१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जमीन र काठ सित्तैमा पाएपछि वनमा बढ्दै बस्ती

अतिक्रमित भोलेन्टारमा प्रमुख जिल्ला अधिकारी नरहरी बरालसहितको सुरक्षा निकायका पदाधिकारीहरु बुधवार अनुगमन गर्दै । तस्बिरः मदन ठाकुर

रौतहट– जमीन  र काठ दुबै सित्तैमा पाइने भएपछि रौतहटको वन क्षेत्रमा निरन्तर अतिक्रमण बढिरहेको छ। विभिन्न जिल्लाबाट अवैध रुपमा बसाइँ सरी रौतहटको वन क्षेत्रलाई फँडानी गरी बस्ती बस्ने क्रम बढेको छ। जंगललाई फँडानी गरेपछि जमीन पनि उपलब्ध हुने र काठ पनि पाइने हुनाले राष्ट्रिय वनभित्र अवैध बस्ती बाक्लिँदै गएको देखिएको छ।

राज्यले वर्षेनी करोडौं रुपैयाँ चुरे संरक्षणका लागि खर्चिंदै आएको भए पनि न त वन क्षेत्रको संरक्षण हुन सकेको छ र न त वनभित्रको वस्तीको विस्तारलाई रोक्न सकिएको छ। लगातार वन क्षेत्रको फँडानी बढ्दै जाँदा चुरे क्षेत्र नै विनाशको संघारमा पुगेको छ।

विगत डेढ दशकमा रौतहटको वन क्षेत्रभित्र करिब आधा दर्जन बस्ती वन फँडानी गरी बसिसकेको छ।  मकवानपुर, सिन्धुली, काभे्र, धाधिँग लगायतका स्थानबाट अवैधरुपमा बसाइँ सरी आएका व्यक्तिहरुले चुरे फेदमा भोलेन्टार, भालु खोला, अरुणबस्ती, मोरङ्गे, हिलेखोला, महादेव डाँडा, गैडाटारलगायतका स्थानमा नयाँ बस्ती बसालेका छन्।

वर्षेनी विभिन्न जिल्लाको विभिन्न स्थानबाट बसाइँ सरी आउने क्रम बढेकाले वन फँडानीको क्रम पनि बढिरहेको छ। चुरेको फेदमा मुख्य गरी अवैध बस्ती बढेको हो। जंगलको मलिलो र उब्जनी हुने जमीन को साथै सालको काठ पनि सजिलै पाइने र कतैबाट कुनै रोकटोक नै नहुने भएकोले रौतहटको चुरेको डाँडा नाङ्गिने क्रम रोकिएको छैन।

विगत डेढ दशकभित्रमा आधा दर्जन बस्ती बसिसकेको र बस्तीको विस्तार दिनानुदिन भइरहेको देखिएकोले आगामी केही दशकमा भयानक परिणाम दिने देखिएको छ। अहिले नै चुरे डाँडाका पानीका मुहानहरु सुकिसकेका छन् । वन फँडानी, बस्ती क्षेत्रको विस्तार र खोलाहरुमा अवैध उत्खननले चुरे क्षेत्रका पानीका मुहानहरु सुकेको पर्यावरणविदहरु बताउँछन्।

यदि जिल्ला वन कार्यालय रौतहटको तथ्यांकलाई नै आधार मान्ने हो भने पनि रौतहटको कुल २९ हजार ४ सय हेक्टरको वन क्षेत्रमध्ये २ हजार ७०० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। चन्द्रपुर नगरपालिकाभन्दा दश किलोमिटर पश्चिम र चौदह किलोमिटर उत्तरमा चुरेको फेदैमा जंगल क्षेत्र फँडानी गरेर बसेको भोलेन्टार बस्तीले मात्रै ८०० हेक्टर जमीन  अतिक्रमण गरेको जिल्ला वन कार्यालय रौतहटको तथ्यांक छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालसहितको टोलीले चुरेको क्षेत्रमा बसेको विशाल अवैध बस्तीको निरीक्षण गरेर फर्केपछि जिल्लाको वन क्षेत्र निरन्तर फँडानीको चपेटमा परेको बताउँछन् । वन क्षेत्रको विनाशले चुरेको भविष्य अन्धकारमय बनेको छ भने तराईमा मरुभूमिकरण बढेको छ । प्रतिबन्धित वन क्षेत्रमा अवैध बस्तीको विस्तार र वन फँडानी बढ्दै जाँदा आगामी केही वर्षमा रौतहट वनविहीन बन्ने निश्चित देखिएको छ ।

रौतहटको जंगलमा अवैध बस्ती बस्ने क्रमलाई रोक्न, बाहिरबाट अवैध बसाइँ सरी आउने क्रमलाई रोक्न तथा प्रतिबन्धित वन क्षेत्रभित्र बसिसकेको बस्तीलाई उठाउन मन्त्री परिषदबाटै विशेष निर्णय हुनुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ छ । वन रक्षकको टोली र रेन्जरहरुले कुनै पनि हालतमा यस किसिमको कठिन कार्य गर्न नसक्ने भएकोले सरकारले अविलम्ब बस्ती खाली गराउन निर्णय गर्नुपर्ने साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष शंकर राय यादव बताउँछन् ।

