बन्धमा जनकूटनीतिको भूमिका कत्तिको महत्वपूर्ण हुन्छ भन्नेबारे अध्यन गरिरहेकी छिन्। नेपाल र चीनबीच जनसम्बन्ध कसरी विकसित भइहरेको छ भन्ने विषयमा उनको अध्ययन केन्द्रित छ।

प्रकाशित: २५ भाद्र २०७६ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App