१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हृदयेश त्रिपाठीको समूहको भेला, संगठन विस्तार गर्ने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरण प्रक्रिया रोकिएपछि हृदयश त्रिपाठी, बृजेश गुप्तालगायत समूहले देशभर संगठन विस्तार गर्ने घोषणा गरेको छ। उक्त समूहले भविष्यमा छुट्टै पार्टी गठन गर्ने संकेत पनि गरेको छ। समूहले मंगलबार काठमाडौंमा भेला गरेको थियो। भेलामा २६ नेताको उपस्थिति थियो।

भेलामा प्रतिनिधिसभाका दुई सांसद त्रिपाठी, गुप्ता तथा प्रदेश ५ का दुई सांसद अजय शाही र धर्मबहादुर श्रीवास्तवका साथै ईश्वरदयाल मिश्र, पशुपतिदयाल मिश्र, अर्जुन थापा मगर, मोहम्मद साविर कर्सीलगायतका नेताको उपस्थिति थियो। उनीहरूमध्ये अधिकांश नेता यसअघि राष्ट्रिय जनता पार्टी नेपालमा आवद्ध थिए। चुनावको मुखमा उनीहरूले राजपा छाडेका थिए।

उक्त समूहको नाम स्वतन्त्र राजनीतिक समूह राखिएको छ। भेलाले १७ बुँदे प्रस्ताव पनि पारित गरेको छ। सो प्रस्तावलाई प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई बुझाउने तयारी भएको भेलामा सहभागी नेताले बताए।

भेलामा उपस्थिति अधिकांश नेता गत प्रतिनिधिसभाको चुनावमा राजपाबाट अलग्गिएर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेको चुनाव चिह्न सूर्य लिई उम्मेदवारी दिएका थिए। तीमध्ये दुई प्रतिनिधिसभा र दुई प्रदेशसभामा चुनावमा विजयी भएका थिए। सूर्य चुनाव लिइ चुनावमा गए पनि उनीहरू नेपाल कम्युनिस्ट पार्टीमा भने प्रवेश भने गरेका थिएनन्। चुनावपछि नेकपासँग एकीकरण गर्न उनीहरूले नेकपाका नेताहरूसँग दुई तीन चरण वार्ता गरे पनि वार्ता सफल भएको थिएन।

भेलाले ७७ जिल्लामा जिल्ला समिति तथा ७ वटा प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको छ। साथै काठमाडौमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरिएको उक्त समूहका नेताहरूले जनाएका छन्। पार्टी कार्यालय राख्नका लागि उपयुक्त ठाउँमा भवनको खोजी भइरहेको पनि उनीहरूले जनाए।

भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दे त्रिपाठीले स्वतन्त्र राजनीतिक समूहलाई पार्टीको रूपमा गठन गर्नसक्ने संकेत गरे। उनले भने, ‘राजनीतिमा सम्भावना जे पनि हुन्छ। राजनीतिमा आएका व्यक्तिले पार्टी गठन गर्न मन गर्नु स्वभाविक हो। तर तत्काल उक्त समूह पार्टीगत रूपमा नभई विचारका आधारमा गठन गरिएको उनले जनाए। उनल भने, ‘हाम्रो उद्देश्य राजनीतिमा आएको निराशा केही हदसम्म भए पनि सम्बोधन गर्न सकिन्छ कि भन्ने नै हो।’ अहिलेको राजनीतिक उपलब्धिमा आफूहरूको पनि अन्य नेता सरह योगदान रहेको उनले चर्चा गरे।

नेपाल कम्युनिस्ट पार्टीसँग संवाद प्रक्रिया ठप्प भएको बताउँदै आफूहरू कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने कुरा हल्ला मात्रै भएको दाबी गरे।‘हामीले सूर्य चिह्न लिएका मात्र हौ। अहिले पनि हामी स्वतन्त्र छौ। विगतमा पनि पद्मरत्न तुलाधरले सूर्य चिह्न लिई चुनाल लड्नु भएको थियो। तर उहाँ स्वतन्त्र हुनुहुन्थ्यो।’ पार्टी एकीकरणका लागि समाजवादी पार्टीसँग भने कुराकानी नभएको उनले दाबी गरे।

प्रकाशित: २५ भाद्र २०७६ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App