धमाधम घर टहरा निर्माण

जिल्लाको उतरी भेगको चुरे फेदीमा अवस्थित उक्त बस्तिमा बुधवार प्रमुख जिल्ला अधिकारी नरहरी बराल सहित वन कार्यालयका प्रमुख तथा सुरक्षा निकाय सहितको अनुगमन टोलि भोलेन्टार पुगेको थियो । चुरे क्षेत्र विनाश भएको क्षेत्रमा स्थलगत निरीक्षण गर्दा वन विनाशको लिला हेर्ने अवसर   पाइयो । अनुमगन टोलि कै अगाडी गैरकानूनी रुपमा घर बनाउदै गरेका दुई गाँउलेलाई सशस्त्र वन रक्षकहरुले केही वेर नियन्त्रणमा लिए पनि अधिकृतहरुले कारवाही गर्ने आँट नै गरेन ।

मकावनपुरको छतिवनबाट चुरेक्षेत्रमा नयाँ घर बनाउन आएका विजय लामा र राम लामालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपनि वन अधिकृत दीर्घ प्रसाद कोइरालाले चौबिस घण्टा भित्र घर भत्काएर जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरमा हाजिर हुन आउने सामान्य आदेश दिएर अतिक्रमण कारी लामाद्धयलाई छाडेर हिडेका थिए ।

केही वेर नियन्त्रणमा रहेका विजय लामाले आफन्तहरुको घर यही रहेकोले उनकै सलाह अनुसार छतिवनबाट आएर घर बनाउन लागेको बताउदै यो जग्गा सरकारी हो भने आफूलाई थाहा नभएको बताए । यहाँ जग्गा पनि पाइयो र काठ पनि सितैमा पाउने भएको हुँदा यहाँ घर बनाउन कुनै कठिनाई नभएको जिकिर गरे । तर वन कार्यालयले जति गरेपनि घर बनाएरै छाड्ने उनले बताए ।

सरकारी निकायका उच्च अधिकारीहरु विरलै रुपमा पुग्ने रौतहटको भोलेन्टारमा वन कार्यालय र सम्बन्धीत निकायले कडा कारवाही गर्न नसक्दा यहा चुरे र वानक्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा पर्दै गएको नागरिक समाजका सचिव विजय किशोर झाले बताए ।

चुरे सँरक्षणको नाममा आएको रकमलाई सुगम क्षेत्रमा खर्च गर्नुका साथै चुरे संरक्षणको काम कागजी काम र गोष्ठी मै बढी खर्च भएकोले अझै पनि चुरेका डाँडा नाङ्गिने क्रम रोकिएको छैनन् । जंगलको मलिलो र उब्जनी हुने जग्गा र सितैमा पाइने काठका कारण चुरेमा धमाधम बस्ती निर्माण हुदैछ, अतिक्रमण हुने क्रम यसरी नै विस्तार हुँदै गएमा आउदो २० बर्षमा चुरे क्षेत्रबाट वनजंगल सखाप भई ठूलो प्राकृतिक विपदालाई आमन्त्रण गरिरहेको विज्ञहरु बताउछन् ।

जंगलहरु खेतमा परिणत हुदा र वनका रुखहरु घरमा प्रयोग हुदा समेत वन अधिकृतले कारवाही गर्न सकेका छैनन । उच्च अधिकारी र सुरक्षा निकाय समेतको अनुगमन टोलिले प्रतिबन्धीत क्षेत्रमा अवैध घर बनाउनेलाई कारवाही गर्न नसक्दा भोलिका दिनमा एउटा रेन्जर र दुई जना वन रक्षकले घर भत्काउन र रुख काटन रोक्न नसक्ने अनुगमनमा गएको एक वन कर्मचारीले बताए ।

द्वन्द्व कालमै उक्त क्षेत्र अतिक्रमण गरी मानव बस्ति बसिसकेकोले यसलाई खाली गराउन र बस्ति हटाउन निकै जटिल भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख वन अधिकृत दीर्घ प्रसाद कोइरालाले बताए । “अनुगमन आएका बेला व्यक्तिलाई लछार पछार गरेर बल प्रयोग गर्ने कारवाही गर्दा नकारात्क सन्देश जान्छ ।” कोइरालाले भने “विभिन्न कालखण्डमा फरक क्षेत्रबाट आएका व्यक्तिहरुले बसाएको यो बस्ती चुरे क्षेत्रका लागी महाकाल एवं अभिशाप हो ।” धेरै पटक प्रयास गर्दा पनि बस्ती हटाउन सकेको  छैन् ।  

चुरे क्षेत्रको भालुखोप देखी बाग्मतीको पौराई सम्म बसेका झण्डै दश हजार घर धुरी र ३० हजार जनसँख्यालाई हटाउनको लागि सरकारले क्याबिनेटबाट निर्णय गराएर ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरे मात्र सम्भव रहेको प्रमुख वन अधिकृत कोइरालाको भनाइ छ ।

 

प्रकाशित: ३ मंसिर २०७३ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App